जुम्ला – सर्बाेदय विकासका लागि अभियान नेपाल (सर्बाेदय नेपाल) जुम्लाको २१ औँ चुनावी साधारणसभा सम्पन्न भएको छ । यहाँको सदरमुकाम खलंगास्थित काञ्जिरोवा होटलमा मंसिर १२ गते २१ औँ बार्षिक चुनावी साधारण सभा सम्पन्न भएको छ । बार्षिक चुनावी साधारण सभाले पुनः नारायणी चौलागाईको नेतृत्वमा कार्यसमिति चयन गरेको छ ।
अध्यक्षमा नारायणी चौलागाई, उपाध्यमा छोर्गे साम्बोलामा, सचिवमा रेवती रावल, कोषाध्यक्षमा मेनका रेग्मी र सदस्यमा टोमा लामा, झनमाया जैसी, रेविका सुनार रहेको छन् ।

यस्तै बार्षिक साधारण सभामा आर्थिक र प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । साथै संस्थाको सामाजिक परिक्षण प्रतिवेदन पनि सभामा प्रस्तुत गरिएको थियो । सर्बाेदय नेपाल जुम्लाका कार्यकारी निर्देशक कमलराज खत्रीले भने, लैगिंक समनता तथा सामाजिक समावेशिता, खाद्य सुरक्षा तथा कृषि उत्पादनमा प्रवर्धन, प्रजनन स्वास्थ्य तथा पोषण, जैविक विविधता तथा वातावरण संरक्षण र खानेपानी तथा सरसफाई संस्थाले काम गर्दै आएको छ ।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले जिल्लाका गैरसरकारी संस्थाले विशेषगरी सामाजिक क्षेत्रमा काम गर्दै आएको बताए । उनले भने, सर्बाेदय नेपाल जुम्लाले पनि जिल्लामा बालविवाह न्यूनिकरण, महिला हिंसा विरुद्ध, आयआर्जन र महिला सशक्तिकरणका विषयमा राम्रो काम गर्दै आएको छ ।



