जुगाडखोला करिडोर निर्माण भईरहेको क्षेत्र । तस्बिरः कर्णाली मिसन
जुम्ला । जुम्ला सदरमुकाम खलंगामा निर्माण भईरहेको जुगाड खोला करिडोरमा यहाँका राजनीतिक दलले विशेष चासो राखेका छन् । सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको करोडौ लगानी तथा चन्दननाथ नगरपालिकाको सहजीकरणमा निर्माण हुने उक्त करिडोर विपद् प्रतिकार्य र गुणस्तरीय हुनुपर्नेमा दलहरुले चासो राखेका हुन् ।
पुष २१ गते जिल्ला समन्वय समितिमा बसेको बैठकले निर्माणधिन जुगाड करिडोर गुणस्तर एवम् विपद् जोखिमलाई मध्यनजर गर्दै निर्माण गर्नुपर्ने सुझाव दिएका हुन् । खलंगा बजारको बीच भागबाट बगेर तिला नदीमा मिसिने जुगाड खोलामा वर्खाको सिजनमा ठुलो बाढी पहिरो आउने र आसपासका घरमा बाढी पस्ने समस्या छ ।
करिडोर निर्माणपछि साँघुरिएर थप जोखिम बढ्न सक्ने भन्दै भविष्यमा आईपर्ने त्यस्ता विपद्लाई ध्यानमा राखी निर्माण गर्नुपर्ने नेकपा एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महतले सुझाव दिए । कर्णालीको अंचल सदरमुकाम जुम्लामा रहेको जुगाड खोलालाई संरक्षण प्रर्बद्धन गर्न करिडोर निर्माण गर्नु सुखद पक्ष हो । उनले भने,‘तर त्यहाँ बन्ने हरेक संरचना विपद् प्रतिकार्य हुनुपर्यो । वर्षा हुँदा पूल छुने गरी बाढी आउँछ । करिडोर बनीसकेपछि पनि त्यस्तै जोखिम निम्तीएमा अहिलेको करोडौ लगानी उपलब्धी विहिन हुन सक्छ । त्यसैले दिर्घकालीन असरलाई ध्यानमा राखेर निर्माण गर्न जरुरी छ ।’
त्यस्तै नेपाली काँग्रेसका पार्टी सचिव अर्जुनसिंह कठायत र नेकपा माओबादी केन्द्रका नेता ललितजंग महतले पनि निर्माणधिन जुगाड खोला करिडोर विपद् प्रतिरोधात्मक हुनु पर्ने उल्लेख गरे । खोला आसपास बस्तीहरु रहेको र करिडोर निर्माणपछि त्यसभित्र थुप्रै संरचना पनि बन्ने हुँदा अहिलेनै सावधानी अपनाउनु पर्ने माओबादी नेता ललितजंग महतले बताए ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले करिडोर निर्माणमा दलहरुले राखेको चासो स्वभाविक रहेको र उठेका सुझाव सम्भावित जोखिमलाई मध्यनजर गरी करिडोर निर्माण गर्नुपर्ने उल्लेख गरे । चन्दननाथ नगरपालिकाकी उपप्रमुख रामदेवी खड्काले खंलगालाई पर्यटकीय शहरका रुपमा विकास गर्न जुगाड खोला करिडोर निर्माण गर्न लागिएको बताईन् । विगतमा दुर्गन्धीत खोलाका रुपमा हेरिएको जुगाड खोलालाई मान्छेको भीड लाग्ने गरी पार्क सहितको करिडोर निर्माण गरिने उनको भनाई छ ।
रेडियो कर्णालीका स्टेशन म्यानेजर गोरख बहादुर थापाले जुगाड खोला करिडोरले भविष्यमा कुनै पनि विपद् ननिम्त्याउने गरी निर्माण कार्य अघि बढाउन सुझाव दिए । उनले भने,‘निर्माण कार्य केही अघि बढीसकेको छ । अब बन्ने संरचनाहरु विपद्लाई मध्यनजर गरी बनाउन आबश्यक छ ।’

यता सघन सहरी विकास तथा भवन निर्माण आयोजना जुम्लाका सूचना अधिकारी चन्द्र खड्का जुगाडखोला करिडोर जोखिममुक्तनै बन्ने बताउँछन् । उत्तरमा केटीएसदेखी दक्षिणमा तिला नदीसम्म जुगाड खोलाको दुबै साईटमा करिब करिडोर निर्माण गरिने छ । करिडोर निर्माणका लागि चालु आवमा ९ करोड ८० लाख बराबरको ठेक्का आह्वान भई काम भईरहेको छ ।
करिडोर दुई वटा ठेक्का मार्फत निर्माण भईरहेको छ । उनले भने,‘पहिलो ६ करोड लागतमा दुई वर्षमा काम सक्ने गरी (आरएम÷बर्दिया जियाना÷आरएनवी जेभीले ठेक्का पाएको छ । भने ३ करोड ८० लाख लागतमा काम गर्ने गरी पुष्पा÷ज्याङ्गग जेभी ठेक्का लिएर निर्माण भईरहेको छ । करिडोर निर्माणमा ३ करोड ८० लाख चालु आवको असारमसान्त सम्मै खर्च गरि सक्नु पर्ने छ । भने ६ करोड बजेट दुईवर्षमा खर्च गर्नुपर्ने ।’
करिडोर कस्तो बन्छ ? भन्ने कौतुहल्ता धेरैमा देखिएकोले केही भागको काम पूर्ण रुपमा सक्ने गरी अघि बढाइएको छ । खोलाको केही जग्गा स्थानीयले अतिक्रमण गरी संरचना बनाएका छन् । अहिले उक्त जग्गा फिर्ता गर्न आनाकानी समेत गरिरहेको अबस्था छ । त्यसैले करिडोरको केही भाग नागरिक सन्तुष्ट हुने गरी निर्माण गरेर बाँकी जग्गा आफै दिने वाताबरण सृजना गरिने सूचना अधिकारी खड्को भनाई छ ।
करिडोर अन्तरर्गत खुला पार्क,सार्वजानिक शौचालय,फूल गार्डेन लगायतका संरचना निर्माण हुने छन् । दुबै निर्माण कम्पन्नीले करिडोर निर्माणमा गति दिएका छन् । दुई साईटमा पक्की पर्खाल निर्माण गर्ने र खोला आसपासमा बनेका अवैध संरचना हटाउने काम भईरहेको छ ।



