सुर्खेत, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ले चुनावपछि कर्णालीमा माओवादी नेतृत्वको सरकार बनाउने गरी लागिपरेको बताएका छन् । कर्णालीमा माओवादीको जनाधार बलियो भएकाले पार्टीकै नेतृत्वको सरकार बनाउने गरी सिट बाँडफाँटको गृहकार्य भइरहेको उनको भनाइ छ ।
प्रचण्डले ०७४ मा एमालेसँग तालमेल गर्दा कर्णालीमा केही रुपमा मिस गरेको बताए । ‘आगामी निर्वाचनमा त्यो मिस नहुनेगरि सन्तुलित तालमेल हुन्छ,’ उनले भने, ‘यसो भएको खण्डमा आउने दिनमा माओवादीको सरकार बनाउने स्थिति हुन्छ ।’
अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टी र माओवादीको एउटै घोषणापत्र बनाउने गरी छलफल चलिरहेको पनि बताए । ‘सायद केही समयभित्रै पार्टी एकता संयोजन समिति बन्दै छ,’उनले भने,‘ चुनावमा घोषणापत्र एउटै हुने तर्फ हाम्रो प्रयास भइरहेको छ । यद्यपि चुनाव चिन्ह भने आ–आफ्नै हुन्छ ।’




