जुम्ला । जुम्लाको सरकारी टोली भगवती पूजाका लागि बाजुरा स्थित बडिमालिका तर्फ प्रस्थान गरेको छ । सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लास्थित बडिमालीका भगवती मन्दिरको पूजाआजाका लागि जुम्लाको सरकारी टोली सहित सयौ भक्तजन त्यसतर्फ प्रस्थान गरेको हो । बडिमालिका भगवतीको जुम्ला र बाजुराका भक्तजनले संयुक्त पुजाँ गर्ने परम्परानुसार हरेक वर्ष नाग पञ्चमीका दिन जुम्लाको टोली बडिमालिका जाने गर्छन् ।
जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा एकराज गिरीको नेतृत्व तथा पुजारी विष्णुप्रसाद उपाध्याय सहित दर्जनौँ भक्तजनको टोली बडिमालिका प्रस्थान गरेको सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले बताए । उनका अनुसार सोमबार गएको टोली कृष्णजन्मा अष्टमीको अघिल्लो दिन अर्थात १७ दिन लगाएर जुम्ला पुग्ने छ । यस वर्ष बडिमालिका यात्राको भिडियो डकुमेन्ट्री समेत तयार गरिने सहायक प्रजिअ हमालको भनाई छ ।
हरेक वर्ष साउन शुक्लपूर्णिमा नाग पञ्चमीका दिन तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रूपमा बडिमालिकाको पूजा गर्ने प्रचलन अनुसार सोमबार जुम्लाको टोली बडिमालिका गएको जुम्लाका संस्कृतबिद रमानन्द आचार्यले बताए ।
उनका अनुसार नेपाली सेनाको एक टुकुटीले बटुक भैरवनाथ, बाबा चन्दननाथ र दरबार मालिकाको सलामी अर्पण,पाँच वटा सलामी,ब्यान्डबाजा र बिगुल फुकेर पूजाको डोली सहित बडिमालिका हिँडेको टोलीलाई जुम्लाका सयौँ भक्तजन, सरकारी तथा गैससका प्रतिनिधिहरूले फूलमाला अबिर सहित बिदाइ गरेका छन् ।
परम्परादेखि नै हरेक वर्ष नाग पञ्चमीका दिन जुम्लाको सरकारी टोली पूजाका लागि बडिमालिका जाने चलन रहेको छ । डोटी बाजुराको टोली बडिमालिका आउने जुम्लाको टोली बडिमालीका पुगेर संयुक्त पूजा गर्ने प्रचलन छ ।
संस्कृत विद् आचार्यका अनुसार जिल्ला प्रशासन कार्यालयको तर्फबाट सुनको टीका, बिनायो, चाँदीको काँगियो, छत्र, मुरुली गरी ५ वटा पूजाका सामानहरू (पेटारो) नामक झोलीमा राखेर बडिमालिका मन्दिरमा पूजाका लागि पठाइएको छ ।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बडीमालिका जाने टोलीको सुरक्षार्थ सीमावर्ती जिल्ला प्रशासन र प्रहरी कार्यालय सँग समन्वय भएको बताए । उनले भने,“विगतका केही वर्ष कोरोना कारण सिमित व्यक्ति मात्रै बडिमालीका गए । यस वर्ष भक्तजनहरुको उत्साह निकै बढी देखियो । त्यसैले टोलीको सुरक्षालाई मजबुद बनाइएको छ ।”
बडिमालिका यात्रा धार्मिक पर्यटनको आयाम
बाजुरा स्थित बडिमालिका क्षेत्र धार्मिक पर्यटनको प्रचुर सम्भावना भएको ठाउँ हो । जहाँ हरेक वर्ष नाग पञ्चमीदेखि कृष्णाजन्मा अष्टमी बीचको करिब दुई हप्ता बढी समय हजारौ भक्तजनहरुको घुईचो लाग्छ । भने मुलुकका अन्य जिल्लाबाट हेलिकप्टर समेत रिर्जब गरी त्यहा पुग्ने गरेका छन् ।
धार्मिक आस्था संगै हरियाली पाटन तथा त्यहाको सुन्दरता अवलोकन गर्न बडिमालीका पछिल्लो समय आन्तरिक पर्यटकको रोजाईमा परेको छ । कर्णाली र सुदुरपश्चिमका हिमाली क्षेत्र धार्मिक पर्यटनका हिसाबले सम्भावायुक्त जिल्ला हुन् । यहाँका परम्परागत संस्कृतिको संरक्षणका राज्यले लगानी गर्न सकेको छैन् ।
बडिमालिकामा वर्षमा एक पटक हुने पूजाले बाजुरा र जुम्लाको धार्मिक सहिष्णुताको विकास सँगै धार्मिक पर्यटनलाई समेत उजागर गरेको जिल्ला समन्वय समितिका प्रमुख गोरीनन्द आचार्यले बताउँछन् । उनी भन्छन,“कृषि जडिबुटि,प्राकृतिक स्रोत,बन जंगल संगै धार्मिक पर्यटन,भाषा संस्कृति परम्परा समृद्ध कर्णालीका आयाम हुन् । जुम्लाको चन्दननाथ,बाजुराको बडिमालीकाका आफ्नै महत्व विशेषता छन् । यी सम्पदाहरुको संरक्षण तथा उजागर गरेको खण्डमा कर्णाली बाह्य पर्यटकहरुका लागि अनुसन्धान गर्ने थलो बन्न सक्छ ।”
बडिमालिकाको पर्यटन विकासमा राज्यको लगानी अझै न्युन भएकोले त्यहा पुग्ने पर्यटकहरुलाई खान बस्न उचित प्रर्बन्ध छैन् । यदपी,सिजन रुपमा त्यहा पुग्ने भक्तजन तथा आन्तरिक पर्यटकको संख्या वर्षेनी उल्लेखीय रुपमा बृद्धि हुदैँ गएको देखिन्छ ।
बडिमालिका तिर्थ यात्रा धार्मिक पर्यटक विकास,आर्थिक समृद्धी र संस्कृति जर्गेनाको आयाम हो । संस्कृत विद रमानन्द आर्चाय भन्छन,“कर्णालीको धार्मिक पर्यटनलाई सवलीकरण गर्न सकिएको छैन् । पदमार्ग निर्माण,बासस्थान,क्षेत्रविशेष परिचय दिने चिनारी, लगायतका विषयमा लगानी हुन पर्छ । बाजुराको बडिमालीका,जुम्ला चन्दननाथ,मुगुको छाँयानाथ तिर्थ स्थलाई धार्मिक पर्यटकिय गन्तव्यका रुपमा विकास गर्न जरुरी छ ।”