
आजको खेलमा हेर्न आउने दर्शकहरुले पूर्ण खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने वा ७२ घण्टाभित्रको पिसिआर नेगेटिभ रिपोर्ट देखाउनुपर्नेछ ।
१९९३ मा बंगलादेशको ढाकामा आयोजित दक्षिण एशियाली खेलकुदअन्तर्गत फुटबलतर्फ स्वर्ण जित्ने क्रममा नेपालले फाइनलमा भारतलाई हराएको थियो । त्यसको २० वर्षपछि २०१३ मा नेपालले दशरथ रंगशालामै भारतलाई २–१ ले हराएको थियो । नेपालको सिनियर टोलीले भारतलाई यी दुई अवसरमा मात्रै हराएको हो । जबकी भारतले भने १३ पटक जित हासिल गरिसकेको छ । यी दुई टोलीबीच खेलिएका २० खेलमध्ये बाँकी ५ खेल बराबरीमा टुंगिएका छन् ।
साफ च्याम्पियनसिपको तयारी
नेपाल र भारतबीचको मैत्रिपूर्ण खेललाई दुबै टिमले साफ च्याम्पियनसिपको तयारीका रुपमा लिएका छन् । माल्दिभ्सको राजधानी मालेमा अक्टुबर महिनामा साफ च्याम्पियनसिप आयोजना हुनेछ । जहाँ नेपाल र भारतसँगै बंगलादेश, आयोजक माल्दिभ्स र श्रीलंका सहभागी हुनेछन् । त्यसैगरी, नेपाल र भारत दुबैले २०२३ मा चीनमा आयोजना हुने एशिया कप फुटबल प्रतियोगिताका लागि छनोट चरणमा प्रतिस्पर्धा गरिरहेका छन् । दुबै टिमले एशिया कपमा छनोट हुने लक्ष्य राखेका छन् ।



