सडक सुरक्षामा गैरजिम्मेवार नागरिक, मुखदर्शक स्थानीयतह

जुम्ला । कर्णाली राजमार्गको अतिक्रमण दिनानुदिन तिब्र गतिमा बढ्दै छ । स्थानीय नागरिकले सार्वजानिक सडकलाई नीजि सम्पत्ति जस्तो प्रयोग गरिरहेका छन् । घर लगाउने ढुंगा,गिट्टि बालुवा,सरिया मात्र सडकमा राख्दैनन । घर लगाउँदा सडकमा थुपारिएको माटो समेत नपन्छाएर छोडछन् ।

संघियता कार्यान्वयनपछि पनि कर्णाली राजमार्गको अतिक्रमण बढेको देखिन्छ । स्थानीयतहले भौतिक विकास अन्तरर्गत सडक निर्माणलाई विशेष प्रथामिकता दिदै आएका छन् । राजमार्ग हुँदै गाउँ जोड्ने सहायक सडक निर्माणले पनि राजमार्ग अतिक्रमण बढेको छ ।

कर्णाली राजमार्गको २३२ किलोमिटर दुरी मध्य कालिकोटको दैखोलादेखि जुम्ला तर्फ १०४ किलोमिटर सडक डिभिजन जुम्लाको कार्यक्षेत्रमा पर्छ । यो दुरीमा कालिकोटका नरहरीनाथ गाउँपालिका,खाँडाचक्र नगरपालिका,तिलागुफा नगरपालिका पर्छन् । भने जुम्लामा तिला गाउँपालिका,तातोपानी गाउँपालिका र चन्दननाथ नगरपालिका पर्छन् ।

सडकमै निर्माण सामाग्री राखेर,घर टहरा बनाएर सडक सुरक्षामा नागरिक मात्र गैरजिम्मेवार देखिएका छैनन् । सहायक सडक निर्माण गर्दा राजमार्गमा परेका असर रोक्न,नागरिकलाई सडक सुरक्षाको चेतना दिन स्थानीयतह समेत अनुदार बनेका छन् ।

चौबिसै घण्टा त्यहि सडकमा हिड्ने तर कर्णाली राजमार्ग संघिय सरकार मातहत हो भन्दै मुखदर्शक बन्ने स्थानीय तह र सडक अतिक्रमण गर्नु गलत हो,दुर्घटना निम्त्याउनु हो भन्ने बुझेका नागरिकले बुझ पचाउनु कर्णाली राजमार्ग अतिक्रमण बढ्नुको मुख्य कारण हो ।

सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र विष्ट भन्छन,“अतिक्रमण हटाउन जुम्लामा गत वर्षदेखि अभियान नचलेको हैन् । म आईसकेपछि पनि अतिक्रमण हटाउन सूचना समेत टाँस गरिएको छ । तर नागरिकको गैरजिम्मेवारीपन र स्थानीयतह मुखदर्शक बन्ने प्रबृत्तिले सडक सुरक्षा चुनौतीपुर्ण बन्दै छ ।”

१०४ किमी भित्र पर्ने कालिकोटका मान्म,ताडि,पिलि,मोल्फा,सेराबाडा,खल्लाघाट,भिग्म,गाल्जे लगायतका ठाउँमा अतिक्रमण बढिरहेको छ । भने जुम्ला–नाग्म क्षेत्र अन्तरर्गत रारालिही, डुण्डेली, त्रिवेणी, कुडारी, राँका, लिताकोट, तातोपानी,बाबिरा,रावतबाडा, धौलापानी, ऐरेनी, लाम्रा, श्रीनगर,श्रीढुस्का, मिचा तथा जुम्ला ट्राफिक देखि राजमार्गको जिरो प्वाईन्ट जुगाड खोला सम्म सडक अतिक्रमण अत्यधिक रुपमा बढेको छ ।

गत वर्ष जुम्ला बसपार्क क्षेत्रमा बल प्रयोग गरेर अतिक्रमण हटाईएको थियो । भने तातोपानी क्षेत्रका करिब २४ टहरा नागरिकले आफै भत्काएका थिए । तर बसपार्क र तातोपानी क्षेत्र सहित सबै ठाउँमा फेरि सडक अतिक्रमण भईरहेको छ ।

सडक डिभिजनले अतिक्रमण हटाउन ३५ दिने सूचना प्रकाशन गर्ने,ट्राफिक व्यवस्थापन गर्न सबै निकायलाइ अनुरोध गरेपनि सबै तैचुपमैचुप छन् । स्थानीयतहले कम्तिमा पनि सहायक सडक निर्माण गर्दा मुख्यराजमार्गमा परेको असरलाई मध्यनजर गर्दै अतिक्रमण रोक्न पहल गरिदिनु पर्ने सडक डिभिजन जुम्लाको आशा छ ।

गाउँका सडक बनाउने,राजमार्ग भत्काउने,अतिक्रमण गर्ने अटेरी गर्ने प्रबृत्तिले चाहेको विकास हुन सक्दैन् । सडक डिभिजन जुम्लाका प्रमुख विष्टले भने,“दुई दशक पहिलासम्म एक बोरा चालम र नुन तेल ल्याउन महिना दिन हिँडेर नेपालगन्ज, सुर्खेत र दैलेख जानुपर्ने बाध्यता थियो । कर्णालीमा सडक पुग्ला गाडी गुड्ला भन्ने कल्पना पनि थिएन । विश्व बैंकको सहयोग र नेपाली सेनाको अथक प्रयासले सुर्खेत–जुम्ला २३२ किमि दूरीको कर्णाली राजमार्ग २०६२ सालमा सञ्चालन भयो । कर्णाली राजमार्ग सञ्चालनले चामल, नुनतेल ल्याउन महिना दिन हिँड्नुपर्ने बाध्यताको अन्त्य मात्र भएन । गाउँगाउँमा भौतिक विकासले फड्को मार्याे, युवाले रोजगारी पाए, स्थानीय उत्पादनले बजार पायो, दुरदराजमा चेतनाको विस्तार भयो भने आम कर्णालीबासीको जीवनशैली र दिनचर्यासमेत फेरियो ।“

तर कर्णाली राजमार्गले भित्राएको विकासलाई भुलेर नागरिकहरु राजमार्गनै साँघुरो हुने,दुर्घटनाको जोखिम बढ्ने गरि अनियन्त्रित रुपमा सडक अतिक्रमण गर्न तर्फ उद्दत देखिन्छन् ।

सडक बनाउने,स्तरबृद्दि गर्ने,विस्तार गर्ने काम र जिम्मेवारी सडक डिभिजनको नै हो । तर सधै उपभोग गर्ने सडकको सुरक्षा गर्ने जिम्मेवारी दायित्व नागरिकको हैन र ? मुख्य राजमार्गबाटै गाउँगाउँमा सडक पुराउने स्थानीयतहको जिम्मेवारी छैन् र ? पिच सडकमै चेनवाला डोजर गुडाउने,सहायक सडक निर्माण गर्दा राजमार्गै अबरुद्द हुने गरि काम गर्ने स्थानीयतहको सडक सुरक्षामा देखिएको उदासिनता गैरजिम्मेवारी पुर्ण रहेको नागरिक अगुवा राज बहादुर महत बताउँछन् ।

विगतमा स्तरवृद्धि नहुँदा र अहिले सडक अतिक्रमणले कर्णाली राजमार्गमा वर्षेनी सवारी दुर्घटना बढेको देखिन्छ । एक लेनको साँघुरो सडक, साना मोड, पुराना थोत्रा सवारी त्यसैमाथि सडक अतिक्रमणका कारण कर्णाली राजमार्गमा सवारी दुर्घटना बढ्दै गएको छ ।

सडक डिभिजनले अतिक्रमण हटाउने अभियान थालेपनि स्थानीयतह,नागरिकले साथ नदिँदा,प्रहरी प्रशासले चासो नदिँदा अतिक्रमण हटाउन मुस्किल भएको छ । पहिलो चरणमा जुम्लाको बसपार्क क्षेत्रमा ०७८ मंसिर ६ देखि एकहप्ते अतिक्रमण हटाउन सूचना प्रकाशन र दोस्रो चरणमा ०७८ पुस २० गते सूचनाको अटेरी गरेपछि बल प्रयोग गरेर अतिक्रमण हटाउने अभियान थालिएको थियो । नापी कार्यालयबाट नापजाँच तथा सीमांकन गरे पश्चात अतिक्रमण गरी निर्माण भएका घर, टहरा, पर्खाल भत्काइयो भने सडकमा राखेका निर्माण सामग्री हटाइएको थियो ।

जसअन्तर्गत ०७८ पुस २१ गते सडक अतिक्रमण गरी निर्माण भएका पर्खाल तीनवटा घरका पेटी ११, घरजान बनाएको स्ल्याब, अस्थायी टहरा पाँचवटा संरचनामा डोजर चलाइएको थियो भने आठवटा घरका संरचना र सातवटा सेफ्टी ट्यांकी १५ दिनभित्र हटाउन पत्राचार गरिएको थियो । तर अहिलेसम्म हटाइएको छैन भने अझै अतिक्रमण बढ्दै गएको छ ।

साथै तेस्रो चरणमा राजमार्ग अतिक्रमण गरी निर्माण भएका तातोपानी–२ जर्मी गाउँका २४ वटा स्वयम् स्थानीयले नै हटाएका थिए । अतिक्रमण हटाइएका क्षेत्रमा सडक डिभिजनले नाला तथा फुटपाथ निर्माण गर्न, तातोपानीमा ग्याविन पर्खाल निर्माणका लागि ठेक्का गरेर काम समेत भईसकेका छन् ।

राजमार्गको केन्द्र रेखादेखि दाँया साढे ७ र बाँया साढे ७ मिटर क्षेत्रको लगतसमेत कट्टा भएर मुआब्जा पाइसकेका छन् । तर पनि नागरिकले आफ्नो पेवा ठानेर मनपरी अतिक्रमण गरिरहेका छन ।

सार्वजानिक सडक ऐन २०३१ को दफा (३) बमोजिम नागरिकले अटेरी गरे अतिक्रमण हटाउँदा लाग्ने खर्च सम्बन्धित व्यक्तिबाटै असुल उपर गरिने व्यवस्था छ ।

प्रकाशित मिति : २०८० साउन १० गते बुधवार
प्रतिक्रिया दिनुहोस