
काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड– १९)को संक्रमण देखिएका चारैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उपचारत दुवै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिए । उक्त अस्पतालको आइसोलेसनमा फ्रान्सबाट गत ४ चैतमा आएकी काठमाडौंकी १९ वर्षीया किशोरी र गत ६ चैतमा दुबईबाट आएका युवाको उपचार भइरहेको छ । दुवैजनाको दोस्रो परीक्षणका लागि स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने तयारी भइरहेको अस्पतालका निर्देशक डा. राजभण्डारीले बताए ।
यसैगरी कैलालीको धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार गराइरहेका दुबईबाट ६ चैतमा आएका ३४ वर्षीय संक्रमित युवाको अवस्था पनि सामान्य रहेको अस्पतालका प्रवक्ता डा. जगदीश जोशीले जानकारी दिए । उनले संक्रमितका नजिकका परिवार तथा उनले भेटेका मानिसहरूको पनि निगरानी गरिरहेको बताए । उनको अहिले अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।
यसैगरी, गत ४ चैतमा बेल्जियमबाट नेपाल आएकी बाग्लुडकी १९ वर्षीया युवतीको पनि स्वास्थ्य अवस्था पहिलेको भन्दा सुधार भएको र सामान्य अवस्थामा आएको धौलागिरि अस्पताल बाग्लुङका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बिके पोखरेलले जानकारी दिए । ती युवतीसँगै पोखरा गएका र उनीसँग नजिक रहेका नौजनाको स्वाब परीक्षणको जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइसकेको पनि उनले जानकारी दिए ।
https://www.nayapatrikadaily.com/news-details/40014/2020-03-31