जुम्ला ः भारत तथा तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बसेका जुम्लाका दुई सय ५३ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिने भएको छ ।
जिल्लाको एक नगरपालिका र सात गाउँपालिकाको विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा बसेका सबैको स्वाब संकलन गरिने भएको हो । पातारासीका २९, गुठीचौरका २२, चन्दननाथका २८, तातोपानीका १३ र तिलाका १७ जनाको स्वाब संकलन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् ।
त्यसैगरी हिमाका ४५ जना, कनकासुन्दरीका ४७ जना र सिञ्जा गाउँपालिकाका ५२ जनाको पनि स्वाब संकलन गरिने भएको छ । संघीय सरकारअन्तर्गतको कोरोना भाइरस (कोभिड–१९) संकट व्यवस्थापन अप्रेसनको हेलिकोप्टरमा घुम्ती मेडिकल टोली आएर २५ चैतमा स्वाब संकलन गर्ने तयारी गरिएको उनले जानकारी दिइन् । स्वाब संकलन गर्न जिल्लामा तीन स्थान तोकिएको छ ।
पातारासी, गुठीचौर, तातोपानी, तिला गाउँपालिका र चन्दननाथ नगरपालिकाका लागि जुम्ला विमानस्थल, हिमा गाउँपालिकाका लागि देवारगाउँ खेलमैदान र कनकासुन्दरी तथा सिञ्जा गाउँपालिकाका लागि लासीपाटन चौरमा स्वाब संकलन स्थान तोकिएको हो ।
प्रमुख जिल्ला अधिकारी बञ्जाडेले भारत तथा तेस्रो मुलुकबाट भित्रिनेको संख्या धेरै भएकाले जुम्लालाई कोरोना भाइरस संक्रमणको रिक्स जोनमा राखिएको बताइन् । यसअघि जुम्लाबाट स्वाब संकलन गरेर पठाइएको तीनजनाको रिपोर्ट नेगेटिभ आएको थियो ।