जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका ७ रोकायाबाडामा जन्मनु भएका पदमबहादुर रोकाया एक सक्रिय राजनीतिकर्मी हुन् । २०१० साल असार १० गते बुवा दत्तत्रहादुर र आमा नानी रोकायाको कोखबाट उनको दुर्गम गाउँमै जन्म भएको हो । बाल्यकालदेखि पढाईभन्दा राजनीति मोहमा बढि रुचि राख्दै आएका रोकाया पञ्चायतको उपप्रधानदेखि गणतन्त्रको मन्त्रीसम्म बनेका छन् ।
राजनीतिमा कहिल्य हार व्यहोर्दै त कहिल्य जित निकाल्दै अघि बढेका रोकाया यो यात्रामा कहिल्यै थाकेनन् । यही आँट र साहसका कारण रोकाया आइतबार कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीमा नियुक्त भएका छन् । उनी नेकपा एकीकृत समाजवादीबाट मन्त्रीमा नियुक्त भएका हुन् ।
औपचारिक रुपमा २०३६ सालदेखि राजनीति यात्रा सुरु गरेका मन्त्री रोकायाले नेमकिपाबाट आफ्नो राजनैतिक यात्रा सुरु गरेका थिए ।
२०३८ सालमा गाउँ पञ्चायतमा युवा संगठनको सभापति समेत बन्न सफल भएका थिए । तर २०४४ को पञ्चायत चुनावमा पञ्चायत विरोध जनपक्ष उम्मेदवार भइ उनी उपप्रधानमा निर्वाचित भए ।
२०४७ मा नेकपा मालेको सदस्य बनेका रोकाया २०४७ मै नेकपा एमाले जिल्ला कमिटि सदस्य बने । एमाले जिल्ला कमिटिमा लगातार सचिवालय सदस्यहुदै २०६५ मा पाटी जिल्ला उपाध्यक्ष समेत बनेका थिए ।
२०६४ सालमा एमालेको तर्फबाट तत्कालिन जिविस बोर्ड सदस्य समेत बनेका थिए । २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा उनी समानुपातिक उम्मेदवार भई बन्दसूचिमा परेका थिए ।
रोकाया दोस्रो संविधानसभा निर्वाचन २०७० मा पनि उम्मेदवार बनेका थिए । त्यसबेला उनी कांग्रेसका ललितजंग शाहीसंग पराजित भएका थिए ।
२०७४ सालको जुम्ला जिल्ला क्षेत्र नं ख बाट प्रत्यक्ष उम्मेदवार भइ नेपाली कांग्रेसका भिमनिधि हमाललाई दोब्बर मतले हराउँदै रोकाया विजयी भएका थिए । हाल कर्णाली प्रदेश सभा सदस्य समेत रहेका रोकाया नेकपा एकिकृत समाजबादीका केन्द्रीय सदस्य हुन् ।
२०७८ माघ २३ गते मन्त्रीको सपथ लिएसँगै रोकायाले जुम्ला जिल्ला र कर्णाली प्रदेशको विकासमा आफु पछि नहट्ने बताए । स्रोत साधनले भ्याएसम्म कर्णालीको विकासमा लागिपर्ने उनको भनाइ छ । मन्त्री रोकायालाई भौगोलिक हिसाबले विकट कर्णालीलाई निकट संग जोड्नका लागि पूर्वाधार विकास लाई गती दिन तमात चुनौती पनि छ ।
यदपी, मन्त्री रोकायाले स्रोत र सामाथ्र्य भ्याए सम्म पूर्वाधार विकासको कामलाई दत्त चित्त भएर अगाडी बढाउने आम नागरिकको विश्वास छ ।
जुम्लाको आठ पालिकाको अन्तरपालिका जोड्ने सडक,नाग्म गमगडी सडक,कर्णाली राजमार्ग लगायतका प्रदेशका सबै सडकको स्तरबृद्धि सहित विकासका लागि मन्त्री रोकायाले विशेष पहल लगानी गर्ने जनताको अपेक्षा छ ।
गणतन्त्र पछि जुम्लाको निर्वाचन क्षेत्र (ख) सिंजा क्षेत्रले पहिलो पटक मन्त्री पाएपछि जुम्ला संगै सिंजा क्षेत्रका नागरिक औदी खुसी भएका छन् ।