जुम्ला । कर्णाली प्रदेश मुगु जिल्लाको पुर्वमा पर्ने ‘मुगु कार्मारोङ गाउँपालिका’ कृषि,पर्यटन,जडिबुटी,खानी लगायतका सम्भावनाले भुरिपुर्ण क्षेत्र हो । कार्मारोङ क्षेत्रका सम्भावनाहरुमा प्रयाप्त लगानी भएमा समृद्ध कर्णाली निर्माणका निम्ती टेवा पुग्ने देखिन्छ । भने,त्यहाँका नागरिकको जीवनस्तर पनि उकास्न मद्दत पुग्ने छ ।
कार्मारोङ क्षेत्रमा विश्वका चार धामध्यको ठुलो धाम छायाँनाथ धाम,एतिहासिक परलोक (टोक),तिहार गुम्बा,पुअको नेचेन धार्मिक तिर्थस्थल,एतिहासिक दाउरा गाउँको ढुंगा (ताह्रा साटुङ),जैविक विविधता,कान्जिरोवा हिमाल,२२ पाटन,बहुमुल्य जडिबुटि,कृषि र डोल्फु तामा खानी लगायतका सम्भावनाहरु रहेका छन् ।
विशेषगरी धार्मिक तथा प्राकृतिक पर्यटन गन्तव्य,जडिबुटि र कृषि कार्मारोङ क्षेत्र समृद्धीका मुख्य आयामहरु हुन् । त्यस क्षेत्रका नागरिक आयातित खाना प्रायः खादैनन् । रैथानेबाली उत्पादनमा आत्मनिर्भर कार्मारोङका नागरिक उत्पादित केहि वस्तु विक्री गर्न चाहेपनि विकटताले बेच्न पाउँदैनन् ।
लोपउन्मुख चिनो,कागुनो,कोदो,फापर जस्ता रैथानेबालीको उत्पादन पनि प्रयाप्त मात्रामै हुन्छ । तर सडक सञ्जालको विकास नभएकै कारण त्यहाँका कृषि उत्पादनले बजार पाउन सकेको छैन् । कार्मारोङ गाउँपालिका ८ माग्री गाउँमा लोपउन्मुख चिनो कागुनोको व्यवसायीक खेती गरिएको छ । तर त्यहाँको उत्पादनले भने बजाउन पाउन मुस्किल छ । नत गाउँमा सडक छ । नत हवाई पहुँच ? भने कार्मारोङ क्षेत्रमै रहेको डोल्फु तामा खानी राज्यको उपेक्षाले ओझेलमा छ । हरेक साउनमा करिब २० हजार धार्मिक पर्यटक पुग्ने छायाँनाथ धाममा समेत राज्यको शुन्य लगानी छ ।
पर्यटन प्रर्बद्धनका प्रचुर सम्भावना हुँदा पनि लगानी अभावले सम्भावनाहरु अबसरमा रुपान्तरण हुने सकेनन् । जसका कारण कार्मारोङका नागरिकको जीवनशैली अझै फेरिएको छैन् । संघियतापछि पनि अपेक्षित विकास नभएको कार्मारोङ क्षेत्रका नागरिक र त्यहाँका प्रचुर सम्भावनाहरु संघ र प्रदेश सरकारको लगानी कुरिरहेका छन् ।
सधै बजेट अभावकै पिरलो
मुगुम कार्मारोङ गाउँपालिकामा ९ वटा वडा,एक हजार चार सय घरधुरी र नौ हजार तीन सय जनसंख्या रहेको छ । संघियता कार्यान्वयनपछि कृषि,पर्यटन तथा आर्थिक विकासका सम्भावनाहरु मात्र उपेक्षामा परेनन् । राज्यले आबश्यकतानुसार बजेट नदिँदा कार्मारोङका नागरिक आधारभुत विकासबाटै बन्चित भएको मुगुम कार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए ।
उनले भने,“हामीले सम्भावना भएर पनि गरिब छौ । राज्यले हाम्रा बिलौना कहिले सुन्दैन् । राज्यको असमान बजेट वितरण पद्धतीले विकट पालिका चल्नै मुस्किल छन् । तामाखानी छ,छाँयानाँथ धाम छ । कृषि पर्यटनका सम्भावनाले भरिपुर्ण हुँदा पनि राज्यको उपेक्षा,भौगोविक विकटता र लगानी अभावले हामी अनागरिक जीवन बिताईरहेका छौ ।”
संघियतापछि हरेक स्थानीयतहबाट सदरमुकाम पुग्ने सडक निर्माणमा संघ प्रदेशले समन्वय गरेर लगानी गर्ने भन्ने थियो । अहिले सम्म मुगु सदरमुकामदेखि कार्मारोङ गाउँपालिका केन्द्र पुलुसम्म सडक पुगेको छैन् । भने प्रत्यक वडामा सडक पुग्ने,गाडी गुड्ने स्थानीय उत्पादनले बजार पाउने सपना जस्तै भएको कार्मारोङ २ चिताई गाउँका पासाङ तुन्द्रुकले बताए ।
उनले भने,“चिताई गाउँ छायाँनाथको बेसक्याम्प हो । यहाँका घरहरु पुराना भएका छन् । खानेपानी छैन् । बाटो हिलो छ । तर साउने पुनीमा हजारौको संख्यामा आउने पर्यटकलाई बसाल्नु पर्छ । पालिकाले बजेट नभएर वा योजनानै नबनाएर हो कुनै विकास भएको छैन् । सधै बजेट अभाव भएको मात्रै सुन्छौ । चिताई,ढुंगेधारा,छाईला,लगायतका गाउँमा होमस्टे बन्नुपर्छ ।”
राज्यलाई डोल्फु तामा खानीमा लगानी गर्न माग गर्दा पनि कुनै सुनुवाई हुन सकेन् । मुगु राराताल हुदैँ
छाईला,तिहार,छायाँनाथ,मानसरोवर,सेफोक्सण्डो जोड्ने पदमार्ग निर्माणका लागि समेत बजेट माग गर्दा समेत संघ प्रदेशले उपेक्षा गरेको पालिका अध्यक्ष लामाले दुखेसो पोखे ।
उनले थपे,“पुँजीगत बजेट वार्षिक रुपमा ६÷७ करोड भन्दा बढी आउदैन् । भौगोलिक विकटताले घेरिएको यस क्षेत्रमा विकास भन्दा सामाग्री ढुवानीमै बढी बजेट खर्च हुन्छ । कृषि,पर्यटन,सडक,खानेपानी,पशु लगायतका क्षेत्रमा थोरै थोरै छुटाउँदा पनि बजेट पुग्दैन् । ठुलो विकास गरौ,गाउँ गाउँमा सडक पुराउ भन्ने सोच भएपनि बजेट अभावले पछि सर्नु पर्ने बाध्यता छ । राज्यको निरन्तर उपेक्षा र लगानी अभावले सम्भावनामा हेरी आबश्कता पुर्ति नहुँदो रहेछ । यस्तो क्षेत्र जनप्रतिनिधि भएर काम गर्नै मुस्किल छ ।”
कार्मारोङ क्षेत्रमा हालसम्म भएका पर्यटन विकास तथा पूर्वाधार निर्माण पालिकाकै लगानी भएको पालिका अध्यक्षको दाबी छ । हामीलाई राज्यको भएको,संघियता कार्यान्वय भएको कुनै अनुुभति नभएको कार्मारोङबासीको गुनासो छ ।
खच्चडमै ढुवानी,विकासभन्दा खर्च बढी
मुगुमा खत्याड,मुगुम कार्मारोङ र सोरु गरी तीन गाउँपालिका र एक छायानाँथ रारा नगरपालिका गरी चार स्थानीय तह छन् । यी चार स्थानीयतह मध्य सबैभन्दा बढी भौगिक रुपले विकट मुगुम कार्मारोङ गाउँपालिका हो । ९ वटा वडा रहेको कार्मारोङका कुनै पनि वडामा अहिले सम्म सडक पुग्न सकेको छैन् ।
मुगु सदरमुकाम गमगडीबाट घाट हुदैँ छाईल सम्म १५÷१६ किमी कच्ची सडक निर्माण भएको छ । उक्त सडकमा पनि नियमित गाडी चल्दैन् । गत वर्षको बाढीले पुल बगाएपछि छाईलासम्मको यातायात सेवा पनि अबरुद्ध छ । छाईलादेखि माथिका कुनै बस्तीमा सडक छैन् । पालिका केन्द्र दुर्गम पुलुमा छ ।
पालिकाले सडक निर्माणका लागि ठाउँठाउँमा डोजर प्रयोग गर्दा त्यसले विकास भन्दा विनास बढी गरेको छ । भने, जोखिम पनि निम्त्याएको छ । कतिपय ठाउँमा डोजरकै कारण हिड्ने गोरेटो बाटो समेत छैनन् । पालिकाले वर्षेनिक करोडौ बजेट खर्चिए पनि सडक नपुग्नु खच्चडकै भरमा ढुवानी गर्नुको कारण विकास भन्दा ढुवानी खर्च बढी लाग्नु हो ।
कार्मारोङ क्षेत्रको यातायातको साधन भनेकै खच्चड हुन् । ती पनि अहिले लोपउन्मुख अबस्थामा छन् । भएका खच्चड पनि सामान्य नागरिकले दैनिक उपभोग्य सामान ढुवानी गर्न सक्दैनन् । तरपनि कार्मारोङका नागरिकले खच्चडकै भरमा ग्याँस सिडिण्डर देखि खाद्यको चामल दुर्गम चिताई गाउँ सम्म पुराएका छन् ।
“काठमान्डौमा १५÷१६ सय पर्ने ग्याँस कार्मारोङको गाउँसम्म पुग्दा ६ हजार रुपैयाबढी पर्न जान्छ । त्यो सडक नपुग्नुकै उपज हो । राज्यले हामीलाई सौतेनी व्यवहार गरेको छ । पालिकाकै लगानीले सबै वडामा सडक पुराउन सम्भव छैन् । तर पनि प्रयास गरीराखेका छौ । सडक विना विकासको अनुभुति हुदैन् । तर यहाँ खच्चडको भर छुटेको छैन् ।”,अध्यक्ष लामाले भने ।
भूगोलकलाई आधार नमान्ने जनसंख्यालाई केन्द्रमा राखेर बजेट वितरण गर्ने असमान नीतिले कर्णालीका दुर्गम क्षेत्र ओझेलमा परेका छन् । कर्णालीको समृद्धी नभई मुलुकको समृद्धी असम्भव छ भनिरँदा कर्णालीका सम्भावनामा प्रयाप्त लगानी गर्न संघ तथा प्रदेश सरकारले कन्जुसाई गर्न हुदैन् । अन्यथा कर्णालीका धार्मिक,एतिहासिक,प्राकृतिक तथा सांस्कृति सम्भावनाहरु सधै ओेझेलमा पर्ने पक्का छ ।