जुम्ला ः वन जंगललाई हरियो वन नेपाल धन भन्ने गरिन्छ । तर पछिल्लो समयमा वन जंगल नासिदै गएपछि जलवायू परिवर्तनको असर देखा पर्न थालेका छन् । असिना पानी आउने, अनाबृष्टि, अविरल बर्षा हुने गरेका छन् भने अर्काे तर्फ वन नासिएकै कारण पानीका मुल पनि सुक्दै गएका छन् ।
जसोको असर जिव तथा निर्जिव बस्तुमा प्रत्यक्ष प्रभाव पर्दै आएको छ । चोरी निकासी, अनियन्त्रित रुपमा जडिबुटि उत्पखनन् र डढेलो लगाउने जस्ता कारणले वन जंगल नासिदै गएको हो ।
विशेष गरी नेपालमा राष्ट्यि, सामुदायिक र निजि वन जंगल रहेका छन् । निजी वन भने न्यून रुपमा रहेको छ । राष्ट्यि र सामुदायिक वन भने ठुलो क्षेत्रमा रहेको छ । पछिल्लो समय सामुहिक रुपमा संरक्षण गर्नका लागि सामुदायिक वन विकसित हुदै गएको छ । सामुहिक रुपमा वन जंगल संरक्षण गर्नका लागि सामुदायिक वन उपभोक्ता महासंघ जुम्लाले तीन महिने सुशासन र समृद्धिको अभियान सुरु गरेको छ । महासंघले जुम्लाको पातारासी गाउँपालिका माथाचौर देखि सुरु गरेको सुशासन र समृद्धिको अभियान आउने भदौँमा समापन गर्ने अध्यक्ष गोकर्ण चौलागाईले बताए ।
उनले भने वन हाम्रो सम्पत्ति हो । वनबाट हाम्रो जिल्ला देशलाई समृद्धि बनाउन सकिन्छ । वन जंगलबाट थुप्रै आम्दानीका स्रोत रहेका छन् । वनबाट प्राप्त हुने आम्दानीका स्रोत सहि सदुपयोग गरी समृद्धिका ढोका खोल्न सकिन्छ । अहिले जुम्लामा २०१ सामुदायिक वन रहेका छन् । सामुदायिक वन समिति गठन गरिएका छन् ।
यिनै सामुदायिक वन समुहले वन जंगल संरक्षण गर्नुका साथै वनबाट प्राप्त हुने काठ दाउरा, जडिबुटिबाट आम्दानी लिने गरेका छन् । जिल्ला भरका सामुदायिक वन समुहमा अहिले करिव दुई करोड रकम रहेको छ । हरेक वर्ष हुने आम्दानीले केही प्रतिशत सामाजिक काममा लगानी गर्ने व्यवस्था रहेको हुन्छ । सोही अनुसार शिक्षा, स्वास्थ्य, विकास निर्माणमा पनि लगानी गर्न सकिने अवस्था रहेको अध्यक्ष चौलागाईले बताए । उनले भने अहिले पनि कतिपय सामुदायिक वन समुहले सामाजिक काममा लगानी पनि गरेका छन् ।
सामुदायिक वन सुशाासन र समृद्धि अभियान उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य अनुसार वन जंगल जिवित र निर्जित बस्तुको प्राण हो । उनले भने वन जंगल संरक्षण गर्नुको विकल्प छैन । हरेक वर्ष नांगा पाखामा विरुवा रोप्नु पर्दछ । हरियो वन नेपाल धन त्यसै भनिएको होइन । वन हाम्रो धन नै हो । वनबाट मानिसले धेरै किसिमका फाइदा लिने गरेका छन् । वन जोगाउनु पर्दछ ।
कृषि विकास कार्यालय जुम्लाका अधिकृत लक्षिराम महतले भने बाँजो जमिन उपयोग गर्ने भु उपयोग नीति नेपाल सरकारले ल्याएको छ । नापी भएको जग्गा होस या सार्वजनिक जग्गा होस् उपयोग गर्नुपर्दछ भन्ने सरकारको नीति भएकाले भुमिबाट उत्पादन लिनु पर्दछ ।