उनले आफूहरुले परमादेशको समर्थन गर्न नसक्ने पनि बताए । ‘जनादेशको माखौल उडाइएको छ । जनतामा रहेको सार्वभौमसत्ताको मजाक उडाएको छ । सेटिङमा सब काम भइरहेको छ।’ उनले भने, ‘यी कुरा लोकतन्त्रको पक्षमा होइन । एक जना न्यायाधीशको अभिव्यक्तिमा होइन । एउटा इमेल आउँछ, अमेरिकाबाटै इमेल आउँछ, केपी ओलीको सरकार ढाल्नु नै थियो । न्यायाधीशको के बिगारिदिएको थियो त्यो सरकारले ? होइन त्यहाँनेर वर्गी पूर्वाग्रह, दुराग्रह र विकास विरोधी षड्यन्त्र भएको थियो भन्ने कुरा त्यस इमेलले बताउँछ ।’
अमेरिकी षडयन्त्रकै कारण विधानभन्दा बाहिर गएर आफू नेतृत्वको सरकार ढाल्ने काम भएका उनको जिकिर थियो । ‘संविधान बाहिर गइगइकनै हामीले यत्रो ठूलो उपलब्धि हासिल गरेका छौँ कि एउटा जननिर्वाचित सरकारलाई ढालेका छौँ । नभएको अधिकार प्रयोग भएको छ अदालतबाट । तर नेपालमा एकपल्ट एक जनाले भनेका थिए–गोरु ब्याउँदैन भन्थे नेपालको सर्वोच्च अदालतमा ब्यायो । उनले उहिल्यै ०५२ सालमा भनेका थिए । अहिले गोरु ब्याएन मात्रै होइन ५ वटा बाच्छा पायो ।’ उनले भने ।




