जुम्ला । जुम्लाको हिमा गाउँपालिका पर्यटकिय गन्तव्य रुपिछडा झरनाको पर्यटन प्रर्वद्दनमा जुटेको छ । हालमा चर्चामा नआएको र गुमनाम पर्यटकिय गन्तव्य रुपिछडा झरनाको प्रर्वद्दनमा पालिका जुटेको हो । हिमा गाउँपालिका वडा नं ५ स्थित रुपिछडाको प्रर्वद्दन गरि पर्यटक भित्र्याउने र आर्थिक समृद्दीमा टेवा पुराउने उदेश्य सहित पालिका अग्रसर भएको छ ।
हिमामा कृषि,धार्मिक पर्यटन,पर्यापर्यटन लगायतका थुप्रै सम्भावना रहेका छन् । ती मध्य पर्यापर्यटनको प्रर्वद्दन र स्थानीय स्रोतको परिचालन गरि समृद्द पालिका बनाउन सकिने सम्भावना रहेका छन् ।
रुपिछडा झरनाको प्रर्वद्दनका पहिलो चरणको अध्यायनका लागि हिमा गाउँपालिकाको प्राविधिक टोली पुगेको छ । हिमा गाउँपालिकाका प्राविधिक शाखा प्रमुख तोरण खड्काको नेतृत्वमा झरनाको अवलोकन गर्न टोली पुगेको हो ।
प्राविधिक शाखा प्रमुख ईन्जिनियर तोरण खड्काले रुपिछडा झरनाको प्रारम्भीक प्रतिवेदन पालिकालाई बुझाउने बताए । उनका अनुसार प्राविधिक टोली झरनाको अवलोकन गरेर फर्किएको छ । रुपिछडा झरना प्रर्वद्दनका लागि त्यहाम्म पुग्ने पद मार्ग निर्माण,प्रचार प्रशार,नाँपजाँच लगायत कामलाई अघि बढाईने हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताए ।
झरनाको अवलोकन र पहिचानका लागि प्राविधिक टोली पठाईएको हो । अध्यक्ष शाहीले भने,’प्राविधिक टोलीले एक हप्ताभित्र झरनाको नापँजाच सहितको प्रतिवेदन बुझाउने छ । त्यसपछि प्रचार प्रशार देखि पर्यटन पूर्वाधार विकासको कामलाई अघि बढाईने छ ।’

भौगोलिक रुपमा विकट रहेको र नाग्म–गमगडी सडकदेखि टाढा रहेकाले कहाँ सम्म सडक निर्माण गर्ने कहादेखि पदमार्ग बनाउने विषयमा प्राविधिक टोलीको सिफारिसमा योजना तय गरिने अध्यक्ष शाहीको भनाई छ ।
रुपिछडा झरना विगतदेखी रहेपनि प्रचार प्रशार र प्रर्वद्दनको अभावमा गुमनाम रहेको थियो । हिमाले पछिल्लो वर्षमा नीतिगत रुपमा रुपिछडाको प्रर्वद्दन गर्ने अभियान थालेको छ । नाग्म–गमगडी सडकको छेउमै पर्ने बाजागाडा गाउँदेखि ५ घण्टाको दुरीमा रहेको झरनाको प्रर्वद्दनले हिमाको आर्थिक आर्थिक विकास र रोजगारी सृजनामा टेवा पुराउने अपेक्षा गरिएको छ ।
झरनाका आर्कषण र समस्या
हरियाली भिरपाखा र खोलाको फेदिमा स्याउका ठूला ठूला बगैंचा हुँदै यात्रालाई थप रोमाञ्चक गर्न सकिन्छ । ठाँउ ठाँउमा बस्नका लागि रुखका छहारी सँगै बर्खामा गाई भैंसी राख्ने गोठ पनि बाटो छेउ नजिक पर्ने गर्दछन्। जसले गर्दा यात्रामा पानी पर्दा यी गोठ तिर ओत लाग्न सकिन्छ ।
भर्खरै झरनाको भ्रमण गरि फर्किएका शिक्षक महेश रावल भन्छन्,‘बाटोमा पर्ने साना साना खोलाको कलकल आवाज विभिन्न प्रकारका फूलहरु हरियो कार्पेट फिजे जसरी फिजिएको घाँस आदि प्रकुतिका अनेक सिंगारपटारले पैदलयात्रीलाई स्वागत गरिरहेका हुनेछन्।झरनालाई अंगालोमा राखेर बसेका जंगलका बोटविरुवा, रुख, घाँसे मैदान जडिबुटीका अनमोल रत्न पाइने पनि गर्दछन ।’


बसन्त ऋतुमा गुँरासका फूल फुल्दा झरना बेहुली जस्तै सिँगारिएको हुन्छ । त्यो दृष्य हरेकको मन झट्टातान्छ । झरनाको सुन्दरताले घण्टौ उकालो हिडेको थकान छिनमै मेटाईदिन्छ ।
उनले थपे,‘यति सुन्दर प्रकृतिको वरदान हुँदाहुँदै पनि यो झरना हालसम्म गुमनाम नै रहेको छ। शहर बजारमा कृत्रिम रुपमा बनाइएका केहि स्थलहरु रातारात सामाजिक संजालमा भाइरल भएको र घुम्नको लागि भिड भइरहेको अवस्थामा यो झरना गुमनाम हुनु दुःखद् हो ।’ बाटोको समस्या, यातायातको असुविधा, दुर दराजमा रहेको सरकारको नजर नपरेको र यसको प्रचार प्रसारमा कमी जस्ता कारणले यो झरना गुमनाम हुन पुगेको हो ।
पछिल्लो समय पालिकालेचासो राखेपनि प्रर्वद्दनको लागि ठोस नीति नबनाएकोले पालिकाले विशेष ध्यान दिनु पर्ने समेत उनको सुझाव छ । रुपिछडा लाई हिमाको पहिचान बनाउन पालिकाले विशेष नीति लिन जरुरी छ ।



