दुई दशक बित्यो, द्वन्द्वमा बेपत्ता भएका छोराको न लास छ, न सास छ, खबरसम्म पनि पाइएन । द्वन्द्वमा बेपत्ता भएका छोराको प्रतिक्षामा तिला गाउँपालिका –४ साँपुल्ली गाउँका ६३ वर्षीया जयकुरा कामी र उनका पति ६५ वर्षीय हरिकेश कामीे ।
उनका छोरा २० वर्षको उमेरमा बेपत्ता भएका हुन् । साविक कुडारी गाविस हाल तिला गाउँपालिका–४ सापुल्ली गाउँकी जयकुरा कामीले सशस्त्र द्वन्द्वमा आफ्नो कोखबाट जन्माएको छोरा गुमाइन् । जयकुराका छोरा २० वर्षीय परिमल कामी २०५९ कार्तिक २८ गतेदेखि बेपत्ता भएका हुन् ।
तत्कालीन माओवादीले साँपुल्लिगाउँदेखि गुठीचौर गाउँपालिका – २ गुठीचौर भेडा फर्म नजिक भारी भोक्न लगेको थियो । परिमल कामी माओवादी पार्टीमा आबद्ध पनि भएका थिएनन् । तर माओवादीले सहयोग गरिदिन भनेपछि भारी फाल्न जानु भयो । गुठीचौरको भेडा फर्म नजिक भारी फालेर फर्केर आउदा चन्दननाथ नगरपालिकाको छिनासाँघुमा नेपाली सेनाले खान तलासी गर्दा जुत्ता भित्र माओवादीको पत्र भेटाएपछि त्यहीबाट गिरफ्तार गरेको थियो । परिमल कामीसँग भारी फाल्न गएका साँपुल्ली गाउँका २३ वर्षीय धनजित कामी पनि नेपाली सेनाको गिरफ्तारीमा पर्नु भए । नेपाली सेनाले माओवादी भएको आरोपमा गिरफ्तार गरी लगेकोमा हाल सम्म बेपत्ता छन् ।
परिमल कामी र धनजितकी आमा क्रमश जयकुरा र विष्णु कामीले भने ‘गाउँबाट ८–१० जना भारी फाल्न गएका थिए । २०८९ कार्तिक २८ गते बेलुका सबै घर फर्केर आए ।’ तर परिमल र धनजित घरमा आएनन् । उनीहरुसँग गएका दलविर कामीसँग सोध्यौँ । हामी जंगलको बाटो भएर घर आयौँ । तर उनीहरु (परिमल र धनजित) चन्दननाथ नगरपालिका – ६ छिनागाउँ फुपुको घर खाना खान भनेर छिनासाँघु पुल तरेर जाने भनेर गए । त्यही पुलमा नेपाली सेनाले गिरफ्तार गरेछ ।
परिमल कामीको आमा जयकुरा कामीले भने ‘भोलि पल्ट २०५९ कार्तिक २९ गते छोरा खोज्दै सदुरमुकाम खलंगा पुयौँ । नेपाली सेनाको व्यारेक पनि गरौँ । धेरै ठाउँ खोयौँ । त्यतिबेला २०५९ कार्तिक २८ गते तत्कालीन माओवादी पार्टीले जुम्ला जिल्लाको सदरमुकाम खलंगा आक्रमण गरेको थियो । जताततै मानिसका लासै लास थिए । सबै लास एक एक गरि हेरौँ तर छोरा भेटाएनौँ । अहिले सम्म न त लास भेटाएका छौँ न त सास नै । ’
परिमल र धनजित एकै दिनदेखि बेपत्ता भएको धनजितकी आमा विष्णु कामीले बताइन् । उनले भनिन् ‘त्यतिबेला खोज तलासका लागि शान्ति समिति र रेडक्रसमा उजुरी दिएका थियौँ । अहिलेसम्म पत्ता लाग्न सकेको छैन । छोरा धनजितले विवाह पनि गरेको थियो । दुई बच्चा जन्मेका पनि हुन् । बच्चा जन्मेको एक÷एक वर्ष नपुग्दै मृत्यु भयो । त्यतिबेला राम्रो उपचार पनि पाएनन् । राम्रो उपचार गर्ने नजिक अस्पताल पनि थिएनन् । द्वन्द्वकालमा सहज रुपमा उपचार गर्न जान सक्ने वातावरण पनि थिएन । छोरा बेपत्ता भएको तीन वर्षपछि (धनजितकी पत्नि) बुहारीले पनि अर्काे विवाह गरिन् । छोरा पनि भएन । विवाह नगर पनि भन्न सकेनौँ ।’
परिमल कामीको आमा जयकुराले भनिन् ‘अहिले २१ वर्षको नाती (परिमलको छोरा) छ । नाती ६ महिनाको हुदा छोरा बेपत्ता भएको हो । नाती दुई वर्षको भएपछि बुहारीले (परिमलको पत्नि) दोस्रो विवाह गरिन् । नाती अहिले १२ कक्षा पढ्दै छ । नातीलाई राम्रोसँग पढाउने धोको छ ।’
रेडक्रसको अन्तर्राष्ट्रिय समिति, बेपत्ता आयोग लगाययत अन्य सङ्घ संस्थाहरूसँग छोराको अवस्था बारे बुझिदिन आग्रह गर्दा समेत कुनै पत्तो लागेन जयकुराले गुनासो गरिन् । तत्कालीन युद्धको समयका द्वन्द्वरत पक्षहरू अहिले सरकारमा एकै ठाउँमा छन् । अहिलेको सरकारले सास या लास देखाइदिए हुन्थ्यो ।
झण्डै बीस वर्षदेखि छोरा हराएको र खोजिको निम्ती धेरै पटक धेरै ठाउँमा धाइसकेको तर कतैबाट पनि सुनुवाई नभएको जयकुराले दुखेसो गरिन् । यसरी पटक पटक आग्रह गर्दा पनि जानकार निकायबाट कुनै जानकारी नपाएको बताइएकाले अब देशमा कानुन नभएको अनुभव जयकुरालाई भएको छ ।
लामो सास फेर्दै जयकुराले भनिन् ‘यति धेरै लामो समय भईसक्यो छोरा फर्केर आउदैन । विस्तारै आस पनि मर्दै जान थालेको छ । उसको छिनो एक नाती छ । त्यसैको अनुहार हर्दै बसेका छौँ । नातीको भविश्य सुधार्न पाएका भए आनन्द मनले मर्न सकिन्छ कि भन्ने छ ।’
त्यतिबेला रेडक्रसले भाडा बर्तन, लत्ताकपडा चामल राहत दिएको बेपत्ता भएका व्यक्तिका (परिमल र धनजित) परिवारले बताउने गरेका छन् । सरकारबाट १०÷१० लाख रकम पनि राहत पायौँ । अब त सरकारले पनि सहिद घोषणा गरिसकेको छ । जयकुराले भनिन् ‘मरिसके भनेर त सरकारले सहित घोषणा गरेको होला ।’
जग्गा जमिन पनि कमै छ । अरु छोरा पनि रोजगार छैनन् । घरको उत्पादनले तीन महिना मात्रै खाना पुग्छ । अरु नौ महिना ज्याला मजदुरी गरेरै जीविकोपार्जन गर्दै आएको धनजित कामीका आमा विष्णु कामीले बताइन् । उनले त्यही कमै भएको जग्गा पनि गत दुई वर्ष आएको बाढीपहिरोले क्षति पुर्याएको छ । खनजोत गरी अन्नबाली उत्पादन गर्न सकिने अवस्था पनि छैन । जिविकोपार्जन गर्न निकै असहज छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रशासन गरेको द्धन्द्धपीडित पाश्र्वचित्रमा उल्लेख गरेको तथ्यांक अनुसार चन्दनना नगरपालिकामा (महत, चन्दननाथ, कार्तिकस्वामी, तलिउम) ४२ जना, पातारासी गाउँपालिकामा (छुमचौर, डिल्लीचौर, पातारासी, पटमारा) ९ जना र तातोपानी गाउँपालिकामा (हाँकु, लाम्रा, ताम्ती, तातोपानी) ७३ जना रहेका छन् ।
यस्तै तिला गाउँपालिकामा (कुडारी, मालिकाठाटा, घोडेमहादेव, रारालिहि) ४७ जना, हिमा गाउँपालिकामा (महावैपाथरखोला, कालिकाखेतु, बड्की) १६ जना र सिजा गाउँपालिकामा (शनिगाउँ, नराकोट धाँपा) ७ जना पीडित भएका छन् ।
कनकासुन्दरी गाउँपालिकामा (पाण्डवगुफा, विराट, कनुकासुन्दरी, बुम्रमाडिचौर, बोलामालिका) ४५ जना र गुठीचौर गाउँपालिकामा (गुठीचौर, गज्यांकोट, देपालगाउँ) ५४ जना द्धन्द्धकालमा पीडित भएको इन्सेकले प्रशासन गरेको पाश्र्वचित्रमा उल्लेख गरिएको छ । तत्कालिन द्धन्द्धकालमा हत्या २४८ जना, बेपत्ता २ जना र अपांग ४४ जना भएको द्धन्द्धपीडित पाश्र्वचित्रमा उल्लेख छ ।
तत्कालिन द्धन्द्धकालमा आइसीआरसी र रेडक्रमको तथ्यांक अनुसार जुम्लामा बेपत्ता व्यक्ति १७ जना मध्ये ४ जना घर फर्केर आएका छन् । रेडक्रस जुम्लाका उपसभापति जगदिश चौलागाईका अनुसार दुई जनाको घरपरिवारले मृत्यु भएको सदगद गरेका र राज्यबाट सुविधा पनि प्राप्त गरिसकेका छन् । एक जनाको परिवार बर्दियामा बसोबास गर्दै आएको छ । बर्दिया रेडक्रशमा मृत्युको घोषणा गरेर सदगद् गरेकोले अब रेडक्रम र आईसीआरसीको तथ्यांक अनुसार १० जना मात्रै बेपत्ताको सूचिमा रहेका छन् ।
नेपाल सरकारको ०७९ फागुन १५ गतेको निर्णय अनुसार जुम्लाका १७५ जनालाई सहिद घोषणा गरेको छ । नेपालको राष्ट्रिय हित, लोकतन्त्र र अग्रगामी परिवर्तनको लागि भएको सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गरेका व्यक्तिलाई नेपाल राजपत्रमा प्रकाशित गरि सहिद घोषणा गरेको हो । तर तत्कालिन द्धन्द्धकालमा इन्सेकको तथ्यांक अनुसार २४८ जना व्यक्तिको मृत्यु भएको छ ।



