सागर परियार जुम्ला ।
कात्तिक महिनाको पहिलो साता भएको बेमौसमी अविरल वर्षापछि आएको बाढीले तातोपानी गाउँपालिका ७ सर्मी स्थित समानतडाको काठेपुल बगायो । पुल बगेपछि करिब पाँच गाउँका नागरिकको आवतजावत प्रभावित भएको थियो । तर पूर्वाधार विकास कार्यालयले भने बाढीले काठेपुल बगाएको २ महिना नपुग्दै समानतडामा ‘स्टील ट्रस ब्रीज’ निर्माण सम्पन्न गरेको छ ।
उक्त ‘स्टील ट्रस ब्रीज’ पुलको बुधबार पुर्व पशुपन्छी विकास राज्यमन्त्री गोमा कुँवरले उद्घाटन गरेकी छन् । काठेपुल बगाएपछि प्रभावित भएका नागरिकले अब ढुक्क रुपमा आवतजावत गर्न सक्ने पुर्वमन्त्री कुँवरले बताउनुभयो । उहाँले बाढीपछि पुल निर्माणमा सक्रियाता देखाउने सबैलाई धन्यबाद दिनुभयो ।
करिब ३२ मिटर लामो दरीको ‘स्टील ट्रस ब्रीज’ पुल ३३ लाख ३६ हजार लागतमा निर्माण भएको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रुपक रावलले बताउनुभयो । गत आवको अन्तिम समयतिर पुल निर्माण शुरु भएको हो । तर बीचमा कोरोनाले सामान ढुवानी गर्न ढिलाई हुन नसक्दा निर्माण बीचमै रोकियो ।
उहाँले भन्नुभयो,“कात्तिकमा आएको बाढीले पुरानो काठेपुल संगै निर्माणधिन पुलका सबै स्काभोल्डीङ (सर्पोट) र केही ग्याबिन पनि बगाएको थियो । स्थानीयको आवतजावतमै समस्या भएपछि सबैको प्रयासबाट मसानतडामा छिटै ट्रस पुल निर्माण भएको हो ।”
पुल निर्माणपछि तातोपानी ७ का सर्मी,भेनचौर,तल्लो खप्डी,माथिल्लो खोप्डी लगायतका गाउँहरु लाभान्वित हुने भएका छन् । तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले आगामी दिनमा आउने बाढीले ‘स्टील ट्रस ब्रीज’ पुललाई पनि कुनै प्रभाव नपर्ने बताउनुभयो । पूर्वाधार कार्यालयको प्राविधिक सहयोग र उपभोक्ताको सक्रियताले चाडै निर्माण भएर सञ्चालनमा ल्याउन सफल भएको उहाँको भनाई छ ।
पुल निर्माणका लागि खर्च भएको जम्मा ३३ लाख ३६ हजार मध्य उपभोक्ताको जनश्रमदान ६६ हजार ७ सय ३०,प्रदेशबाट ३२ लाख ६९ हजार ७ सय लगानी गरेका छन् । साथै पुर्वमन्त्री गोमा कुवँर,तातोपानीका अध्यक्ष नवराज न्यौपाने पूर्वाधार कार्यालयको टोली टोप्ला,इमिल्चा देखि बाजुधर्म शाला सम्म अनुमगन गर्ने जनाइएको छ ।