
कर्णाली पोष्ट, जुम्ला ः
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर उपकरणबाट पहिलो पटक कोरोना परीक्षण भएका आठ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । जुम्ला अस्पतालले सोमबार देखि आरटी पिसिआर कोरोना परीक्षण उपकरण सञ्चालनमा ल्याएको हो ।
पहिलो पटक मुगुको खत्याडमा खटिएका सात जना स्वास्थ्यकर्मी र एक जना तातोपानी गाउँपालिकाका स्थानीयको स्वाब परिक्षण गरिएको हो । सबै जनाको रिपोर्ट नेगेटिभ आएको अस्पताल निर्देशक डा. मंगल रावलले जानकारी दिए । मुगुको खत्याडमा एक जनासँग ¥यापिड टेस्ट गर्दा कोरोना पाजेटिभ देखिएपछि प्रतिष्ठानकोे एक टोली खटाइएको थियो । स्वास्थ्यकर्मीसँगै ४५ दिन अघि भारतबाट आएका तातोपानीका स्थानीयको पनि कोरोना परीक्षण गरिएको थियो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आरटी पिसिआरबाट परीक्षण गरिएको पहिलो आठ जनाको रिपोर्ट नेगेटिभ आएको छ । निर्देशक डा. रावलले भने ‘आशा गरौँ यसरी नै सधैँ हाम्रो प्रदेशमा कोभिड १९ नेगेटभ नै रहोस ।’
कर्णालीको जुम्लामै पिसिआर उपकरणबाट स्वाब परिक्षण शुरु भएपछि यहाँ कोरोना परीक्षण गर्न सहज हुने भएको हो । प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेका अनुसार निकै ठुलो चुनौति र अभावका बीच पिसिआर उपकरण सञ्चालनमा आएको छ । पहिलोे पटक दुइ सय किट पुगेपछि परीक्षणको काम शुरु भएको हो उनले भने । आउदो शनिबारसम्म पुग्ने गरी एक हजार किट प्रतिष्ठानले माग गरेको छ । किट उपलब्ध हुने बित्तिकै जुम्ला भारत, खाडीमुलुक तथा जिल्ला बाहिरबाट भित्रिएका सबैको स्वाब परीक्षण हुने उनले बताए । जुम्ला, मुगु र कालिकोटबाट पनि स्वाब संकलन गरेर परीक्षण गर्ने तयारी प्रतिष्ठानले गरेको छ । यो उपकरणले एक पटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिने क्षमताको छ ।
कर्णाली प्रदेश सरकारले पनि तत्कालिन कर्णालीका पाँच जिल्ला जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालिकोट कर्णाली प्रतिष्ठानले हेर्ने गरी कार्यक्षेत्र निर्धारण गरेको छ । रजिष्टार काफ्लेका अनुसार मङ्गलबारबाट नेपालगंज र भारत देखि जुम्ला भित्रिएकाहरुको स्वाब परीक्षण गरिने भएको छ । जुम्लामै पिसिआर मेसिनबाट स्वाब परिक्षण कार्य सफल भएपछि स्थानीय उत्साहित छन् । अहिले सम्म कर्णालीमा कोरोना संक्रमण भेटिएको छैन् ।
२० जनाको ¥यापिट टेष्ट रिपोर्ट नेगेटिभ
जुम्लामा किट अभाबका कारण स्याम्पलिङको रुपमा नमुना कोरोना परीक्षण गरिएको छ । तिला गाउँपालिका – ८ जुम्लाकोट गाउँस्थित देउराली माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बसेका ३१ जना मध्ये १६ जना जनाको मात्र ¥यापिट डाइगोनोस्टिक टेष्ट गरिएको हो ।
तिला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गणेश शाहीका अनुसार कोरोना भाइरस संक्रमण जिल्लाबाट आएका व्यक्तिहरुको नमुनाको रुपमा कोरोना परीक्षण गरिएको हो । कारेन्टाइनमा बसेका १५ औँ दिनमा १६ जनाको ¥यापिड टेष्ट गर्दा सबै जनाको रिपोर्ट नेगेटिभ आएको उहाँले जानकारी दिए ।
त्यसैगरी सोही गाउँपालिका – ९ राँसामालापानी क्वारेन्टाइनमा बसेका २० जना मध्ये ६ जनाको मात्र कोरोना परीक्षण ¥यापिड टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।
कोरोना परीक्षण किट अभावका कारण क्वारेन्टाइनमा बसेका सवै जनाको ¥यापिड टेष्ट गर्न नसकिएको स्वास्थ्य शाखा प्रमुख शाहीले बताए । कोरोना परीक्षण गरिएका र नगरिएका सवै जनालाई १५ औँ दिनमा होम क्वारेन्टाइनमा बस्न सुझाब दिएर घर पठाएको छ । जनस्वास्थ्य कार्यालय जुम्लाबाट गएको टोलीले २० किट मात्र लिएर गएको रहेछ । क्वारेन्टाइनमा बसेका सबै जनाले कोरोना परीक्षण गर्न माग गर्दा पनि किट अभावले कोरोना परीक्षण (¥यापिड टेष्ट) गर्न नसकिएको हो ।