मुख्यमन्त्री शाहीलाई सिंजालीको प्रश्न : सिंजा र पर्वतीय विश्वविद्यालयसम्बन्धी विधेयक किन अगाडि बढेन ?

जुम्ला, जुम्ला भ्रमणमा रहेका कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई बुद्धिजीवी र सर्वसाधारणले ध्यानाकर्षणपत्र बुझाएका छन् । मुख्यमन्त्री  शाहीलाई सिंजा र पर्वतीय विधेयक अगाडि बढाउन दबाबस्वरुप उनीहरूले ध्यानकर्षण पत्र दिएका हुन् ।

कर्णाली प्रदेश सरकारको सचिवालयमा दर्ता भएको पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक र सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक पारित गर्न उनीहरुको माग छ । ज्ञापनपत्रमा  भनिएको छ, ‘ती विधेयक कर्णालीको अस्तित्वसँग जोडिएका विधेयक  हुन् । ती विधेयक कर्णालीका दुई मुख्यमन्त्री हुँदा पनि पास गर्न किन कञ्जुस्याई गरिरहेका छन् ?’

जुम्ला बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख प्रकाशचन्द्र खत्रीसहितको टिमले होटल कान्जेरुवामा  पुगेर शाहीलाई ध्यानाकर्षण गराएको हो ।  ज्ञापनपत्रमा आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तथा वर्तमान प्रदेश सांसदहरूको कार्यकाल समाप्त हुनु अगावै विधेयकहरु अगाडि बढाइ पास गर्न नेतृत्वदायी भूमिका निर्वाह गरिदिन अनुरोध गरिएको छ ।

मुख्यमन्त्री शाहीले  सिंजा सभ्यता संरक्षण तथा  विकास विधेयक आवश्यक नभएको बताए । उनले  कर्णाली  प्रज्ञा प्रतिष्ठान बनाइने भएकाले सबै त्यसैमा समेटिने बताए । उनले भने, ‘जुम्लाले सिंजा सभ्यता भनेर छुट्टै बनाएको खण्डमा सबै जिल्लाले आफ्नो  सभ्यता  खोज्दा समस्या थप बढ्ने छ ।

कर्णाली सभामा दर्ता भएको पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक सरकारी विधेयक हो । यस्तै, सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक जुम्लाका सांसद नरेश भण्डारीले दर्ता गराएको विधेयक हो । यी दुवै विधेयक संसदमा स्थगित भएपछि अहिले अन्यौल बढेको छ ।

प्रकाशित मिति : २०७९ भाद्र २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस