स्थानीय तहको उपप्रमुखमा दलित समुदायबाट दुई जना मात्रै उम्मेदवार


जुम्ला ः आसन्न वैशाख ३० गते सम्मन्न हुने स्थानीय तहको निर्वाचनको उपप्रमुखमा दलित समुदायबाट दुई जना महिला मात्रै उम्मेदवारमा समेटीएका छन् । नेपाली राजनीतिक परिवेशमा दलहरुले समाबेसीका नारा घन्काएपनि यहाँका ८ वटा स्थानीय तहमध्ये दुई वटा स्थानीय तहको उपप्रमुखमा दलित महिला उम्मेदवार बनाएको हो ।
जुम्लामा १४ वटा राजनीतिक दलले स्थानीय तहको निर्वाचनमा भाग लिएपनि नेकपा माओवादी केन्द्रले मात्रै चन्दननाथ नगरपालिकाको उपप्रमुखमा पूर्णिमा विक र हिमा गाउँपालिका उपप्रमुखमा कल्पना परियारलाई उम्मेदवार बनाएको हो ।
नेपाली काँग्रेस, एमाले, समाजवादी, नेमकिपा, राप्रपा, जसपालगायत अरु कुनै पनि राजनीतिक दलहरुले प्रमुख उपप्रमुख पदको उम्मेदवार नबनाएको दलित सेवा संघ जुम्लाका अध्यक्ष भीम नेपालीले बताए । उनले भने यस पटकको स्थानीय तहको निर्वाचनमा पनि राजनीतिक दलहरुले समावेशी नारा नारामै सिमित बनाएको छ । स्थानीय तहको प्रमुखमा कुनै पनि राजनीतिक दलले उम्मेदवार बनाउन सकेनन् । माओवादी केन्द्रले मात्रै चन्दननाथ र हिमा गाउँपालिकाको उपप्रमुखमा दलित महिला उम्मेदवार बनाएको हो ।
नगर उपप्रमुख पदकी उम्मेदवार पूर्णिमा विकले २०५७ सालमा माओवादी जनयूद्धमा होमिएको बताईन । उनले भनिन् मेरो राजनीतिक त्यतिबेला देखि सुरु भएको हो । माओबादी केन्द्रको कर्णाली प्रदेश कमिट सदस्यसमेत रहेकी विकले । कानुनी रूपमा जस्तो व्यवस्था भए पनि राजनीतिक दलहरू नै समावेशी राजनीतिको मर्मप्रति जिम्मेवार नदेखिएको बताइन् ।
देशभर महिला तथा दलित समुदायलाई मुख्य पदमा उम्मेदवार बनाउन मुख्य दलहरुले आनाकानी गरेका बेला माओवादी पार्टीले आफूलाई विश्वास गरेर उपप्रमुख पदको उम्मेदवार बनाएको हो । उनले महिला तथा दलित समुदायको आवाज उठाउने प्रतिवद्धता जनाइन् ।
हिमा गाउँपालिका उपप्रमुख पदकी उम्मेदवार कल्पना परियार यसअघि जिल्ला समन्य समिति जुम्लाकी सदस्य पनि हुन् । दलित समुदायलाई गैरदलित समुदायले नै अवसरबाट बञ्चित गरी पछीपर्ने गरेको उनले बताईन् । उनले भनिन् यस पटक माओवादी केन्द्र पार्टीले हिमा गाउँपालिका उपप्रमुख पदको उम्मेदवार बनाएर जिम्मेवारी बनाएको छ । निर्वाचित भएपछि दलितले पनि अवसर पाएपछि काम गर्न सक्ने रहनेछन् भनेर सवैले देख्न सक्ने गरी काम गर्नुछ ।

 

प्रकाशित मिति : २०७९ बैशाख २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस