
कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लामा सबैभन्दा ठूलो गौरवको आयोजना धौलीगाड बृहत खानेपानी आयोजना आर्थिक वर्ष ०६६÷०६७ मा निर्माण थालिए पनि लामो समयदेखि अलपत्र अवस्थामा थियो । आयोजना निर्माण थालनी देखि हरेक वर्ष संघीय सरकारबाट बजेट विनियोजन हुने तर अनावश्यक पाईपहरुको खरिद गर्ने र गोदाममा डंगुर बनाएर राख्ने, भनसुनका आधारमा बिभिन्न कन्सलटेन्टहरुलाई बिस्तृत परियोजना अध्ययनका लागि (डि.पि.आर.) बनाउन दिने तर तथ्यताका आधारमा नभएकै कारण राज्यको कोषको दुरुपयोग हुने र प्रभावकारी कार्य सम्पादन हुन नसके कै कारण वजेट फ्रिज जाने गरेकाले कारणले आयोजनाले पूर्णता पाउन सकेको थिएन ।
च्याम्बर, इन्टेक र पर्खाल निर्माणबाहेक अन्य काम हुन सकेनन् । मुहानमा आठ लाख लागतमा इन्टेक, पाँच लाखको लागतमा मुहानमा पानी संकलन च्याम्बर निर्माण गरिए पनि आयोजनाले मूर्त रुप लिन सकेन । सात लाख लागतमा पर्खाल घेराबार निर्माण पनि भए । ०६४ सालमा कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बृहत धौलीगाड खानेपानी परियोजनाको कल्पना गर्नु भएकोमा उक्त आयोजनाको सफलताका लागि संविधान सभाका सदस्य ललित जगं शाही र बल बहादुर महतले समेत सहयोग पु¥याएको थिए ।
आयोजनाले पूर्णता नपाउने भए पनि आर्थिक बर्ष ०७७÷०७८ मा ०७७ माघ २६ गते आयोजना कसरी सफल बनाउन सकिन्छ भन्ने विषयमा जिल्लामा एक बृहत छलफल भयो । छलफल पश्चात मेरो (कार्मा बुढा, उपप्रमुख जिल्ला समन्वय समिति जुम्ला) संयोजकत्वमा धौलीगाड बृहत खानेपानी आयोजना निर्माण तदर्थ समितिको गठन भयो । जो समितिमा चन्दननाथ नगरपालिका मेयर कान्तिका सेजुवाल, तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपाने, गुुठीचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारी, खलंगा खानेपानी उपभोक्ता समितिका का.वा अध्यक्ष महेन्द्र थापा, तत्कालिन धौलीगाड खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष राजबहादुर खत्री र संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जुम्लाका प्रमुख महेश न्यौपाने सदस्य सचिव रहने गरी तदर्थ समिति बनेको थियो । धौलीगाड बृहत खानेपानी आयोजना निर्माण निर्माणका लागि गठन भएको तदर्थ समितिको निरन्त्रर छलफल र बहसपछि आयोजना निर्माणको मृर्त रुप लिदै गएको हो ।
आयोजना निर्माणका लागि कुल लागतको १ प्रतिशत बजेट लागत सहभागिताका लागि बैक खातामा दाखिला गर्नुपर्ने प्रावधान अनुसार चन्दननाथ नगरपालिका जुम्लाले ०७८ फागुन २१ गते ५० लाख, फागुन २३ गते तातोपानी गाउँपालिका जुम्लाले ५० लाख र फागुन २८ गते गुठीचौर गाउँपालिका जुम्लाले ४६ लाख १० हजार गरी १ करोड ४६ लाख १० हजार रुपियाँ जम्मा भयो । परियोजना खोजेको सवै प्रक्रिया मिलाएपछि २०७८ असार २० गते खानेपानी आयोजना सम्झौता भयो । आयोजना निर्माणका लागि पहिलो चरणको टेण्डरपछि ठेक्का सम्झौता पनि भयो । दोस्रो चरणको ठेक्का टेण्डर प्रक्रियामा रहेको छ । आयोजना निर्माणका लागि ०७८ चैत ५ गते खानेपानी मन्त्री उमाकान्त चौधरीसहित मन्त्रालयका सचिव र खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशकको उपस्थितिमा शिलान्यास कार्यक्रम सम्पन्न भएपछि आयोजना निर्माणको निश्चित भयो ।
आयोजना निर्माण लागत १ अर्ब २६ करोड ८ लाख ४ सय ९० रुपैयाँ रहेको छ । आयोजनाबाट चन्दननाथ नगरपालिका १–१० वडा, गुठीचौर गाउँपालिका ३–५ वडा, तातोपानी गाउँपालिका १–६ वडा गरी ९ हजार १०८ घरधुरीका ४४ हजार १६३ जनसंख्या लाभान्वित हुने भएका छन् । जुम्लाको सदरमुकाम खलंगादेखि १५ किलोमिटर दुरीमा रहेको पानीको मुहानबाट प्रति सेकेण्ड ५५ लिटर पानी ल्याउने डिजाइन स्टेमेटमा उल्लेख गरिएको छ । प्रति व्यक्ति प्रति दिन ६५ लिटर पानीको खपत अनुमान गरिएको छ भने ३८ लाख ४५ हजार ६९९ लिटर पानी प्रति दिन घरायसी खपत हुने छ । यस्तै संस्थागत ३ लाख ८४ हजार ५६९ लिटर प्रति दिन पानी खपत हुने अनुमान गरिएको छ । प्रति दिन जम्मा ४७ हजार ३२० लिटर पानी खपत हुने छ । मुख्य पाइपलाईनको अधिकतम् क्षमता प्रति सेकेण्ड ६६ लिटर रहेको छ ।
आरसीसी पानी भण्डारन गर्ने ट्यांकी ३ सय घन मिटर १ वटा, १५० घन मिटरको १ वटा, १२५ घन मिटरको २ वटा, १ सय घन मिटरको २ वटा, ७५ घन मिटरको ३ वटा र ५० घनमिटरको ४ वटा बन्ने डिजाइन स्टेमेटमा उल्लेख गरिएको छ । यस्तै पानी वितरण गर्ने ट्यांकी ९ वटा, क्लोरिनेशन प्रणाली १३ वटा, प्रेसर घटाउने ट्यांकी १७ वटा बन्ने छन् ।
भल्व राख्ने संरचना (पानी वितरण गर्ने ट्यांकी, भण्डारण गर्ने ट्यांकी र पाइप भित्रको फोहोर फाल्ने, बढी भएको पानी फाल्ने) ६२ वटा वन्ने जनाएको छ । हावा फाल्ने र पाइपभित्रको लेदो फोहोर फाल्ने संरचना ३० वटा वन्ने छन् । जालीको घरबार १३ वटा गेटसहित ८ सय मिटर बन्ने छ । खोलाको क्रसिङ ४ वटा, नदीको क्रसिङ ७ वटा, स्टिल पाईपको लागि प्रेसर थाम्ने व्लक १६५ वटा, टेका राख्ने व्लक ६० वटा, गार्ड बस्ने घर शौचालयसहित १ वटा र पानी परिक्षण प्रयोगशाला १ वटा बन्ने डिजाइन स्टेमेटमा उल्लेख गरिएको छ ।
प्रेसर घटाउने संरचना ११ वटा, आगलागी निभाउनेका लागि पानी निकाल्ने ठाउँ १५ वटा, निजि धारा ८ हजार २९२ वटा, सस्थागत धारा ३१६ वटा, बाटोमा धारा जोड्ने संरचना १५० वटा, खोल्सा क्रसिङ २० वटा, सार्वजनिक शौचालय ५ वटा बन्ने छन् । मुख्य पाइपलाइनको लम्बार ६९ दशमलव २८ किलोमिटर रहेको छ भने वितरण शाखा पाईपलाइन लम्बार २ सय दशमलव ४ किलोमिटर रहेको छ । पानी महशुल प्रति घरधुरी न्यूनतम् मासिक ५५ रुपियाँ लाग्ने छ । यो धौलीगाड बृहत खानेपानी आयोजना व्यवस्थित र दीर्घकालिन रुपमा सञ्चालनमा ल्याउनका लागि खानेपानी व्यवस्थापन बोर्ड पनि गठन हुने भएको छ । बोर्ड गठन गर्नका लागि चन्दननाथ नगरपालिका मेयर कान्तिका सेजुवालले खानेपानी मन्त्री उमाकान्त चौधरी समक्ष प्रस्ताव पेस गर्नु भएको छ ।
विशेषतः आयोजनाबाट लाभान्वित हुने क्षेत्र चन्दननाथ नगरपालिका, गुठीचौर गाउँपालिका र तातोपानी गाउँपालिका भित्र रहेका समस्त विद्यमान खानेपानी प्रणालीहरु गाभिने भएका छन् । सबै उपभोक्ता समिति वा सञ्चालन समिति गाभेर केन्द्रिय उपभोक्ता समिति, बन्दै खानेपानी व्यवस्थापन बोर्डको गठन हुने छ । आयोजनालाई मुर्त रुप दिनका लागि अर्थमन्त्री जनार्दन शर्मा, योजना आयोगका सदस्य मीनबहादुर शाही, कर्णाली प्रदेशका पूर्वमन्त्री तथा सांसद दीनवन्धु श्रेष्ठ, जुम्लाका तत्कालिन सिडिओ भुपेन्द्र थापा, पूर्व मन्त्री बल बहादुर महत, नेपाल कम्यूनिस्ट पार्टीका नेता धिरेन्द्र राज गिरी लगायत थुप्रै महत्वपूर्ण व्यक्तित्वहरुको सहयोग र समर्थन रहेको छ यसैले भनिन्छ एकता नै शक्ति हो, गरे के हुदैंन । हामीले व्यक्तिगत श्रेयका लागि हो हल्ला गर्नु भन्दा जनताको वास्तविक बिकासका लागि सबैजना एक हुन जरुरी छ । यो खानेपानी आयोजना निकै महत्वपूर्ण परीयोजना भएकोले आयोजना सफल बनाउनका लागि सवैले आ आफ्नो क्षेत्रबाट सहयोग, समर्थन तथा पहल गर्नुपर्ने देखिएको छ ।
(लेखक ः कार्मा बुढा, उपप्रमुख, जिसस तथा संयोजक धौलीगाड बृहत खानेपानी आयोजना तदर्थ समिति जुम्ला)



