प्रसिद्ध चन्दननाथ भैरबनाथ मन्दिरका लिंङ्गा फेरियो,घरघरमा राखियाे जमरा

जुम्ला । कर्णालीकै प्रसिद्ध धार्मिक पर्यटन गन्तव्य चन्दननाथ भैरबनाथ मन्दिरको लिंङ्गो फेरिएको छ । हरेक वर्ष घटनास्थापनाका दिन पुरा लिंङ्गा ओरालेर नयाँ लिंङ्गा प्रतिस्थापन गर्ने प्रचलननुसार विधिवत पुजा आजा सहित हजारौ भक्तजन र तथा सुरक्षानिकायको उपस्थितीमा लिंङ्गा फेरिएको हो । लिङ्गा फेरिए संगै जुम्लाका घरघरमा जमरा राखिएकाे छ । भने दशैपनि सुरु भएकाे छ ।

१० औँ शताब्दी पहिलेदेखि चन्दननाथ मन्दिरमा लिंङ्गा फेर्ने चलन रहेको स्थानीय पुजारी विष्णु उपाध्यायले बताउनुभयो । उहाँका अनुसार तिब्बतसंग तत्कालीन जुम्ला राज्यको जीत पछि विजय स्तम्भका रुपमा एउटा लिंङ्गो,अर्को देवी भगवती नाममा गरी चन्दननाथ र भैरबनाथ मन्दिरमा चार वटा लिंङ्गा फेर्ने गरिएको छ ।

जुम्ला आउने सबै पर्यटकका लागि भ्रमण अवलोकन गर्ने मुख्य गन्तव्यका रुपमा रहेको चन्दननाथ भैरबनाथ मन्दिरको प्रर्बद्धनमा स्थानीय भक्तजनदेखि सरकारी निकायको सक्रिय छन् ।  

कर्णाली प्रदेशकै प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरको ५२ हातको नयाँ लिंङ्गा फेरिएसंगै जुम्लामा घरघरमा घटस्थापना भित्रायउने चलन छ । भने मन्दिरको माटो लिएर खेतमा राख्दा उब्जनी हुने समेत मान्यता रहेको छ ।  

आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषण गर्न लिंङ्गा फेर्ने परम्परालाई निरन्तरता दिनु पर्ने चन्दननाथ भैरवनाथ मन्दिर गुठि व्यवस्थापन समितिका अध्यक्ष अमर थापाले बताए । उनका अनुसार केहि हप्तादेखि पर्यटकको मागलाई मध्यनजर गरी हरेक हप्ताको सोमबार आरती समेत लगाउने गरिएको छ ।
चन्दननाथ मन्दिरमा ५२ हाते लिंङ्गा र ५२ हाते ध्वजा  राख्ने चलन छ । भने भैरवनाथ मन्दिरको लिंङ्गा ४८ हातको लिंगा र ४८ हातकै ध्वजा राख्ने चलन रहेको छ । वर्षमा ५२ हप्ताहुने भएकाले वर्षभरि नै चन्दननाथ र भैरवनाथले रक्षा गरुन् आस्थाले ५२ हाते लिङ्गा सहित ध्वजा राख्ने प्रचलन रहेको संस्कृत सम्बन्धी जानकार व्यक्ति रमानन्द आर्चायले बताए ।

घटस्थापनाकै दिन उत्पादन वृद्धि होस, भोकमरी नहोस भन्ने कामना सहित चन्दननाथ भैरबनाथ मन्दिरमा मार्सीधानको सिक चडाउने समेत प्रचलन छ । भने । उत्पादन बढाउन मन्दिरको माटो लिने पनि गर्छन् ।

आर्चायले भने,‘पर्यटकहरुको सहजतका लागि गुठिले मन्दिरको महत्व र एतिहासिकता झल्कीने गरी अभिलेख राख्नु पर्ने । हेल्पडेस्क तयार गर्न पनि जरुरी छ । मन्दिरको संरक्षणमा स्थानीयको सक्रिया उस्तै छ । तर विगतको जस्तो बाहिरी जिल्लाबाट आउन छोडेका छन् ।’

एक दशक पहिलेसम्म लिङ्गा फेर्न तत्कालीन कर्णाली अञ्चलका जिल्लाबाट विभिन्न बस्तु पठाउने चलन थियो । जुम्लाबाट अन्न र पैसा, कालिकोटबाट बाबियो, घिउ, मह आउथ्यो । हुम्लाबाट ठेटुवा, चौरी फुर्को र थाप्का आउथ्यो भने मुगुबाट मास, मुगी दाल, राडीपाखी, ठेटुवा र चौरी पठाइन्थ्यो । तर त्यो अहिले सबै रोकिएको छ ।

जुम्लामा पहिलो चन्दननाथ बाबालेनै १२ सय सताब्दीतिर मार्सीधानको खेतीको सुरुवात गरेको किवन्ती छ । चन्दननाथ भैरबनाथ मन्दिरलाई कर्णालीकै उत्कृष्ट धार्मिक पर्यटन गन्तव्य बनाउन तीनै तहका सरकारले ठोस नीति र बजेट छुटाउनु पर्ने यूवा रामसिंह रावल बताउँछन् ।

‘पुरातात्विक महत्व बोकेको मन्दिरकै आडमा ठुला ठुला भवन बनेका छन् । पर्यकटले चाहेको जस्तो अभिलेख पाउन सकेका छैनन् । गुठिले व्यवस्थापनमा विशेष ध्यान दिन जरुरी छ’,उनले भने ।’

प्रकाशित मिति : २०८१ असोज १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस