आगामी चैत २८ गतेदेखि जुम्लामा लोकदोहोरी प्रतियोगिता हुदैँ

जुम्ला । राष्ट्रिय लोकदोहारी प्रतिष्ठान जिल्ला शाखा जुम्लाको आयोजनामा जिल्लास्तरीय लोकदोहोरी प्रतियोगिता हुने भएको छ । आगामी चैत २८ देखि ३० गते सम्म जुम्लामा लोकदोहोरी प्रतियोगिताको आयोजना गरिने भएको हो । नेपाल पत्रकार महासंघ शाखा जुम्लाको हलमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर दोहोरीगीत प्रतियोगिताको बारेमा जानकारी गराइएको छ ।

आयतित आधुनिक गीतका कारण रैथाने लोकदोहोरी संकटमा परेको छ । लोकदोहारी प्रतिष्ठान जुम्लाका अध्यक्ष कर्णबहादुर बुढ्थापाले भने,‘लोकदोहारीलाई समाजको प्रतिबिम्बको रुपमा स्थापित गर्न लोकदोहोरी प्रतियोगिता आयोजना हुन लागेको हो ।’ स्थानीय कलाकारले लोकदोहोरी मार्फत समाजमा फैलिएको विभिन्न विकृती विसंगतीको पर्दाफास गर्दै राम्रो कामको प्रवद्र्धनमा जोड दिने अध्यक्ष बुढ्थापाको भनाई छ ।

जिल्लास्तरीय लोकदोहारी प्रतियोगिता सञ्चालनका लागि विभिन्न स्थानीयतहले सहयोग गरेका छन । राष्ट्रिय स्तरका कलाकारले स्थानीय कलाकारलाई हेयका दृष्टिले हेर्दै आएका छन । अब स्थानीयस्तरमा पनि राष्ट्रिय स्तरका कलाकार संग भिड्न सक्ने जनशक्ति उत्पादन गर्न प्रतियोगिता आयोजना गर्न लागिएको राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान जुम्लाले जनाएको छ ।

कला र संस्कृति बचाउदै प्रतिभावान कलाकारको प्रतिभा बाहिर ल्याउनु प्रतिष्ठानको मुख्य लक्ष्य हो । उनले भने,‘जुम्ला कला र संस्कृतिको धनि भनिरहदा कलाकारको क्षेत्रमा पनि अब्बल छ भन्ने प्रमाणित गर्न प्रयास भइरहेको छ । यो प्रयास सबैको सामुहिक हुनेछ ।’

कला र प्रतिभाको रुपमा जुम्ला अब्बल छ भन्ने देखाउनु पर्ने बेला आएको उनले बताए । अहिले सुर्खेत र दैलेख सम्मका कलाकार मात्र राष्ट्रिय कलाकार हुन भन्ने भ्रम छ । जति दुर्गम क्षेत्रमा पुग्यो । उति नै कला र प्रतिभावान व्यक्तिको बसोबास देखिन्छ । सबै प्रतिभा र कलाको उजागार गर्न यो दोहोरीगीत प्रतियोगिता एक सशक्त माध्यम बन्ने अपेक्षा गरिएको छ ।

नेपाल पत्रकार महासंघ शाखा जुम्लाका कार्यबहाक अध्यक्ष मानदत्त रावलले प्रतियोगिता सञ्चालन गर्नको लागि महासंघ र आम पत्रकारहरुले आबश्यक ससहयोग गर्ने बताए । उनले दोहोरीगीत प्रतियोगिता सफलताको शुभकामना दिदै विज्ञ कलाकारहरुको निर्णायक टीम बनाउन सुझाब दिए ।

नयाँ बर्षको अवसरमा हुन लागेको प्रतियोगितामा बिजेता टीमलाई शिल्ड,सम्मानपत्र नगद १५ हजार रुपैयाँ दिईने छ । भने,दोस्रोलाई १० हजार रुपैयाँ र तेस्रो हुनेलाई ५ हजार रुपैयाँ पुरस्कार रकम सहित आर्कषक अन्य पुरस्रकार रहेको रहेको आयोजकले जनाएको छ । साथै दोहोरीगीत म्युजिक अवार्डले समेत कलाकारलाई सम्मान गरिने छ ।

प्रतियोगितामा गीतका लागि १० वटा भाका छनौट गरिएको छ । जसमा (दाते ओखर),)गोर्खा मन कामना),(सुपारी चाम्रो),(हिमाल सेतै छ),(वनको काँफल बनकी चरीलाई),(मायाले मार्यो),(मायाजाल बुन्छु म),(फुलको थुंगामा) मा गरी १० वटा भाका छनोट गरिएको अध्यक्ष बुढ्थापाले जानकारी दिए । यी १० वटा भाका मात्रै सिमित रहेर दोहोरी गाउँन पाईने छ ।

ईच्छुक टिमहरुले यस कर्णाली पोष्ट दैनिकको कार्यालय नम्बर ०८७५२०७०३,यस पत्रिकाका कार्यकारी सम्पादक सागर परियारको मोबाईल नम्बर ९८४८३५७३५९ मा समेत सम्पर्क गर्न सक्नु हुने छ ।

प्रकाशित मिति : २०७८ चैत्र २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस