जुम्ला । जुम्लाको चौधविस क्षेत्र,हालको पातारासी गाउँपालिका कृषि उत्पादनमा आत्मनिर्भर पालिका हो । पातारासीमा आलु मकै,कोदो,सिमि,फापर,लगायतका रैथाने बाली उत्पादनमा पातारासी अब्बल छ । विशेषगरी पातारासीको नगदेबाली आलुलाई मानिन्छ । जिल्लाको अन्नभण्डारका रुपमा कहलिएको पातारासीको समृद्दि कृषि क्षेत्रबाटै सम्भव देखिन्छ । विश्वकै अग्लोस्थानमा मार्सि फल्ने छुमचौर ज्युलो लगायत,आलु मकै,कोदो फापर लगायतको उत्पादन हुने पातारासीमा एग्रो टुरिजमको समेत उतिकै सम्भावना छ ।
पातारासीका किसान आफ्नै उत्पादन र जडिबुटिकै कमाईले घरव्यवहार चलाउउँछन् । उत्पादित वस्तुले मात्रै सबै आबश्यकता परिपुर्ति नभएपछि उत्पादनलाई बजारमा पठाउन चाहना भएर पनि किसाने विक्रि गर्न सकेका छैनन् । जसका कारण उत्पादन घरमै थन्किने स्थिति छ ।
पातारासी गाउँपालिका –७ कि रिनि गाउँकि मायादेवी बुढाले गत वर्ष झण्डै २० क्वीईन्टल आलु उत्पादन गरिन् । उत्पादित आलु मध्य करिब ८÷१० क्वीईन्टल मुस्किलले विक्रि । मायादेवी भन्छन,“गत वर्षको धेरै आलु बेच्न सकिएन् । जसका कारण अपेक्षानुसार आम्दानी भएन् । यश वर्षपनि आलु धेरै उत्पादन हुने सम्भावना छ । तर बजार सुनिश्चित नहुँदा चिन्ता लागेको छ । स्थानीय सरकारले उत्पादनको बजारीकरणमा सहजीकरण गर्न आबश्यक छ ।“
उपयुक्त बजार नहुँदा विहानैकै झिसमिसेमा डोकोमा आलु बोकेर बजार धाउनु पर्ने बाध्यता कायमै छ । कहिलेकाहि त नबिकेर घर फर्काउनु पर्ने र कहिले निकै सस्तोमा विक्रि गर्नु पर्ने समेत बाध्यता छ । त्यसैले पातारासीका उत्पादनको बजार सुनिश्चिता गर्न स्थानीय सरकारले नीति बनाउनु पर्ने किसानको माग छ ।
मायादेवि बुढा मात्र नभई रिनि गाउँका १ सय ९० घरधुरीमै १५ देखि २० क्वीईन्ट आलु प्रतिघरमा उत्पादन हुन्छ । उत्पादितको केही हिस्सा मात्र बजारमा गएको छ । पातारासीका ७ वटाका करिब ३४ सय घरधुरीका सबै किसान कृषिमै निर्भर छन् । रिनि गाउँमा सबैभन्दा बढी उत्पादन भएपनि पातारासीका सबै क्षेत्रमा आलु संगै अन्य रैथानेबाली उत्पादन हुन्छ ।
आलुपछि सबैभन्दा बढी मकै पातारासीले उत्पादन गर्छ । यतिबेला मैकैबारीले पातारासी भरिएको छ । पातारासीमा आलु उत्पादन प्रस्सत हुने भएपनि भण्डारण गर्ने क्षेत्र र बजार नहुँदा श्रमनुसारको आम्दानी नपाएको किसान तारा बोहोरा बताउँछन् ।
उनीभन्छन,“उत्पादन सम्भावनाका हिसाबले पातारासी कृषिमा आत्मनिर्भर पालिका हो । तर स्थानियतहदेखि प्रदेशको कुनै ध्यान छैन् । विश्वकै अग्लो स्थानमा धान फल्ने छुमचौर ज्युलो उपेक्षामा छ । मन्त्री सांसदले आश्वासन मात्र दिने बजेट नदिने,पालिकाले कृषिमैत्री नीति ल्याउने प्रबृत्तिले पातारासीका कृषि सम्भावनाहरु अबसरमा रुपान्तरण हुन सकेका छैनन् ।“
पातारासीका रैथाने बालीको उत्पादन बृद्दिका लागि कृषि नीतिमा जोड दिनुका साथै गाउँगाउँमा संकलन केन्द्र स्थापना हुनु पर्ने पातारासीका किसानको माग । पातारासीका कृषि सम्भावनालाई अबसरमा रुपान्तरण गर्न पालिकाले आफ्नो तर्फबाट पहल गरिरहेको पातारासीकी उपाध्यक्ष जनमाया रोकायाले बताईन् ।
उनले भनिन,“पातारासीका ७ वटै वडा कृषि उत्पादनमा सक्षम छन् । सबै उत्पादन घरमै थन्कीएका भन्ने हैन् । उत्पादनको ठुलो हिस्साले बजार पाएको छैन् । प्रदेश सरकार संग पहल गरेर पातरासीमा कृषि एम्बुलेन्स संचालन गर्ने तयारीमा छौ ।”
कर्णालीका कृषि मन्त्रीले पातारासीको कृषि क्षेत्रलाई विशेष जोड दिदै उत्पादनको बजारीकरणाका लागि कृषि एम्बुलेन्सको व्यवस्थापन गर्ने आश्वासन दिएका छन् । उपाध्यक्ष रोकायाले थपिन,“अब केही दिनमा प्रदेशमा गएर कृषि मन्त्रीको ध्यानकर्षण गराउँछौ । पातारासिको प्रथामिकताको क्षेत्रनै कृषि हो । संघ र प्रदेशबाट कृषिमा लगानी भित्राउन निरन्तर पहल गर्ने छौ ।”
कृषि उत्पादन बृद्दि संगै पातारासीका महिला पुरुष भन्दा आर्थिक रुपमा सक्षम भएका छन् । बैंक तथा वित्तिय संस्थाले पनि महिलालाईनै पत्याउँछन् । घरको सबै आर्थिक कारोबार महिलामै निर्भर छन् । पातारासीमा उत्पादन हुने आलु,कोदो,फापर,चिनो,कागुनो,मकै र सिमि लगायतका बालीको उत्पादन बृद्दि र किसानको आयस्तर बृद्दिका लागि पालिकाले विशेष जोड दिने अध्यक्ष पुर्णसिंह बोहोराले बताए । उनका अनुसार कृषिमा उत्पादनका आधारमन अनुदान तथा कृषि विमामा जोड दिईने छ ।
कृषि विकास कार्यालय जुम्लाका अनुसार २ हजार ६ सय ५० हेक्टरमा आलु खेती भइरहेको छ । जुम्लाको आलु उत्पादनको ६० प्रतिशत हिस्सापातारासी गाउँपालिकाले मात्रै ओगटेको छ । आलु भण्डारका लागि संकलनकेन्द्र निर्माण तथा बजारीकरणमा स्थानीय सरकार थप सहजीकरण गर्न जरुरी रहेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले बताए । यदपी, जिल्लाका आठ पालिकामा उत्पादन हुने वस्तुको पालिकागत उत्पादनको एकिन तथ्य कतै छैन् ।
पातारासीका सबै वडामा कृषि पकेट क्षेत्र
पातारासी गाउँपालिकाका सबै वडा पकेट क्षेत्र घोषणा गरिएक छन् । वडाको उत्पादन तथा अनुकूलताका आधारमा पातारासीका ७ वटै वडामा पकेट क्षेत्र घोषणा गरिएको हो । २०७७ सालमै पातारासीका वडाहरुमा उत्पादनका हिसाबले पकेट क्षेत्र बनाईएको थियो ।
कृषि उत्पादनको उत्पादकत्व वृद्धि गर्न कृषिमा एकद्वार प्रणालीबाट विकास गर्न सबै वडामा पकेट क्षेत्र घोषणा गरिएको पातारासी गाउँपालिकाका कृषि शाखा प्रमुख रुपक बुढाले बताए । उनका अनुसार पातारासीको वडा नंं. १ र २ मा फापर पकेट क्षेत्र घोषणा गरिएको छ भने वडा नं. ३ मा कालीमार्सी, ४ मा चिनो कागुनो, ५ मा सिमी, ६ मा फलफूल तथा तरकारी र ७ मा आलु, जौ र गहुँ पकेट क्षेत्र निर्धारण गरिएको छ ।
पातारासी क्षेत्र आलु, मकै तथा फापर उत्पादनका हिसाबले आत्मनिर्भर क्षेत्र मानिने छ । पातारासीमा रहेका ३४ सय घरधुरी नै कृषिखेतीमा निर्भर छन् । कृषि शाखा प्रमुख बुढाले जुन वडामा जुन कृषि वस्तु बढी उत्पादन हुन्छ सोही आधारमा पकेट क्षेत्र बनाइएको जानकारी दिए । पकेट क्षेत्र निर्धारणले किसानलाई कृषिप्रति लगाव बढ्ने उत्पादकत्व पनि वृद्धि हुने आशा गरिएको उनको भनाइ छ ।
पकेट क्षेत्र निर्धारणले रैथाने बालीको उत्पादन बढ्ने आशामा रहेको स्थानीय किसान विष्णु बुढा बताउँछन् । उनी भन्छन,“ पकेट क्षेत्रमा स्थानीय सरकारले आबश्यक लगानी गर्न सकेन् । कुपोषण घटाउन, मातृ–शिशु सुरक्षा गर्न अर्गानिक कृषि वस्तुको प्रयोग आवश्यक छ । उत्पादन वृद्धिमा जोड दिन पकेट क्षेत्र कोशे ढुंगा सावित हुन्छ । तर उत्पादनको बजारीकरणमा जोड दिन जरुरी छ ।”
परम्परा खेतीले श्रम बढी लाग्ने र उत्पादन कम हुने समस्या भएकाले पकेट क्षेत्रअनुसार आधुनिक खेती प्रविधिबारे किसानलाई अभिमुखीकरण दिन जरुरी रहेको पालिकाका प्रमुख प्रशासकीय मीन बहादुर रावलले बताए ।
लोपोन्मुख रैथाने बाली संरक्षणका साथै स्थानीयको आर्यआर्जन वृद्धिका लागि पनि पकेट क्षेत्र निर्धारण गरिएको रावलले उल्लेख गरे । पकेट क्षेत्रको निरन्तरता र उत्पादन वृद्धिका लागि गाउँपालिकाले आवश्यकता अनुसार बजेट विनियोजन गर्ने उनको भनाई छ ।
पकेट क्षेत्रबाट उत्पादित आलु, तरकारी, चामल, मकै, कोदोको बजारीकरणलाई सहज बनाउन समेत स्थानीय सरकार गम्भीर हुनुपर्छ, रैथाने बालीमात्रै उत्पादन गर्ने आयातित वस्तु खाने बानीको अन्त्य गर्न जरुरी छ । पातारासी गाउँपालिकाले प्रांगारिक खेतीका लागि जैविक विषादी र मल बनाउने तालिम किसानलाई प्रदान गर्दै आइरहेको छ ।