बत्ती अभावले १३ करोड लगानीकाे  बहुउदेश्यीय कोल्डस्टोर प्रयाेगविहिन

लगानी डुबेपछि चिन्तामा सञ्चालक,बत्तिमा सहुलियतकाे माग

जुम्ला । राम्रोसँग नपाक्दै स्याउ टिपेर बेच्ने समस्या जुम्लामा यो वर्ष पनि दोहोरिएको छ । कृषि कार्यालय र प्रहरी प्रशासनले समेत रोक्न खोज्दा पनि किसानले काँचो स्याउ बेच्न छाडेका छैनन् ।

जुम्लाका २० हजार घरधुरीमध्ये १६ हजारभन्दा बढी स्याउखेतीमै निर्भर छन् । यहाँका अधिकांश किसानको रोजीरोटी र छोराछोरी पढाउने माध्यम स्याउ नै हो । जुम्लाको ४ हजार २५० हेक्टर जमिनमा स्याउखेती भइरहेको छ । कतिपयले स्याउले नै जुम्लामा समृद्धि ल्याउने टिप्पणी पनि गर्छन् ।

पालिकास्तरमा संकलन केन्द्र नहुनु, जिल्लामा भएको कोल्डस्टोर प्रयोगमा नआउनु र पछि राम्रो मूल्य नपाइने डरले काँचो स्याउ निर्यात गर्न बाध्य भएको किसान बताउँछन् । यहाँको स्याउको बजारमा राम्रो माग छ र उत्पादन पनि बढ्दो छ । उत्पादन बढे पनि किसानले अपेक्षित लाभ भने लिन सकेका छैनन् । स्याउ उत्पादनको अनुपातमा जिल्लामा पैसा भित्रिन सकेको छैन । जिल्लामै व्यवस्थित भण्डारण गरेर कात्तिकपछि मात्रै स्याउ निर्यात गर्न सके चिनियाँ र भारतीय आयात रोक्न सकिने र स्थानीय उत्पादनले राम्रो मूल्य पाउने सम्भावना छ ।

ठूलो मात्रामा जिल्लामै थन्किने र पछि कुहिएर खेर जाने भएकाले वर्षेनि काँचो स्याउ बिक्री भइरहेको छ । स्याउ उत्पादनको राजधानी मानिने जुम्लाका आठै पालिकामा मध्यम खालका कोल्ड स्टोर बन्नुपर्ने हो, तर त्यसो हुन सकेको छैन । संघीय तथा प्रदेश सरकारले स्याउ उत्पादन वृद्धि, भण्डारण तथा बजारीकरणका लागि ठोस नीति ल्याउन र लगानी गर्न सकेका छैनन् ।

पालिकाले त कोल्डस्टोरमा लगानी गरेनन् नै, करोडौं खर्चेर निजी लगानीमा निर्माण भएको कोल्डस्टोर पनि सञ्चालनमा आएको छैन ।

कोल्डस्टोर नभएकै कारण जुम्लामा ६ वर्षमा ७८ टन स्याउन घरमै कुहिएर खेर गएको सरकारी तथ्यांक छ । आर्थिक वर्ष २०७४–७५ देखि ०७९–८० सम्ममा ४५८ टन स्याउ उत्पादन भएकोमा ३८० टनमात्रै निर्यात भयो । बाँकी स्याउन जिल्लामै थन्किएको थियो । विगतका वर्षमा समयमै स्याउ नटिप्दा ४–५ क्विन्टल स्याउ कुहिएर गाईगोरुलाई दिनुपरेको किसान राजबहादुर भक्रीले बताए । किसानको यो नोक्सानको आकलन स्थानीय तहले गरेका छैनन् । पालिकाले आफ्नै लगानीमा निर्माण गर्न नसके पनि निजी लगानीमा तयार भएको बहुउद्देश्यीय कोल्डस्टोर सञ्चालनमा ल्याउन सरोकारवालाले जोड दिएका छन् ।

कैलाश जनरल स्टोरका सञ्चालक देउऋषि चौलागाईंले आफ्नै लगानीमा कर्णाली प्रदेशकै ठूलो कोल्डस्टोर निर्माण गरेका छन् । १० करोड बैंक ऋण, २ करोड २० लाख व्यक्तिगत र ८० लाख सरकारी अनुदान गरी १३ करोड लगानीमा उनले लिफ्टसहितको बहुउदेश्यीय कोल्डस्टोर निर्माण गरेका हुन् । जिल्लामै कोल्डस्टोर हुँदा पनि किसानले काँचो स्याउ बेचिरहेका छन् । कारण– १५ हजार किलो क्षमताको कोल्डस्टोर बत्ती नभएर प्रयोगमा आउन सकेको छैन । राष्ट्रिय प्रशारणलाइन जुम्लामा पुगिसकेको छ, कोल्डस्टोर बत्ती अभावले प्रयोगविहीन बनेको छ ।

‘जिल्लाका किसानको राहतका लागि जोखिम मोलेर करोडौं लगानीमा कोल्डस्टोर बनाएँ, अहिले पश्चातापमा छु । कृषि र किसानका लागि जसले केही गर्न खोज्दैछ, त्यो व्यक्ति नै राज्यको उपेक्षामा पर्ने रहेछ । निर्माण सम्पन्न भएको वर्षदिन बित्न लागिसक्यो ।

तर, कोल्डस्टोर बत्ती अभावले सुचारु हुन सकेको छैन। जबसम्म कोल्डस्टोर सुचारु हुँदैन, तबसम्म काँचो स्याउ निर्यात रोकिँदैन,’ सञ्चालक चौलागाईंले भने, ‘चर्को ब्याजले ढाड सेकिएको छ तर कोल्डस्टोर सञ्चालन गर्न सकिएको छैन । महिनामै लाखौं ब्याज तिर्नुपरेको छ । लगानी गरेको ऋणले प्रतिफल नदिँदासम्म ब्याज नलाग्ने नीति ल्याए हामीजस्ता उद्यमीलाई राहत हुने थियो ।’

बत्ती अभावले प्रयोगविहीन भएको कोल्डस्टोर सञ्चालनमा कुनै सरोकारवालाको ध्यान नपुगेको उनको गुनासो छ । गत वर्ष केही किसानको स्याउ खरिद गरी कोल्डस्टोरमा राख्दा बत्ती अभावले सबै कुहिएपछि करिब २५ लाखको नोक्सान व्यहोर्नुपरेको चौलागाईंले सुनाए । यद्यपि, अहिले किसानले ‘ए’ ग्रेडको स्याउ ल्याए किन्ने उनले बताए ।

जुम्लामा राष्ट्रिय प्रशारणलाइन पुगेको वर्षौं भइसक्यो । कोल्डस्टोरका लागि करिब ८० किलोवाट क्षमताको बत्ती आवश्यक छ । ‘निःशुल्क चाहियो भनेको छैन, तर केही सहुलियत पाउनुपर्ने मेरो माग हो,’ सञ्चालक चौलागाईंले भने, ‘कोल्डस्टोर सञ्चालनका लागि सरकारबाट सहुलियतमा बत्ती चाहिएको छ । त्यसका लागि सांसददेखि सबैले पहल गरिदिनु होला ।’

प्रकाशित मिति : २०८० भाद्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस