अध्यक्षमा सहमती नजुट्दा महत र गिरी चुनावी मैदानमा,पछाईको उम्मेदवारी फिर्ता

जुम्ला । एमाले जुम्लाको नवौँ जिल्ला अधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष शान्तिलाल महत र नेता धिरेन्द्र राज गिरी चुनावी मैदानमा उत्रिएका छन् । भने यसअघि अध्यक्षमा उम्मेदवारी दिएकी महिला नेतृ मेनका पछाईले भने आफ्नो उम्मेदवारी फिर्र्ता लिएकी छन् ।

प्रतिष्प्रर्धी शान्तिलाल महत र धिरेन्द्रराज गिरीबीच सहमती हुन नसकेपछि अन्ततः अध्यक्ष लगायत पदाधिकारीका लागि निर्वाचन भएको हो । महत र गिरीको प्यानल यतिबेला चुनावी मैदानमा छ । विहान ७ बजेदेखि भएको मतदान कार्य दिउँसो १२ बजे सम्म चल्ने छ ।

आफ्नो उम्मेदवारी फिर्ता लिदैँ मेनका पछाईले भनिन‘सहमति मै जिल्ला नेतृत्व छनोट हुने उद्देश्यले उम्मेदवारी दिएकी हुँ । तर भएन, अन्तिममा चुनाव नै हुने भयो । चुनाव हुने भए पछि मैले उम्मेदवारी फिर्ता लिए ।’

यस्तै, उपाध्यक्षमा प्रेम बहादुर बुढा र पदम बहादुर बुढाको उम्मेदवारी परेको छ । सचिव पदका लागि आदीप्रसाद न्यौपाने र मानबहादुर रोकायाको उम्मेवारी रहेको छ । उपसचिव पदका लागि धमेन्द्र रोकाया, मेनका रेग्मी, सुशिला भट्टराई र धनबहादुर बुढाको उम्मेदवारी परेको छ । नयाँ नेतृत्व चयनका लागि आज बुधबार नै भोटिङ हुने निर्वाचन कमिटिका प्रमुख निर्वाचन अधिकृत मीनबहादुर महतले जानकारी दिए ।

जुम्लाका ८ वटै स्थानीय तह र जनवर्गिय संगठनबाट गरी कुल ३४४ जना प्रतिनिधिले अधिवेशनमा भाग लिएका छन् । जसमा खुल्ला प्रतिनिधि २६३ जना छन् । यस्तै दलित प्रतिनिधि ५० जना मध्ये ३३ प्रतिशतका दरले १६ जना महिला प्रतिनिधिले अधिवेशनमा भाग लिएका छन् ।

विभिन्न जनसंगठनबाट ३१ जना, गैर दलित महिलातर्फ ८७ जना प्रतिनिधि मध्ये १५ प्रतिशत युवा महिला प्रतिनिधिमा आएको नेकपा एमाले अधिवेशन प्रचार प्रसार संयोजक सुमन आचार्यले बताए । २६३ प्रतिनिधि मध्येबाट ३९ जना युवा जिल्ला अधिवेशनमा प्रतिनिधिका रुपमा आएका छन् । जिल्ला अधिवेशनले पाँच जना पदाधिकारी सहित ९० सदस्यीय जिल्ला कमिटी चयन गर्ने छ ।

यो पनि पढ्नुहोस्…..

प्रकाशित मिति : २०८१ बैशाख १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस