जुम्ला – अहिले संसदको विकास तथा प्रविधि समितिका सभापति तथा सांसद कल्याणी खड्का सहितको टोली कर्णालीमा विकास निर्माणका गतिविधिहरु अनुगमनका लागि जुम्ला पुगेको छ ।
टोलीले जुम्लामा राजनैतिकदल, नागरिक समाज, जनप्रतिनिधि पत्रकारहरु सहित सरोकारवालाहरु विच छलफल तथा अन्तरक्रिया गरेको छ ।
समितिले जुम्ला सदरमुकाममा गरेको अन्तरक्रियामा स्थानीय नागरिक सरोकारवालाहरुले बजेट अभावनै कर्णाली विकासको बाधक भएको गुनासो गरेका छन् । त्यसैले संघिय सरकारले भूगोलका आधारमा बजेट दिनुपर्ने माग गरेका छन् ।
कर्णालीमा स्वास्थ्य,शिक्षा, रोजगार देखि पूर्वाधार विकास अलपत्र अबस्थामा पर्दा समेत प्रदेशले जिल्लालाई, संघले प्रदेशलाई बजेट विनियोजनमा कुन्जुसाई गरेकै कारण कर्णालीको विकासले लक्ष्य अनुसार काँचुली फेर्न नसकेको नागरिक अगुवाहरुको गुनासो छ ।
कर्णालीको लाईफलाईन कर्णाली राजमार्ग,कर्णाली करिडोर,नाग्मगमडी सडकको अबस्था दशर्कौदेखि दर्दनाक छ । भने पर्यटकिय पूर्वाधाहरु बन्न सकेका छैनन् । प्रयाप्त बजेट नहुँदा कर्णाली थुप्रै सम्भवानाहरुबाट कर्णालीबासीले अबसर लिन नसकेकोले कर्णालीलाई भूगोलका आधारमा बजेट छुटाउन सरकारलाई अपिल गरिएको छ ।
कर्णालीमा भईरहेका विकास तथा कर्णाली राजमार्ग, कर्णाली करिडोर सहितका सड्कहरु अनुगमन गरेपछि जुम्ला पुगेका समितिका सभापति कल्याणी खड्काले पहिलो कर्णालीलाई समानताको आधारमा नभई समतामुलक भूगोलका आधारमा बजेट आवश्यक रहेको भन्दै सरकारलाई विशेष ध्यानाकर्षण गराउने बताउनुभयो ।
उहाँले नितिगत रुपमा सार्वजनिक खरिद ऐन संशोधन सहित धेरै कुरा परिवर्तन गरिनुपर्ने उल्लेख गर्नुभयो । कर्णालीको विकासका लागि पूर्वाधारमा लगानी विकल्प छैन् । नयाँ पुर्वाधार निर्माण, अलपत्र पुर्वाधारमा बजेट व्यवस्थापनका लागि पहल गर्ने विकास सभापति खड्काको प्रतिबद्धता छ ।
प्रतिनिधीसभा सांसद गजेन्द्रबहादुर महतले बजेटमा भूगोललाई सम्मान हुनुपर्ने बताउनुभयो । कर्णाली अहिले पनि राज्य संग मगन्तेकै रुपमा रहेको छ । उहाँले भन्नुभयो “नत आबश्यकताका आधारमा बजेट पाईन्छ, नत सरकारलेनै आफै साच्छ ।”
राज्य व्यवस्था विकेन्द्रीकृत भएपनि कर्णालीले सौतेनी व्यवहार खेपिरहेको उनको भनाई छ । उहाँले कर्णाली राजमार्ग सहित रारा सिञ्जा (नाग्म गमगडि) राजमार्ग, सुर्खेत जुम्ला छोटो राजमार्ग, बिजुली यहाँको प्रथामिकता रहेकाले विकास समितिले थप जोड दिनुपर्ने बताउनुभयो ।
साथै, पूर्व राज्यमन्त्री बलबहादुर महतले जुम्ला बिमानस्थलको विस्तार गरि कर्णालीको हव तथा फयूल सेन्टर स्थापना गर्न सर्भे भईसकेकाले कार्यान्वयनको पहलका लागि विकास समितिको ध्यानकर्षण गराए । यता, प्रदेश सांसद पदम रोकायाले कर्णालीमा बजेट अभाव त छदैछ । भएको बजेटलाइ पनि परिचालन गर्ने असल नेतृत्व नभएकोल पनि विकासमा कर्णाली पछि परेको तर्क दिए । संघियतापछि सत्ताकै आडमा भ्रष्ट मौलाएको समेत आरोप लगाए ।
कार्यक्रममा चन्दननाथ नगरपालिकाका नगरप्रमुख कान्तिका सेजुवाल, नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत, नेकपा जुम्ला अध्यक्ष विरबहादुर कुँवर, प्रदेश सदस्य पूर्ण प्रसाद धिताल, नेपाली कांग्रेस जुम्लाका कोषाध्यक्ष कालिबहादुर बुढा, जसपाका विरबहादुर शाही, राप्रपाका अध्यक्ष वेदबहादुर शाही, नेमकिपा अध्यक्ष शिवलाल डाँगी लगाएका सरोकारालाले कर्णालीलाई भूगोलका आधारमा बजेट दिनुपर्ने र कर्णाली राजमार्ग,कर्णाली करिडोर, नाग्मगमगडी सडकको विकास विशेष पहल गर्न सुझाब दिएका छन् । भने,संघ प्रदेशका निर्माणधिन योजनाहरुको अनुगमन तथा निरिक्षणलाई प्रभावकारी बनाएर ढिलासुस्ती गर्नेलाई कारबाहि गर्न समेत माग गरेका छन् ।