जुम्ला – पातारासी गाउँपालिका –३ हुरिमहरी जाने सडक हुरिगाड खोलाको मोटरयवल काठेपुलमा अज्ञात समुहले आगजनी गरेपछि आवतजावत प्रभावित भएको छ ।
करिब १५ मिटर लामो काठेपुलमा पुस १७ गते राती आगजनी भएपछि पूर्ण रुपमा क्षति भएको छ । हुरीमहरी गाउँ सरस्वति प्राथमिक विद्यालय हुरीमहरी जाने बाटोमा निर्माण भएको काठेपुलमा आगजनी भएपछि विद्यार्थीलाई पनि समस्या भएको गाउँपालिका अध्यक्ष पुर्णसिह बोहोराले बताए ।
पुलमा आगजनी भएपछि महरीका ६० घरधुरी र हुरीका १ सय ८० घरधुरीलाई यातायात मार्फत लगिने दैनिक उपभोग्य सामान लिन समस्या भएको वडाध्यक्ष गोविन्द रावतले बताए । जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी छेदिलाल कामतिका अनुसार घटनाका विषयमा अनुसन्धान भईरहेको छ । घटना स्थल तर्फ इस्प्पेक्टरसहित दुई वटा प्रहरी टोली परिचालन गरिएको छ ।
प्रकाशित मिति : २०८१ पुष २० गते शुक्रवार



