
जुम्ला । जुम्ला प्राकृतिक,धार्मिक तथा ऐतिहासिक पर्यटनका हिसाबले प्रचुर सम्भावना भएको जिल्ला हो । यहाँ दर्जनौ दह ताल तलैया,पाटन र धार्मिक क्षेत्र छन् । जसको उचित प्रर्बद्धन,प्रचार प्रशार र पूर्वाधार विकास नहुँदा सम्भवनाहरु अबसरमा रुपान्तरण हुन सकेको छैन् ।
संघियतापछि तीनै तहका सरकारको नजरमा पर्न नसकेको,पत्रकारको क्यामरामा कैद नभएको,जनप्रतिनिधिका नीतिमा नसमेटीएको, र अध्यायन अनुसन्धान समेत हुन नसकी गुमनाम रहेको तातोपानी गाँउपालिका ४ स्थित गिडिदह (ताल) हो । जसले प्रचुर पर्यटकिय सम्भावना बोकेको छ । तर अहिलेसम्म उक्त (गिडिदह¬¬)को प्रचारप्रशार मात्र नभई प्रर्बद्धनको ठोस नीतिसम्म बन्न सकेको छैन् ।
कर्णालीमा रहेका दर्जनौ प्राकृतिक तालहरु मध्येको तातोपानी गाउँपालिका ४ जुम्लामा अवस्थित गिडीदह एक महत्वपूर्ण ताल हो । समुद्री सतहदेखि ३४८२ मिटर उचाईमा अबस्थित गिडिदहको अहिले सम्म लम्बाई चौडाई र गराईन नापिएको छैन् । किन की,डेढ दशक पहिला सम्म गिडिदहमा महिला जानु हुन्न,त्यहाँ गएका मान्छे फर्किएर आउँदैनन् भन्ने भ्रम फैलाइएको थियो । जसका कारण अहिले सम्म त्यहाँ एकपनि पर्यटक पुगेनन् । भने प्रचार प्रशार पनि हुन सकेन् । त्यहाँएक सानो र एक ठुलो गरी दुईवटा ताल छन् । जुन जुम्लाकै ठुला ताल हुन् ।

आर्थिक समृद्धी र रोजगारी सृजनाका नारा तीनै तहका सरकारले लगाई रहे । गिडिदह जस्ता सम्भावनाहरु लगानी र पूर्वाधार विकास कुरिरहे । तर हाम्रा नीति कार्यक्रम कागजी घोडा जस्तो र बजेट सधै अनुत्पादन क्षेत्रमा लगानी हुने प्रबृत्ति हाबी भयो । जसका कारण जुम्लाका प्रचुर पर्यटकिय सम्भावनाहरुबाट अबसर लिन सकेनौ ।
हिमाली भेकमा पाइने कोण धारी जंगलले ढाकिएको उक्त तालले दिनमा सात रंग फेर्ने गरेको छ । त्यहा जाँदा भुत लाग्ने भ्रमले समेत अहिले सम्म कसैले पुग्ने आँट गर्न सकेनन् । जसका कारण गिडिदह ओझेल पर्यो ।
पहिलो गिडिदह सम्मेलन
गुमनाम गिडिदह(ताल)को प्रचार प्रशारका लागि तातोपानी गाउँपालिका वडा नंं ४ को आयोजनामा पहिलो गिडिदह सम्मेलन सम्पन्न भएको छ । १४ बुदेँ घोषणा पत्र जारी गर्दै गिडिदह सम्मेलन सकियो । गिडिदहको प्रचार प्रशार गर्न,जाने रुट पत्ता लगाउन,क्षेत्रफल नाप्न पहिलो पटक झण्डै एकसय जना बढी जनप्रतिनिधि,कर्मचारी र पत्रकारको टोली असोज ५ गते गिडिदह पुग्यो । दुईदिनको कठिन यात्रापछि असोज ६ गते गिडिदह छेउमै सम्मेलन भयो ।
गिडिदहलाई पर्यटकिय गन्तव्यका रुपमा विकास गर्न,प्रचार प्रशारमा जोड दिनुपर्ने,छोटो फूलचौँल्या पाटनदेखि गिडिदह सम्मको छोटो पदमार्ग निर्माण,दह वरिपोरी घोरेटो बाटो निर्माण,दहको क्षेत्रलाई संरक्षण क्षेत्रका रुपमा विकास गर्नुपर्ने,बाह्य आन्तरिक लगानी जुटाई पूर्वाधार विकास गरी पर्यटक भित्राउनु पर्ने कुरालाई सम्मेलनले १४ बुदेँ घोषणापत्र जारी गरी औल्याइएको छ ।

१४ बुदेँ घोषणापत्र जारी गर्र्दै तातोपानीका अध्यक्ष नन्दप्रसाद चौलागाईले पाँच भित्र गिडिदहमा पर्यटक भित्राउने वाताबरण सृजना गरिने बताए । उनले भने,“साविक कर्णालीको रारा र सेफोक्सण्डो पछिको ठुलो गिडि दह(ताल) लाई पर्यटकिय गन्तव्यका रुपमा विकास गर्न गरिने छ । भने चाडै तालको लम्बाई चौडाई र गहिराई नाप्न पहल थालिने छ । पहिलो पटक गिडिदहमा पुग्दा आर्थिक समृद्धी,नमुना पालिका निर्माण र रोजगारी सृजनाका हिसाबले गिडिदह कोशेढुंगा बन्ने सम्भावना देखियो । अब लगानी बढाउनु पर्छ ।”
गिडिदह लगायतका दह र पाटनहरुको विकासका लागि डिपिआर तयार गरिने भएको छ । सामाजिक भ्रम र सोचेको भन्दा पनि फरक र पर्यटकिय गन्तव्य बन्ने सम्भावना भएकोले गिडिदहलाई पर्यटकिय हब बनाउन संघ प्रदेश संग लगानी जुटाउन पहल गर्नुका साथै आगामी आगामी पाँच वर्षमा स्थानीय तहको बजेटमा विशेष जोड दिईने समेत अध्यक्ष चौलागाईको भनाई छ ।
पर्यटक आकर्षणका लागि न पूर्वाधार छ नत त्यहा पुग्ने सहज गोरेटोबाटो । जंगलको झार पन्छाउँदै नयाँ रुट पत्ता लगाउँदै पहिलो पटक सरकारी टोली गिडिदह पुगेको हो । गिडितालको संरक्षण गरी पर्यटकीय गन्तव्य बनाउन सकिने प्रयाप्त सम्भावना रहेको तातोपानीका उपाध्यक्ष सिमा रावलले बताईन् । उनले भनिन,“घना जंगलको बिचमा रहेको यो ताल सामाजिक भ्रम र सरकारी नीतिको अभावले ओझेलमा परेकाले संरक्षणको लागी ४ नम्बर वडाबाट गरिएको पहल स्वागत योग्य छ ।”

प्रमुख प्रशासकिय अधिकृत मिलन बुढ्थापाले पालिकाको अर्थतन्त्र उकास्ने र सयौ नागरिकलाई रोजगारी दिने सम्भावना गिडिदहमा देखिएको बताए । उनका अनुसार गिडिखोला देखि फूलचौँल्या सम्म सडक निर्माण,ठाउँठाउँमा धर्मशाला निर्माण र छोटो पदमार्ग निर्माण गर्न जरुरी रहेको छ । भने,तत्काल पूर्वाधार निर्माणका लागि डिपिआर तथा वाताबरणिय प्रभावमुल्यांकनको काम अघि बढाईने भएको छ ।
लेखक तथा साहित्यकार खडानन्द चौलागाईले नेपालका भू–गर्भविद डा.हर्क गुरुङ जुम्लाका सबै क्षेत्रको भ्रमण अवलोकन गरेपनि गिडिदहको अध्यायन अनुसन्धान गर्न नसकेको बताए । । उनले भने,“भौगोलिक विकटता र भ्रमले डा. गुरुङ गिडिदह पुग्न सकेनन् । डा. गुरुङको मैले देखेको नेपाल नामक पुस्तकमा जुम्लाका सबै विषयमा लेखिएको छ । तर गिडिदह गुमनाम छ । पालिकाले पहिलो पटक गिडिदहको पहिचान र प्रचारका लागि गरेको काम सरायिन छ ।”
साथै लेखक चौलागाईले गिडिदहलाई आफ्नो सृजना मार्फत यसरी व्यक्त गर्नु भएको छ ः
गिडि दहलाई क्षितिजबाट नियाल्दा
हिमगिरीशिलाको स्रोतबाट पानीको घुम्टो ओडेकी ।
२२ पाटनको छेउमा यो रुप कसरी छोडेकी ।।
महिमा कती गरुँ जुम्लाकै ठुली छौ हे सुन्दरी ।
तिमी नै भेटायौँ हामीले धर्तिको अप्सरा सरी ।।
पानीमय उपत्यकाझैँ जङगलमा कसरी रहेकी ।
दुई तालमा एउटाको कुनाबाट गिडीनदी भै बहेकी ।।
गिडि दह तिमी सेतो डलरको रुपमा नाम चलेकी ।
आकाशको परी जस्तै तिमी धपक्कै बलेकी ।।
ऐरीजाल गैरीगुमको फेदमा बिराजमान गरी ।
मृगनयनी ती गजराज राज्य गरे सरी ।।
असोज ६ मा मन्त्रमुग्ध भयौँ सपना बिपना सरी ।
देख्यौ अनि मोहित पनि बनायौ स्वर्गकी हौ परी ।।
भीरैभिरको जंगल छैनन् त्यहाँ कुनै चरी ।
थाक्दै नथाक्ने नयनहरु सधैँ हेरुँ हेरुँ गरी ।।
दुई तालको रुप छ जहाँ टल्कने चन्द्रमा सरी ।
पाटनको छेउमा रह्यौ कसरी हे रुपकी परी ।।
रह्यौ कसरी हामीमा स्वर्ग नै खसेझैँ गरी ।
एक नजरमै लोभियौँ यस लोककी हौ परी ।।



