कर्णालीका दुई मौसम केन्द्र स्तरबृद्धि गरिदै

जुम्ला – माथिल्ला कर्णाली जुम्ला र मुगुमा राखिएको मौसम केन्द्रको स्तरबृद्धि गरिने भएको छ । जुम्ला र कालिकोट जिल्लाको सिमा क्षेत्र नाग्ममा रहेको मौसम केन्द्र र मुगु जिल्लामा रहेको मौसम केन्द्रको स्तरबृद्धि गरिन थालिएको हो ।
द स्मल अर्थ नेपाल र यूएसएआइडीको साँझेदारीमा बायोडाइभर्सिटी (जल जंगल) द्वारा समर्थित “अनुकूलन र विशिष्ट स्थान मौसम पूर्वानुमान मार्फत अनुकूलनका लागि जलवायु सेवाहरू सुधार गर्दै“ परियोजना अन्तर्गत गुठीचौर गाउँपालिका – ५ देपाल गाउँमा साउन १३ गते सञ्चालन गरिएको सरोकारवालाहरुसंगको छलफल गोष्ठीमा यस्तो बताएको हो ।
यस परियोजनाको मुख्य उद्देश्य जलविज्ञान तथा मौसम विज्ञान विभाग र उच्च शिक्षा विभागको तथ्याङ्क, संख्यात्मक मौसम पूर्वानुमानको स्रोतहरू प्रयोग गरी स्थानीय समुदायलाई पहुँच र प्रयोगकर्ता मैत्री मौसम पूर्वानुमान जानकारी प्रदान गर्नु हो ।
यस परामर्श कार्यशालाको उद्देश्य स्थानीय समुदाय विशेष गरी साना कृषकहरूको आवश्यकता अनुसार प्रासंगिक मौसम मापदण्डहरू पहिचान गरी स्थानमा आधारित मौसम सूचना सेवाहरूको लागि प्राथमिकता दिनु रहेको जनाएको छ ।
कार्यशालामा अध्यक्ष डा. धिरज प्रधानाङ्गाले मौसम र जलवायु सेवा र उत्पादनहरू र तिनको उपयोगिताबारे प्रश्नावली र चेकलिस्टहरू प्रयोग गरेर सामूहिक कार्यको क्रममा प्रस्तुतीकरण गरेका हुन् । स्थानीय सरोकारवालाहरूसँग छलफल गर्न, मौसम मापदण्डहरूलाई प्राथमिकता दिई र उनीहरूलाई आवश्यक मौसम पूर्वानुमान जानकारीको प्रकार पहिचान गरिएको उनले बताए ।
मौसमी गतिविधिका कारण देशले कृषि, पूर्वाधार र मानव जीवनलाई खतरामा पार्ने खडेरी, बाढी र पहिरो जस्ता प्रकोपहरुको बढ्दो सामना गरिरहेको छ र भविष्यमा अझ बढी सामना गर्नु पर्ने स्थिति रहेको आंकलन छ ।
समयमै मौसम तथा जलवायु सम्बन्धि जानकारीको अभावले विभिन्न क्षेत्रहरु (जस्तै कृषि, बाढी, पहिरो व्यवस्थापन, पूर्वाधार विकास, उर्जा, पर्यटन तथा व्यापार) बढी प्रभावित भएका छन् ।
तसर्थ यस प्रकारको परियोजनाहरुका लागि स्थानीय तहको योजना र निर्णय प्रक्रियाहरूमा समावेस परियोजना गर्न पहल गर्ने जनाएको छ ।
स्थानीय समुदायहरुको आवश्यकता अनुसार कृषि मौसम विशेष बुलेटिन तयार गर्न सहज हुने छ ।
पहुँचयोग्य, सरल र प्रयोगकर्ता मैत्री मोबाइल एप बनाई मौसम पुर्वानुमानको जानकारी उपलब्ध गराउनु र मोबाइल एप प्रयोग गर्न सहज हुने छ ।
मौसम पूर्वानुमान सुचनाहरू एसएमएसबाट उपलब्ध गराउनुका साथै परियोजनाबाट प्रदान गरिएका मौसम जानकारी, प्रविधि र प्रणालीहरुमा सरोकारवालाहरुको सल्लाह सुझाब र प्रतिक्रिया लिई थप प्रभावकारी हुने छ । कर्णालीको दुईसहित पाँचवटा स्वचालित मौसम मापन केन्द्रमा स्तर उन्नती साथै नयाँ जडान गरि, तथ्यांक जल तथा मौसम विज्ञान विभागको तथ्यांक व्यवस्थापनमा समेत सम्प्रेषण गर्ने छ ।

प्रकाशित मिति : २०८१ साउन २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस