कर्णाली उत्सवको चौथो संस्करण फागुन ५–७ गतेसम्म सुर्खेतमा हुदैँ
जुम्ला । स्रोत साधनले कर्णाली मुलुककै आत्मनिर्भर प्रदेश हो । यहाँका बहुमूल्य जडिबुटि,कृषि,जलविद्युतको सम्भावना, र पर्यटनको फराकिलो दिर्घकालिन भविष्य कर्णाली बाहेक अन्य प्रदेशको कमै देखिन्छ । कर्णालीको भाषा,सांस्कृति,सिप कला,परम्पराको पनि आफ्नै विशेष महत्व छ । जसको संबद्र्धन हुन सके आर्थिक समृद्धीसंगै कर्णालीलाई समृद्ध बनाउन सकिन्छ । तर,लगानी अभावकै कारण यहाँका सम्भावनाहरू अवसरमा रुपान्तरण हुन सकेका छैनन् ।
युवाहरूमा आफ्नै ठाउँमा भविष्य नदेख्ने प्रवृत्ति अझै विद्यमान छ । विकासको अनुभूति दिने यहाँका गौरवका आयोजना दशकौंदेखि अलपत्र छन् । अनि कसरी हुन्छ समृद्ध कर्णाली ? कर्णाली सरकारले समृद्ध कर्णाली, सुखारी कर्णालीबासीको नारा तय गरेको थियो । त्यहि आधारमा रोजगारी सृजना, उद्योग कलकारखामा लगानी, कृषि पर्यटन, जडिबुटि क्षेत्रलाई लगानी गर्नुपर्ने हो । तर नारा अनुसारको काम प्रदेश सरकार गर्न सकेन । फल स्वरुप विकास र चेतनामा कर्णाली अहिले बामे सर्दै छ ।
सरकारी अनुदानको नुन चामल पाउनलाई कर्णालीले आजपनि महिना कुर्नुपर्ने पार्टीको कार्यकर्ता बन्नु पर्ने कर्णालीको विगतको तितो यर्थात हो । यसको अबशेष अझै बाँकी छ । सुनको सिरानीमा नुनको खोजी गर्ने,आर्थिक समृद्धीका सम्भावना हुँदा पनि गरिब प्रदेशको बिल्ला भिर्नुपर्ने,यूवा पलायन थामी नसक्नु हुने,यहाँका कृषि वस्तु जडिबुटिले कौडीको भाउको मुख्य कारण विचार विमर्श तथा आबश्यकतामुखी नीति र लगानी अभाव हो ।
त्यस्तैले विगत तीन वर्षयता कर्णालीको समृद्धी र कर्णाली चिनाउने मुल उदेश्यले आर्थिक,सामाजिक र राजनीतिक विषयमा विगतको समिक्षा,वर्तमानको चित्रण र भविष्यको खाका कोर्न ‘कर्णाली उत्सव’ नाम बौद्धिक बहस संचालन हुदैँ आएको छ । जसको चौथो संस्कारण यहि फागुन ५ देखि ७ गतेसम्म प्रदेश राजधानी सुर्खेतको बुलबुले उद्यानमा हुन गईरहेको कर्णाली उत्सवका संयोजक कमल लम्सालले बताउनुभयो ।
उहाँले भन्नुभयो,“कर्णाली चिन्ने र चिनाउने,कर्णालीका सम्भावनालाई देखाउने,मुलुकको आर्थिक विकासमा कर्णालीको सामाथ्र्यको पहिचान गर्न विषय विज्ञसहित विचार मन्थन गर्ने बौद्धिक बहस हो । तीन दिन चल्ने उत्सवमा डेढ दर्जनबढी सेसन संचालन हुने छन् । जसमा कला,सांस्कृति,राजनीति देखि नीति निर्माण क्षेत्रका विज्ञबीच विचार विमर्श हुने छ ।”
कर्णालीका सम्भावनामाथि गहन बहस हुने छ । कर्णालीको भाषा, संस्कृति, सभ्यता र पुरातत्वको उत्खननका लागि बहस सिर्जना गर्न उत्सव महत्वपूर्ण हुनेछ । भने राजनीतिदेखि कला सांस्कृति तथा सिपको पुस्तान्तरणका सन्दर्भमा समेत निर्मम छलफल हुने भएको छ ।
उत्सवका संयोजक लम्सालका अनुसार विभिन्न १६ वटा शत्र रहेका छन् । जसमा ‘कर्णाली चिन्तन’,‘कर्नाली खेल्दो छ’,‘यो शहर,त्यो रहर’,‘भोट र भेट’, ‘शिक्षा र समर्पण’,‘दलित र दलिल’,‘भोक र भोजन’,‘रेडियोको रस’,‘संघियताको पाँच वर्षःकति विस्मात,कति वर्ष ?’,‘कर्णाली नदी प्रणाली’ रहेको छ ।
त्यस्तै,‘कर्णालीमा लगानी’,‘रुपान्तरण र पुस्तान्तरण’,‘सग्लो समाजःसंङलो राजनीति’,‘समाबेशी शासन,’‘डिजिटल,डेमोक्रेसी’,‘कर्णालीदेखि काठमान्डौसम्म’ गरी १६ वटा सत्र रहेको कर्णाली उत्सवका संयोजक लम्सालले जानकारी दिए ।
उनका अनुसार सबै शत्रका विषय विज्ञहरु संग गहन छलफल गरिदैँ छ ।
छलफलमा कर्णालीका सम्भावना तथा गौरव गर्नलायक पहिचानका विषयवस्तु समेटिने छ । उत्सवमा देशविदेशमा रहेका कर्णालीप्रेमी चर्चित साहित्यकार, कलाकार, लेखक, पत्रकार, बुद्धिजीवि एवं विशिष्ट व्यक्तित्वलाई वक्ताका रूपमा छन् ।
सयौं वक्ता र हजारौं दर्शक सहभागीहरूबीच हुने उक्त अन्तरकृयाले कर्णालीको मौलिक इतिहासलाई कोट्याउने, कर्णालीको यथार्थ चित्र प्रस्तुत गर्ने तथा अबको बाटो देखाउन सहयोग गर्ने आयोजकको विश्वास छ ।
उत्सवमा विभिन्न क्षेत्रमा योगदान पुराउने व्यक्तिलाई पैकलोको रुपमा प्रस्तुत गरिने छ । उत्सवको पहिलो दिनमा पाँचवटा सेसन हुने छन् । खस सभ्यताको विरासत, खस भाषाको विकास र संरक्षण, सामाजिक परिवेशमा चर्चा हुने छ । भने,उत्सवको तीनै दिन जुम्ला तातोपानी गाउँपालिकाको पञ्चेबाजा प्रस्तुती हुने छ । भने पहिलो दिन साँझ ५ बजे ‘बाजाको बखान’ शिर्षकमा कर्णाली पाेष्टकर्मि सागर परियारले सहजीकरण गर्ने छन् ।
कर्णालीमा उद्यमशीलता, बेरोजगारी, वैदेशिक रोजगारी युवा तथा श्रम आप्रवासनको अवस्थामाथि विमर्श गरिने आयोजकका सदस्य दिनेश गौतमले बताउनुभयो । उत्सव कर्णालीमा लगानी गर्न केन्द्र सरकारको ध्यान केन्द्रित गर्नेदेखि कर्णालीको सम्भावना उजागर गर्न कोशे ढंगा सावित हुने उहाँको विश्वास छ ।
कर्णालीको राजधानी सुर्खेतलाई व्यवस्थित सहरीकरण गर्नेदेखि दुर्गम जिल्लाको समानुपातिक आर्थिक सामाजिक राजनीति विकासमा यूवाको पहुँच बृद्धि गर्न,आफ्नै जन्मभुमिमा भविष्य देख्न, यूवा पलायन रोक्न,आबश्यकतामुखी नीति बनाउन,उत्पादनमुखी क्षेत्रमा लगानी बढाउन तीनै तहका सरकारलाई उत्सवले प्रेरित गर्ने छ ।