हिमाको नीति कार्यक्रममा सुत्केरी आमालाई निशुल्क एम्बुलेन्स सेवा

मानदत्त रावल, जुम्ला


जुम्लाको हिमा गाउँपालिकाको नीति तथा कार्यक्रममा सुत्केरी आमालाई निशुल्क एम्बुलेन्स सेवा दिने व्यवस्था गरेको छ । गाउँपालिकाले अरु व्यक्तिहरुलाई शुल्क लिने व्यवस्था भएपनि सुत्केरी आमालाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने नीति तथा कार्यक्रम ल्याएको हो ।
त्यसैगरी कोरोना भाइरसको महामारी संकटलाई मध्यनजर गर्दै यहाँको कालिकाखेतु प्रथामिक स्वास्थ्य केन्द्रमा १० बेडको आइसोलेसन बनाउने गाउँपालिकाले नीति तथा कार्यक्रम ल्याएको छ ।
यहाँका सवै बालबालिकालाई खोपको पहुचमा ल्याउनका लागि सवै गाउँबस्तीमा खोप केन्द्र निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले बताए ।
कोरोना भाइरस महामारीका कारण जिल्लामा भित्रिएका वेरोजगार यूवाहरुलाई रोजगारी बनाउने गाउँपालिकाको सातौँ गाउँ सभाको नीति तथा कार्यक्रममा पारिद गरिएको उपाध्यक्ष हिमाली रोकायाले बताइन् । ‘शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधारको विकास, प्राय पर्यटन र भाषा सस्कृतिको संरक्षण सहित वेरोजगारीको निकास’ भन्ने मुल नारा सहितको नीति तथा कार्यक्रम ल्याईएको हो । गाउँपालिकाले ३६ करोड १६ लाख ५ हजार बजेट सहित नीति तथा कार्यक्रम ल्याएको हो । सो बजेटमा समानीकरण तर्फ संघीय ८ करोड ५५ लाख र प्रदेश एक करोड ५ लाख २० हजार रहेको छ ।
सो बजेट, नीतितथा कार्यक्रममा कोभिड महामारीका कारण रोजगारी गुमाएर विदेशबाट फर्किएका यूवाहरुलाई स्वरोजगारको लक्षित गर्दै ‘हाम्रो यूवा हाम्रो सम्पति कार्यक्रम’ कृषि र पशुपालनबाट ‘आफ्नो टोल आफै बनाउ, आफ्नो टोल आत्मनिर्भर बचाउ” कार्यक्रम रहेको छ । यसैगरी दलित समुदायको सीप र रोजागरीका लागि दलितसँग अध्यक्ष कार्यक्रम, स्थानीय तहमा खाद्य बैंकको स्थापना, ५३५ जनालाई जीवन बीमा कार्यक्रम घोषणा गरिएको छ ।
यसैगरी हिमाको पानी, हाम्रो लगानी सहित हिमा गाउँपालिकालाई उज्यालो गाउँपालिका घोषणा गरिने पूर्वाधार तयार गरिनेछ । यसैगरी पर्यटन पूर्वाधारको लागियहाँको वडा नं ५ मा रहेको रुपीछराको पूर्वाधारमा तयारी गरिने भएको छ । शिक्षामा प्राविधिक विद्यालय, सस्कृति विद्यालय स्थापना गरिने भएको छ ।
यसैगरी ज्येष्ठ नागरिकलाई मासिक एक हजार साहरा भत्ता दिईनेछ । यसैगरी छोरी बुहारी कार्यक्रम, एकलमहिला र अपांगता भएकालाई सीपमुलक तालिमको व्यवस्था गरिएको छ ।
यसैगरी अर्गानिक बाली संरक्षण अभियानलाई निरन्तरता दिईने छ । यसैगरी संचारमा निर्माणाधित मोवाईल टावरलाई निर्माण गरिने छ । स्वच्छ सरसफाई कार्यक्रममा मुहान देखि घरसम्मका धारा सरसफाई कार्यक्रम समेत गरिने भएको छ ।
नीति कार्यक्रममा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले गाउँपालिकाले कोरोना भाइरसको रोकथाम सहित वेरोजगार यूवाहरुलाई रोजगार दिनु मुख्य काम रहेको जानकारी दिए । जिल्ला समन्वय समितिका सदस्य कल्पना परियारले काजगमा नीति तथा कार्यक्रम मात्रै नभई कार्यान्वयनमा जोड दिन आवश्यक रहेको बताइन् । नेपाली कांग्रेसका प्रतिनिधि तथा वडाध्यक्ष नन्दबहादुर रोकायाले सत्ताको आडमा बहुमतले ल्याएका नीति कार्यक्रम समान र आवश्यकतामुखी हुनु पर्नेमा जोड दिए ।

प्रकाशित मिति : २०७७ असार १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस