उमेर पुगी विवाह गर्नेलाई पातारासीको बधाई पत्र

जुम्ला – जुम्लाको पातारासी गाउँपालिका सवै भन्दा बढी बालविवाह हुने पालिकाको रुपमा परिचित थियो । तर पछिल्लो समयमा बालविवाह न्यूनिकरण हुदै गएको छ । गाउँपालिकाले विभिन्न गैरसरकारी संस्थासँगको सहकार्यमा बालविवाह न्यूनिकरण अभियान सञ्चालन गर्दै आएपछि उमेर पुगेपछि विवाह गर्ने दर बढ्दै गएको हो ।
गाउँपालिकाले बालविवाह सम्वन्धी कानुनी सचेतीकरणदेखि विभिन्न चेतनामुलक कार्यक्रम गर्दै आएको छ । यस्तै गाउँपालिकाले उमेर पुगेर विवाह गर्ने नव जोडीलाई बधाई प्रमाण पत्र प्रदान गर्ने गरेको छ । यस्ता सकारात्मक सन्देश फैलाउने कामले पक्कै पनि बालविवाह रोकथाममा महत्वपूर्ण भुमिका खेल्र्ने विश्वास गरिएको छ ।
पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख भगवती गिरीका अनुसार हरेक वर्ष विवाह गर्ने महिनामा प्रहरी, जनप्रतिनिधि, महिला बालबालिका शाखा, बाल क्लव र अनुगमन, ¥याली अभियान अन्तरक्रिया सडक नाटक प्रदर्शन, बस्ती बस्ती, मावि स्तरका विद्यालय, समुदायमा जाने, सचेतना कार्यक्रम गर्ने लगायतका काम निरन्तर भई रहेका छन् ।
यो वर्ष पनि मंसिर १ देखि ७ गतेसम्म अभियान सकिए लगत्तै शनिबार यो भन्दा पहिला बाल विवाहको प्रयास बढी हुने उक्त वडामा विवाहित नयाँ जोडीलाई बधाई पत्र दिएर यो कार्यको सुरुवात गरिएको उनको भनाइ छ ।
बाल विवाह न्युनिकरणका कार्यक्रमको प्रस्ताव राख्दा अध्यक्ष पूर्णसिंह बोहोरा, उपाध्यक्ष जनमाया रोकाया लगायत सबै जनप्रतिनिधिले सहयोग गर्ने गरेको महिला बालबालिका शाखा प्रमुख गिरीले बताइन् ।
“उमेर पुगेपछि मात्र विवाह गर्ने प्रचलनलाई प्रवर्द्धन गर्न यो उपाय अपनाइएको हो,” उनले भनिन्, “यसले नयाँ पुस्तामा सही सन्देश पु¥याएर बालविवाह गर्ने परम्परागत हानिकारक अभ्यास अन्त्य गर्न सहयोग पु¥याउने विश्वास छ।”

सोही योजना अनुरुप पातारासी गाउँपालिका वडा नम्बर ७ रिनीका अर्जुन खड्का र लालमाया बुढा(खड्का)लाई पहिलो बधाई पत्र प्रदान गरिएको उनले बताइन् ।
यो जोडीले २० वर्ष उमेर पूरा गरी विवाह गरेकाले बालविवाह न्यूनीकरणको लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेको भन्दै सम्मान गरिएको हो ।
“बाल विवाह नगर, गर्नु हुँदैन” भन्दै गर्दा नकारात्मक असर बढि देखिने भएकोले सकारात्मक सन्देश फैलाउनका लागि उमेर पुगेर विवाह गर्ने जोडिलाई बधाई पत्र दिन सुरु गरिएको हो । यसपछि उमेर पुगेका विवाहलाई आत्मनिर्भरतासँग जोडिने गिरीको तर्क छ ।
बधाई पत्रमा उल्लेख गरिएको सन्देश यस्तो छ, “तपाईंहरूको जोडीले २० वर्ष उमेर पूरा गरी विवाह गरेर बालविवाह न्यूनीकरणमा प्रेरणादायी भूमिका निर्वाह गर्नुभएकोमा हार्दिक बधाई तथा सफल र सुखद दाम्पत्य जीवनको शुभकामना ।”
बधाई पत्र वडाध्यक्ष, वडा सचिव र महिला तथा बालबालिका शाखा प्रमुखको हस्ताक्षरसहित प्रदान गरिएको थियोे ।
पातारासीको वडा नम्बर ५ बालविवाहमुक्त वडा घोषणा भइसकेको छ भने अन्य वडाहरूलाई पनि यो अभियानमा सहभागी गराउन योजनाहरू अघि बढाइएको गिरीले बताइन् । बालविवाहजस्तो सामाजिक कुरीतिलाई रोक्न यस्तो सकारात्मक पहलको स्वागत भइरहेको छ ।
यो कार्यक्रमले युवा पुस्तालाई सशक्त बनाउन र उमेर नपुगि विवाह गर्ने अभ्यासलाई जरैदेखि उखेल्न योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर १० गते आइतवार
प्रतिक्रिया दिनुहोस