जुम्ला । तातोपानी गाउँपालिका वडा नं ८ डुंग्रीका प्रेम बहादुर शाहीको परिवार विगत साढे दुई महिनादेखि कोहि त्रिपालमुनी र गोठमा बस्दै आएका छन् । गत कार्तिक १७ गते जाजरकोट रामिडाँडा केन्द्रविन्दु भएर गएको भुकम्पको धक्काले प्रेमको घर पनि भत्कियो । सुतिरहेकै अबस्थामा घर हल्लीएपछि झटपट बाहिर आउन सफल सबै परिवार सकुशल भए ।
तर दुई वर्ष अघिमात्रै ऋण जोहो गरि निर्माण गरेको घर क्षतविक्षत भयो । केही कोठाका पर्खाल भत्किए भने,बाँकि सबै कोठा चर्किएर बस्नै नमिल्ने भएपछि प्रेम बहादुर शाहीको १२ जना परिवार कठ्याग्रिदो चिसोमा त्रिपालमुनि र गोठमा बस्न बाध्य भएका हुन् ।
उता जाजरकोट र रुकुमपश्चिममा भुकम्प पीडितले अस्थायी आवास समेत पाईस सकेका छन् । तर जुम्ला डुंग्री गाउँका प्रेम बहादुर शाहीको परिवार भने करिब ३ महिनादेखि पुस÷ माघको कठ्यांग्रिदो जाडोमा पनि त्रिपालमुनी बस्न बाध्य भएका छन् ।
क्षति भएको थाहा हुने बित्तिकै गाउँपालिकाबाट २ बोरा चामल र एक त्रिपाल र वडाबाट १ बोरा चामल तथा रेडक्रसले बाल्टी,कम्बल,खाधन्न बाहेक अन्य कुनै गतिलो राहत पाएका छैनन् ।
भुकम्पले क्षति गरेको करिब ३ महिना सम्म त्रिपालमुनि र गोठमा बस्नु परेको,बढ्दै गएको चिसोले वृद्दा आमा,साना छोराछोरी बिरामी पर्न थालेको कुरा थाहा पाएपछि कारोबारकर्मि सागर परियार लगायत चार जना पत्रकारको टोली पिडितको घरमै पुगेर स्थलगत रिपोर्टिङ गरेको छ ।
भुकम्पले घर लियो,करेन्टले हात,कसरी लगाउँ घर
भुकम्पले घर भत्किएपछि प्रेम बहादुर शाहीको परिवारलाई बज्रपात परेको छ । दुईवर्ष अघि मात्रै निर्माण गरेको तीन तले घर भत्किएपछि परिवारको विचल्ली भएको छ । ज्याला मजदुरी गरेरै परिवार पाल्दै आएका प्रेमलाई विहान बेलुका कसरी छाक टार्ने भन्ने चिन्ता छ । घर कसरी निर्माण गरु ?
प्रेम बहादुर शाही भन्छन,’विपदले पनि गरिबलाईनै थप पीडा दिदो रहेछ । मनका बेदना कसलाई सुनाई क्या पाइन्या छ । यहि घर निर्माण गर्दा लागेको ऋण तिर्न कालापहाड (भारत) गएको बेला करेन्ट लागेर बायाँ हात कुहिनादेखिनै काट्नु पर्याे । कमाउने अबस्था नभएपछि घर फर्किए । घर पुगेको ३÷४ महिना नपुग्दै भुकम्पले घर भत्कियो । खान लाउनै मुस्किल छ । घर कसरी निर्माण गरौ ? हामी जता गरिबका लागि सरकार पनि आफ्नो छैन् ।’

भारतमा मजदुरी गर्ने क्रममा करेन्ट लागेर घाइते भएका उनको बायाँ हात कुइनादेखि नै फाल्नुप¥यो। अहिले हातको हड्डी बढेकाले उपचार गराउनु पर्ने छ । तर, भूकम्पले घर भत्काएपछि न उनले अर्को घर बनाउन सकेका छन्, न उपचार गर्न ।
करेन्ट लागेर छोराको हात काट्नु पर्याे । भुकम्पले घर भत्कियो । त्यसपछि जिउने रहरनै मर्याे प्रेमकी ६५ वर्षिया आमा भगवती शाहीले भनिन,‘घरको भरोसा छोरा अपांग छ । कमाउने कोहि छैन् । त्यसैमाथि घर भत्कियो । पुस÷ माघको चिसाले प्राणनै लेला जस्तो हुन्छ । कोहि त्रिपाल र कोही गोठमा खान्छौ सुत्छौ । चिसोले स्वास्थ्यमा समस्या बढ्दै गएको छ । यो आपतबाट कसरी मुक्त हुनेहोला ? सबै आउछन् पीडा सुन्छन् । तर सहयोग कोहि दिदैनन् । छोराको अबस्था र परिवारको बिजोक देख्दा रुदै रात वित्छ ।’
त्रिपालमुनिकै बासले ६५ वर्षिय बृद्दा भगवती पनि विरामी परेकी छन् । ज्वरो आउने,खोकि लाग्ने,टाउको दुख्ने,शरीर सुनिने समस्या बढेको भन्दै भुकम्पले घर भत्काउनु,छोराको यो परिस्थिती देख्दा बाचेर बोझ भएको दुखेसो पोखिन् ।
पालिकाले दिएको पाल पनि च्यातिएर प्वाल परि सकेको छ । त्रिपालमा बसौ चिसोले प्राण जोगाउनै मस्किल छ । नबसौ ओत लाग्ने ठाउँ कतै छैन् । घर बनाउने स्थिती छैन । हिउँ परेपछि कसरी बस्ने भन्ने चिन्तालेनै पिरोल्न थालेको बृद्दा भगवती शाहीले सुनाईन् ।
आँसु पुछ्दै उनी थप्छीन,’कोही नहुनेको वडा पालिका छ । गाउँपालिका छ भनेर आशा मान्यौ । तर गाउँपालिकाले सरकारको प्रथामिकता जाजरकोट र रुकुममा भएकोले चामल,त्रिपाल बाहेक अरु राहत दिन नसक्ने भन्दै पालिका पन्छियो । प्रशासनले पनि केही राहत दिन्छ भन्ने सुनेका थियौ । तर प्रशासन बेखबर छ । चामल कम्बल भन्दा सहयोगीदाताले घर बनाउने राहत दिएको भए,परिवारलाई ओत लाग्न सहज हुन्थ्यो भन्ने आशा छ ।’

’साना बच्चा,बृद्द आमा,श्रीमतीको बिचल्ली देख्दा र आफ्नो अबस्था नियाल्दा परिस्थिती सामु निरह बन्छु । करेन्टले हात काटिनु,भुकम्पले घर कत्किनु मेरा लागि ठुलो बज्रपात भयो । परिस्थितीको दास हुनु बाहेक म संग विकल्प छैन् । सरकार तथा कुनै गैससले सहयोग गरि घर बनाईदिने दाताको पर्खाईमा छौ ।’ भगवतीका छोरा दिपकले भने ।’
छोरा छोरी,बृद्दा आमा चिसाले विरामी पर्न थालेपनि दिपकको परिवारलाई त्रिपालमुनि बस्नुको विकल्प छैन् । दिपकको परिवार संग डुंग्री गाउँका कर्णबहादुर शाहीको परिवार पनि घर भूकम्पले घर भत्किएपछि विस्थापित छन् । उता टोप्ला गाउँका लाल बहादुर शाहीको परिवार पनि जोखिम मोलेरै बसेका छन् ।
भुकम्पले एकातिरको पुरै पर्खाल भत्कीएपछि अन्त बस्ने ठाउँ नहुँदा जोखिम मोलेरै त्यहि घरमा बस्नु परेको लाल बहादुरका छोरा प्यारजंग शाहीले बताए । उनले भने,‘पालिकाको टोली पटक पटक आएर हेरेर फर्कियो । तर राहत कतैबाट आएन् । जाजरकोट र रुकुममा बढि क्षति भएकोले हामीलाई सरकारले नदिएको सुनियो । तर हामी पनि जोखिममा छौ ।१२ जनाको परिवार विचल्लीमा छ । सरकार हाम्रा पीडा प्रति अनुदार छ ।’
गाउँपालिकाले दिएको चामल, एउटा सिरक, एउटा डसना, एउटा ब्ल्यांकेट र एक त्रिपालले मात्रै सारा जीन्दगी नचल्ने भएको विस्तापित परिवारलाई घर निर्माणका लागि आबश्यक पहल गर्न जरुरी छ ।
तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले डुंग्री भुकम्प पिडितका सन्दर्भमा पालिकाले सक्नेजत्ती राहत दिएको पालिकाबाट तत्काल घर बनाईनेदिने स्थिति नरहेको बताएका छन्। उनका अनुसार सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरर्गत छाना छाउन ७३ हजार सम्म दिन सकिने छ । तर यसअघि छाना छाएका नागरिकलनै भुक्तानी नपाएकोले छानाको बजेट भनेकै समयमा पिडितले पाउने टुंगो पनि छैन् । अर्काेतिर प्रेम शाही संग घरको जग खन्न सम्म आर्थिक नभएकोले सिधै छाना फेर्ने बजेटले उनको आबश्यकता पुर्ति नहुने देखिन्छ ।
यता जिल्ला प्रशासनको विपद व्यवस्थापन कोषले पनि प्रेम शाही जस्ता पिडितलाई कुनै राहत दिन सकेको छैन् । नत राहत दिएको छ । नत राहत जुटाउन सरकार संग पहल नै गरेको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे भुकम्प पिडितका समस्या समधान गर्न मात्र नभई जिल्लाका सबै विषयमा बेखवर जस्तै छन् । भैहाल्छ हुन्छ पहल हुन्छ भन्ने बाहेक उनले जिल्लामा परिणाममुखी काम गरेका अबस्थानै छैन् । जसका कारण नागरिकले प्रशासनको अनुभूति समेत गर्न पाएका छैनन् ।



