बजार अनुगमनको प्रभाव : व्यापारी सचेत

जुम्ला – बजार अनुगमनको प्रभाव व्यापारीहरुमा परेको पाईएको छ । पटक पटकको अनुगमनबाट व्यापारीहरु सामान विक्रिमा सचेत भएको पाईएको हो । मंगलबार उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको अगुवाईमा सहायक प्रमुख जिल्ला अधिकारी मिनवहादुर रावलको नेतृत्वमा भएको अनुगमनका क्रममा सुधार भएको पाईएको हो ।

व्यापारीहरुले मिति सकिएका सामानको विक्रि वितरण कम गर्ने गरेको भेटिएको छ । व्यवसाय दर्ता नविकरण, नापतौल प्रमाण, अन्तशुल्क, खरिद बिल, उत्पादन स्थलको सरसफाई, भाँडा तथा मेसिनको सरसफाई, गोदामको अवस्था, मुल्य सूचि र लेबलमा खुलाउनु पर्ने कुराहरुमा सुधार भएको रावलले बताए । यस्तै अनुगमनका क्रममा म्याद सकिएको वस्तुहरु छुट्टै नराखेको, बिलिङ नभएको र केहि ठाउँमा गोदामको सरसफाई नभएको उनको भनाइ छ ।

विगतका अनुगमनमा जाँदा सुधार गर्नका लागि सुझाव दिनु परेको बताउँदै उनले यस पटकको अनुगमनमा धेरै कुरामा सुधार भएको उनले बताए । विभिन्न समयमा गरिएको अनुगमनबाट व्यापारीहरु सचेत भएको रावलले भने । यस्तै उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका हरिवहादुर भण्डारीले उपभोक्ताको हितलाई मध्येनजर गर्दै बजार अनुगमन भएको बताए ।

निरन्तरको बजार अनुगमनले सकारात्मक प्रभाव पारेको उनको बुझाई छ । खुद्रा तथा होलसेल पसलबाट सामान लिदा बिल अनिवार्य लिन उनले उपभोक्तालाई सुझाए । भण्डारीका अनुसार, बजार अनुगमनका क्रममा म्याद सकिएका सामान भेटिए पनि व्यापारीको बानीमा सुधार आएको छ । प्रत्येक महिनामा भएको अनुगमन व्यापारी र उपभोक्ता सचेत भएको भण्डारीको भनाई छ । मंगलबार जुम्ला बजारका चारवटा पसलहरुको अनुगमन गरिएको छ ।

सागर ट्रेडस, लुना स्टोर एण्ड सप्लायर्स, अदिबा कसमेटिक पसल र थानेश्वर पोख्ररेलको अनुगमन गरिएको हो । लुना स्टोर एण्ड सप्लायर्स र अदिबा कसमेटिक पसलबाट १२ हजार ९ सय २५ रुपैयाँ बराबरको सामान बरामद भएको भण्डारीले बताए । म्याद सकिएको सामानहरु अनुगमनका क्रममा भेटिएको उनको भनाइ छ । बरामद भएका सामानहरु प्रहरी प्रशासन, पत्रकार र अनुगमनमा सहभागीहरुको रोहोबारमा नष्ट गरिएको छ । साथै स्थानीय तहका उपप्रमुखलाई बजार अनुगमनका लागि अधिकार प्रत्यायोजन सरकारले गरि सकेको छ ।

सबै स्थानीय तहलाई अधिकार दिए पनि बजार अनुगमन प्रभावकारी नभएको गुनासो उपभोक्ताले गर्दै आएका छन् । हरेक वस्तु तथा सेवाको गुणस्तर र मूल्य अनुगमन चाडपर्वका बेलामा मात्र नभई नियमित गर्नुपर्ने सुझाव दिएका छन् ।

प्रकाशित मिति : २०८१ माघ ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस