
डोल्पा ः शंकास्पद व्यक्तिको स्वाब लैजानको लागि सुर्खेतबाट स्वास्थकर्मी बोकेर माउन्टेन एयरको हेलिकप्टर डोल्पा पुगेको छ । शंकास्पद व्यक्तिको स्वाब सुर्खेत ल्याउनका लागि हेलिकप्टर डोल्पा पुगेको हो
त्रिपुरासुन्दरी नगरपालिका – ७ मा पर्ने कस्तुरी आधारभुत बिद्यालयमा क्वारेन्टाइनमा बसेका ६२ बर्षीय पुरुषसँग सम्पर्कमा रहेका सबैको स्वाब संकलन गरेर सुर्खेत लैजानका लागि हेलिकप्टर आइपुगेको प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले जानकारी दिए । केही बेरमै शंकास्पद व्यक्तिहरुको स्वाब लिएर हेलिकप्टर फर्किने प्रजिअ सुनारले बताए ।
दुनै र जुफालमा पनि केही व्यक्तिको स्वाब संकलन गरिएकाले सोही हेलिकप्टरमा ल्याइने कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वाताबरण मन्त्री नन्दसिँह बुढाले जानकारी दिए ।
सबैको स्वाब सुर्खेतमा परीक्षण गरेपछि मात्र कोरोना भए नभएको पुष्टि हुने मन्त्री बुढाको भनाइ छ ।
शुक्रबार १४ दिनसम्म क्वारेन्टाइनमा बसेर घर फर्कने क्रममा स्थानीय स्वास्थकर्मीले दु्रत परिक्षण (आरडिटी) गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
शुक्रबार साँझ नै पुनः शंकास्पद व्यक्तिको आरडिटी परीक्षणका लागि जिल्ला अस्पतालबाट डाक्टरको टोली खटाएर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।
आरडिटी रिपोर्टबाट स्वास्थ्यकर्मीनै अन्योलमा परेपछि सुर्खेतबाट हेलिकप्टरमा स्वास्थकर्मी झिकाएर पिसिआर परीक्षणका लागि पठाइएको त्रिपुरासुन्दरी नगरपालिकाले जनाएको छ ।
शंकास्पद व्यक्ति पछिल्लो समय कोराना संक्रमणको रेड जोनमा परेको नेपालगञ्जमा केहि महिना बसेर डोल्पा आएका हुन् ।