युवाले गरे खलंगा बजार सरसफाई, नगरपालिका मुकदर्शक

जुम्ला । जुम्ला सदरमुकाम खलंगा बजार यूवाहरुले सरसफाई गरेका छन् । हप्तौदेखि चन्दननाथ नगरपालिकाले फोहोर नउठाउँदा दुर्गन्धीत बन्दै गएको खलगा बजार यूवाले सफा गरेका छन् । ‘बरु कर लेउ,सुन्दर नगर बनाउ’ भन्दै यूवाद्धारा खलंगा बजार सरसफाई गरिएको यूवा धनराज सुनारले बताए ।

उनका अनुसार यूवा, सुरक्षाकर्मी तथा व्यापारीहरुको सहभागितामा हप्तादेखि थन्कीएको फोहोर यूवाले शनिवार विहान सफा गरेका हुन् । हप्तादिन देखि बजारका कुना कुनामा फोहोर थुप्रिदा सम्म पनि नगरपालिका मुकदर्शक भएको प्रति युवा आक्रोसित भएका छन् ।

फोहोर व्यवस्थालाई पहिलो प्रथामिकता दिएको चन्दनाथ नगरपालिकाले उपयुक्त डम्पीङ साइटको व्यवस्थापन गर्न नसक्दा पटक पटक फोहोर बजारका कुना कुनामा थन्कीने गरेको ।

युवा अगुवा धनराज सुनारले भने,“शिक्षा, स्वास्थ्य र सरसफाईको ग्यारेण्टी गर्न सिंहदरवार गाउँमा पुगेको अनुभुति होला सोचिएको थियो । तर नगरभित्रको फोहोर हप्तौँ सम्म उठ्दैन । नगर सुन्दरका नारा एकातिर काम अर्कै तिर भएपछि बजार फोहोर बन्दै गएको छ ।”

जुम्ला विमानस्थल जाने सडक देखि शुरु गरिएको सरसफाई कालेखोली चौक हुदै बसपार्क जाने सडक र जुम्ला बजारको चन्दननाथ भैरवनाथ मन्दिरको आसपासमा सफा गरिएको हो । आन्तरिक तथा बाह्य पर्यटकको आर्कषण केन्द्र अर्थात सुर्खेत पछिको दोस्रो ठुलो शहर खलंगालाई सफा सुन्दर बनाउन पटक पटक नगरपालिका चुक्दै गएको छ । भने यूवाहरु स्वयम सडकमा सरसफाईका लागि उत्रिन बाध्य भएका छन् ।

युवालाई स्थानीय व्यापारी र व्यवसायीले समेत साथ दिएका थिए । एक हप्ता सम्म न फोहोर उठाउन नगरपालिकाको गाडी आइपुग्यो, नत फोहोर व्यवस्थापनमा नगरपालिकाको चासो नै गयो, युवा व्यवसायी चन्द्रलाल सुनारका अनुसार फोहोर उठाउनका लागि नगरपालिकालाई कर तिर्नु पर्ने तर फोहोर थन्किएर दुर्गन्ध सहन सकिदैन् । व्यापार गरेर निस्केको फोहोर बजारमा थन्किदा बजार फोहोर भइरहने गरेको उद्योग वाण्ज्यि संघका सचिव मेगराज गिरी बताउँछन । बजारको फोहोर व्यवस्था हुन नसक्दा जनताको मन रिजाउनकै लागि मात्र स्मार्ट सिटि बनाउने योजना अघि सारिए नागरिक अगुवा बताउँछन् ।

यसअघि चाडपर्व, दिवशका अवसरमा स्थानीय प्रशासन, सेना, प्रहरी र कर्मचारीले बजार सफा गर्ने गरेका छन । संकलित फोहोर व्यवस्थापन गर्ने डम्पीङ साइड नहुदा नगरपालिका संकटमा छ । तर डम्पीङ साइट व्यवस्थापानका लागि पहल भईरहेको नगरपालिकाले स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस