बालबिवाह न्युनिकरणमा सरोकारवालाई जिम्मेबार बनाउन ध्यानर्कषण

जुम्ला । जुम्लामा बढ्दै गएको बालबिवाह न्युनिकरणका लागि सरोकारवालालाई जवाफदेही बनाउन जिल्ला प्रशासन कार्यालय जुम्ला मार्फत ध्यानकर्षण गराइएको छ । बाल विवाह विरुद्धका एथेष्ट उजुरी नपरेपनि गाउँ घरमा विभिन्न तबरबाट भईरहेका बाल बिवाह रोक्न तथा न्युनिकरण गर्नका लागि सबै निकायलाई जफावदेही बनाउन प्रशासनलाई ध्यानकर्षण पत्र बुझाइएको हो ।

२०७५ अघि भने मुस्किलले २ वटा बाल बिवाह विरुद्धका उजुरी परेका छन् । तर २०७५ यता बाल बिवाह विरुद्धका उजुरी शुन्य रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

स्वास्थ्य संस्थाहरुको तथ्यांकलाई हेर्ने जुम्लामा बालबिवाह विकराल बन्दै गएको देखिन्छ । जिल्ला जनस्वास्थ्य कार्यालयको गत आव २०७७÷७८ को तथ्यांक अनुसार जुम्लाका ८ सय ६० किशोरी २० वर्ष नपुग्दै गर्भवती भएको पाइएको छ ।

८६० जना किशोरी मध्य चन्दननाथमा १९०,तातोपानीमा ६६ जना किशोरी रहेका थिए । पातारासीमा १ सय ३४, कनकासुन्दरीमा ९०, सिँजामा ६८, गुठीचौरमा ९५, तिलामा १ सय ४० र हिमामा ७७ गरी जम्मा ८६० जना जुम्लाका किशोरी उमेर नपुग्दै आमा बनेको तथ्यांक रहेको थियो । उनीबाट जन्मीएका १ सय बढी बच्चाहरु समेत कम उम्मेरका थिए । जसलाई बाल बिवाहको ज्वालन्त उदाहरणका रुपमा लिन सकिन्छ ।

यस्तै, कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले सार्वजनिक गरेको तथ्यांक अनुसार कर्णालीका २१ प्रतिशत किशोरी १५ देखि १९ वर्ष उमेरमै आमा बन्ने गरेको पाइएको छ । यसरी स्वास्थ्य संस्थाका विभिन्न तथ्यांकले बाल बिवाह भईरहेको देखाएपनि कानुनी रुपमा उजुरी शुन्य रहेको छ ।

स्थानीयतहमा बालमैत्री नीति नबन्नु,अभिभावकले लापरबाहि गर्नु,सरकारी तथा गैरसरकारी नियकाका कार्यक्रमहरु एकद्धार प्रणालीबाट संचालन नहुनु र कानुनी परामर्श नहुनु लगायतका कारणले गाउँमा हुने बाल बिवाह विरुद्धका उजुरी प्रहरी समक्ष आउन सकेका छैनन् ।

त्यसैले नागरिक अगुवा बाल बिवाह संग सम्बन्धीत निकाय,सरकारी क्षेत्र लगायत सरोकारावालाई बालबिवाह न्युनिकरणका लागि जवाफदेही बनाउन प्रशासन मार्फत ध्यानकर्षण गराइएको पत्रकार महासंघ जुम्लाका सचिव मानदत्त रावलले बताउनुभयो ।

उहाँका अनुसार बालबिवाहले गर्दा सयौ किशोर किशोरी शिक्षा,स्वास्थ्य,रोजगारका अबसरबाट बन्चित हुनुका साथै शारिरिक तथा मानसिक हिसाबले समेत कमजोर रहेकोले बालविवाह विरुद्धको साँझा अभियान जिल्ला संयोजन संस्था पेस नेपाल जुम्ला र नेपाल पत्रकार महासंघ शाखा जुम्लाको अगुवाईमा  जिल्लामा एक संजालनै खडा गरी बालबिवाह विरुद्ध अभियान चलाइएको छ ।

ध्यानकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले प्रविधिको दुरुपयोग,अभिभावकको लापरबाही र नीतिको अभावले जुम्लामा बालबिवाह बढेको देखिएकोले न्युनिकरकणले सबै सरोकावाला संग समन्वय तथा पहल गर्ने बताउनुभयो ।

यसैबीच  बालबिवाह न्युनिकरणका लागि आम संचारको भुमिका विषयक अन्तरक्रिया समेत गरिएको छ । जिल्लास्थित पत्रकारहरुले बालबिवाह न्युनिकरणका लागि बालमैत्री नीति निर्माण, बाल बिवाह नगरेकालाई सम्मान,गरेकालाई सरकारी सेवाबाट बन्चित गर्ने नीति ल्याउन स्थानीयतहलाई दबाब दिने बताएका छन् ।

प्रकाशित मिति : २०७९ पुष १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस