जुम्ला । उकालो बाटो, खुट्किला चढ्दै उक्लिनु पर्ने संरचना । भौगोलिक विकटता उस्तै । यही अवस्थामा घस्रँदै विद्यालय पुग्छन् कनकासुन्दरी गाउँपालिका– ७ का विवेक कार्की । उनको एकतर्फको शरीर पूरै चल्दैन । त्यही शरीर घिसार्दै उनी विद्यालय पुग्दछन् । उमेरले उनी १० वर्ष पुगे । आफ्नो उमेर समूहका सवै ‘ड्रेस’ लगाएर विद्यालय जान थालेपछि उनलाई पनि जान मन लाग्छ । सबैसँग रमाउन मन लाग्छ अनि घिस्रिँदै पुग्छन् विद्यालय ।
घरमा कोही भए उनलाई विद्यालयसम्म बोकेरै लैजाने–ल्याउने गर्छन् । घरमा कोही नभए विवेक आफैँ सकिनसकी घिस्रिएरै भए पनि विद्यालय जान्छन् । तर, अपांगतामैत्री भौतिक संरचना नहुँदा उनले निकै सास्ती खेप्नुपरेको छ। घरदेखि विद्यालयसम्मको बाटो ह्विलचियर गुडाउन मिल्ने नभएकाले त्यो पनि घरमै थन्किएर बसेको छ।
उपचारका लागि देशका विभिन्न अस्पताल हुँदै भारतको लखनऊसम्म भौंतारिए पनि उपचार नभएको बताउँछन् विवेकका बुबा प्रेम कार्की । ‘छोराको उपचारको क्रममा भारतको लखनऊसम्म पुगियो । भएको सवै धनसम्पत्ति पनि सकियो,’ उनले भने, ‘यही अपांग छोरासहित घरमा चार बालबच्चा र श्रीमती गरी ६ जनाको परिवार छ। पर्याप्त खेतीयोग्य जग्गाजमिन पनि छैन । ज्याला मजदुरी गरेरै घरपरिवार चलाउनुपर्ने बाध्यता छ ।’
भौगोलिक विकटताले अपांगतामैत्री भौतिक संरचना नहुँदा विवेकलगायतलाई निकै समस्या हुने गरेको सो वडाका वडाध्यक्ष तेजबहादुर जिसीले बताए। ‘भूगोल नै यस्तै छ । स्थानीय तहको बजेटले पनि सबै अपांगतामैत्री भौतिक संरचना बनाउन सक्ने अवस्था छैन, उनले भने, ‘विवेकको जीवन निर्वाहका लागि सामाजिक सुरक्षा भत्तासहित थप सेवासुविधा पनि प्रदान गर्दै आएका छौँ । उनलाई पढ्न मिल्नेसहितको आवासीय अपांगमैत्री भएको विद्यालय तथा पुनर्स्थापना गृहमा भर्ना गर्ने पहल भइरहेको छ ।’
यस्तै, दैनिकी बिताउँदै आएका छन् चन्दननाथ नगरपालिका – ७ खलाचौरका २६ वर्षीय हरिचन्द्र रावल । बिहानीको झुल्के घामसँगै घरको आँगनमा आमाको साहारामा ह्विलचेयरमा निस्किन्छन् उनी । खलाचौरस्थित कर्णाली राजमार्गको छेउमा हरिचन्द्रको घर छ । वरपर जान नसक्ने भएपछि तीन–चार वर्षदेखि उनले घरको आँगनमै दिन बिताइरहेका छन् । कर्णाली राजमार्गमा गुड्ने सवारीसाधन र आवतजावत गर्ने मान्छे हेर्दै उनको दिन बित्छ ।
हरिचन्द्रको जन्मजात अपांगता भएको होइन । ०७४ फागुन २८ गते आफैँले चलाएको ट्याक्टर दुर्घटना हुँदा मेरुदण्ड भाँचिएपछि उनी यो अवस्थामा छन् । ‘गरिबीका कारण सानोमा पढ्न लेख्न पाइनँ’, उनले भने, ‘पछि ठूलो भएपछि जीविकोपार्जनका लागि ट्याक्टरको खलासी भएर काम गरेँ । केही समय काम गरेपछि आफैँले ट्याक्टर चलाउने भएको थिएँ।’
दुर्घटनापछि उनको जीवन केही समय अस्पतालमै बित्यो । उपचारमा करिब ५० लाख रुपैयाँ खर्च भयो । तर, ठीक नभएपछि अहिले उनी ह्विल चेयरको सहारामा जीवन बिताइरहेका छन् । सुरुमा जुम्ला अस्पताल, त्यसपछि नेपालगन्ज हुँदै भारतको लखनऊमा उपचार गराउँदा पनि निको भएन । उपचारमा घरखेत बिक्री भयो तर, सञ्चो भएन । हरिचन्द्रको जीवनमा अर्को पीडा थपियो । दुर्घटनापछि उनकी पत्नीले घर छोडिन् । चार वर्षकी एक छोरी साथमा छिन् ।
उनको लालनपालन ४७ वर्षीया आमा कर्मकली रावलले गरिरहेकी छन् । ‘अहिले त आमा हुनुहुन्छ । आमाले दुःख गरी पालनपोषण गर्नुभएको छ, तर भोलि के गरौँला ? एउटा छोरी छ, उसको भविश्य के हुने हो ? आफ्नो अवस्था यस्तो छ।’ उनलाई यही चिन्ताले पिरोल्ने गर्छ ।
हरिचन्द्रकी आमा कर्मकलीले सरकारले अपांगता भएका व्यक्तिहरुलाई उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ताबाट घर व्यवहार चलाइरहेकी छिन्। सरकारले अपांगता भएका व्यक्तिलाई मासिक तीन हजार रुपैयाँ दिँदै आएको छ ।
हिमा गाउँपालिका– ६ का सूर्य अधिकारी पनि अपांगता भएका व्यक्ति हुन् । उनी सोही गाउँपालिकाको पञ्जीकरण शाखामा कार्यरत छन् । केही वर्षअघिसम्म ४१ किलोमिलटर लामो बाटो ह्विल चेयरमै कार्यालय पुग्ने गरेका थिए । अहिले ४ पांग्रो स्कुटीमा यात्रा गर्छन्। निकै दुख कष्ट गरेर पढेका अधिकारी अहिले करारमा पञ्जीकरण शाखामा काम गर्दै आएका छन् । ‘मैले धेरै दुख कष्टका बाबजुद यहाँसम्म आइपुगें,’ उनले भने, ‘मजस्ता धेरै साथीहरूलाई जीवन निर्वाहमै सकस छ । राज्य हामीप्रति अनुदार बन्ने गरेको छ ।’
कार्यालयदेखि ४१ किलोमिटर टाढा रहेको जुम्लाको सदरमुकाम खलंगा बजारमा उनको परिवारको बसोबास छ । ‘अहिले पनि स्कुटि गुडाउन सहज त छैन । निकै जोखिम छ । बाढीपहिरो र खोला बढेपछि समस्या हुने गर्छ,’ सूर्यले भने । जन्मजात पोलियोको समस्या भएका उनको दुवै खुट्टा चल्दैन । सडक राम्रो भइदिए चारपांग्रे स्कुटीमा यात्रा सहज हुने उनको भनाइ छ ।
अपांगता भएका व्यक्तिको सहजताका लागि राज्यले अपांगतामैत्री भौतिक संरचना निर्माणका लागि ऐन, कानुन, कार्यविधि र निर्देशिका बनाएको छ । तर, आजसम्म ती कागजमा मात्रै सीमित छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार जुम्लामा २ हजार ५२८ जना अपांगता भएका व्यक्ति छन् । जसमा पुरुष १ हजार ४९३ जना र महिला १ हजार ३५ जना छन् । शारीरिक अपांगता भएका व्यक्ति जम्मा १ हजार १८३ जनमध्ये पुरुष ७२८ जना र महिला ४५५ जना छन् । न्यून दृष्टियुक्त २८५ जनामध्ये पुरुष १५९ जना र महिला १२६ जना छन् । दृष्टिविहीन १६९ जनामध्ये पुरुष ९० जना र महिला ७९ जना छन् ।
जनगणनाअनुसार बहिरोपना भएका ३५६ जनामध्ये पुरुष २०९ जना र महिला १४७ जना छन् । मनोसामाजिक अपांगता भएका व्यक्ति ६९ जनामध्ये पुरुष ३८ जना र महिला ३१ जना छन् । बहिरोपना एवं दृष्टिविहिन ३६ मध्ये पुरुष २५ र महिला ११ जना छन् । मानसिक वा मनोसामाजिक १७९ मध्ये पुरुष १०४ र महिला ७५ जना छन् । बौद्धिक अपांगता भएका ३५ जना मध्ये पुरुष १७ र महिला १८ छन् । अनुवंशीय रक्तस्राव भएका ११ जनामध्ये पुरुष ४ र महिला ७ जना रहेका छन् । अटिजम् २२ जना मध्ये पुरुष ७ जना र महिला १५ जना तथा बहुअपांगता भएका १८३ मध्ये पुरुष ११२ जना र महिला ७१ जना रहेका छन् ।
अपांगता भएका व्यक्तिका अधिकारका विषयमा वकालत गर्दै आएका नन्दराज धिताल भन्छन्, ‘राज्यको प्रथामिकतामा अपांगता भएका व्यक्तिहरु पारेका छैनन् । लामो समयदेखि अपांगता भएका व्यक्तिहरुका जिविकोपार्जनदेखि अपांगतामैत्री भौतिक संरचना निर्माणका विषयमा आवाज उठाउँदै आएका छौँ, तर सुनुवाई भएका छैनन् । राज्यले दोस्रो दर्जाका नागरिकका रुपमा हेर्ने गरेको छ ।
कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदर आचार्यका अनुसार भौगोलिक विकटताका कारण अपांगमैत्री भौतिक संरचना निर्माण गर्न सकिएको छैन । उनले भने, ‘हाम्रो पालिका पूर्ण रुपमा अपांगता भएका व्यक्ति विवेक कार्कीको जिविकोपार्जन र उनको शिक्षाका लागि सहयोग गर्ने गरेको छौँ । सामाजिक सुरक्षा भत्तासहित थप पालिकाबाट उनको शिक्षाका लागि १४ हजार सहयोग गरेका छौँ । उनलाई रिह्याब सेन्टरमा भर्ना गर्ने योजना बनाएका छौँ ।’
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले अपांगता भएकाहरूको उचित व्यवस्थापनका लागि पहल गर्ने बताए। ‘कनकासुन्दरी गाउँपालिकामा अनुगमन गर्न गएको क्रममा घिस्रिदै विद्यालय गइरहेको एक बालक भेटायौँ,’ उनले भने, ‘हामीले गाडीमा राखेर लैजान खोज्यौँ, तर उनले मानेनन् । यस्ता व्यक्तिहरू जिल्लामा धेरै छन् । उनीहरूको उचित व्यवस्थापनका लागि पहल गर्ने छौँ ।’