जुम्ला ः नेकपा एकिकृत समाजवादी पार्टीका जुम्ला जिल्ला सह इन्चार्ज तथा केन्द्रीय सदस्य तिर्थ बुढाले उम्मेदवारको टिकट नपाएपछि पार्टी छोडिएको बताएका छन् । उनले मंगलबार पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
उनले भने आसन्न चुनावका लागि तत्कालिन इन्चार्ज देविलाल थापाले उम्मेदवारको टिकटको पहल गरेका थिए । टिकट पाएनन् । त्यही टिकट नपाएको झोकमा थापासहितको केही व्यक्तिले पार्टी छोडेका हुन् ।
बैचारिक विचलन भएर हिजो केपी शर्मा ओपीलाई प्रतिगमनकारी भन्नेहरु एमाले पार्टीमा प्रवेश गरेको केन्द्रीय सदस्य बुढाले बताए । उनले भने एमालेबाट विद्रोह गर्दै समाजवादी पार्टी स्थापना गर्दा बहुमतमा थियौँ । अहिले २÷४ जना पार्टीबाट बाहिरा पनि महुमतमै छौँ । पार्टीमा बहुमत भएकै कारण बैठक पनि गरेका छौँ ।
नेकपा एकीकृत समाजवादी पार्टीले जुम्ला र कर्णाली प्रदेश कमिटीका विभिन्न जिम्मेवारीमा रहेका नेताहरूलाई निष्कासन गरेको सह इन्चार्ज पदमबहादुर रोकायाले बताए । उनले भने पार्टी महासचिव डा बेदुराम भुसालले सोमबार जारी गरेको विज्ञप्ति जारी गरी नेताहरू देवीलाल थापा, आदीप्रसाद न्यौपाने, नन्दराम रोकाया, रतनबहादुर रोकाया र धर्मराज रावललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो ।
प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीलाई विजयी गराउन होकिएको अवस्थामा जुम्ला र कर्णाली प्रदेश कमिटीको विभिन्न जिम्मेदवारीमा रहेका उनीहरूले पार्टीविरोधी शक्तिहरूसँग साँठगाँठ गर्दै पार्टीविरुद्ध षड्यन्त्रमा संलग्न रहेकाले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको उनले बताए ।
तत्कालिन नेकपा एकीकृत समाजवादी र एमालेका जिल्ला अध्यक्ष दुवैले संयुक्त विज्ञप्ति जारी गर्दै सोमबार दुई पार्टी एक भएको घोषणा गरेका थिए । तत्कालिन एकीकृत समाजवादी जुम्लाका अध्यक्ष न्यौपानेले दुई पार्टीका जिल्ला अध्यक्षले संयुक्त विज्ञप्ति निकालेर पार्टी समायोजनको जानकारी दिएका थिए । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको कुनै औचित्य नरहेको बताउँदै उनले बहुमत सदस्यसहित एमालेमा समाहित भएको बताए ।
जुम्लामा गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा माओवादीकी केन्द्रीय सदस्य गोमा कुँवर, प्रदेश (क) मा कांग्रेसका प्रदेश सभापति ललितजंग शाही र प्रदेश (ख) मा समाजवादीका पदम रोकाया उम्मेदवार छन् ।