वडाध्यक्ष शाहीमाथि चक्कु प्रहार

घटनाका एक जना आरोपित जुम्ला बसर्पाकबाट पक्राउ

जुम्ला – तिला गाउँपालिका – ५ का वडाध्यक्ष ४२ ललित बहादुर शाहीमाथि जेठ १८ गते चक्कु प्रहार भएको छ । सोही गाउँपालिका – ४ नम्बर वडामा अनुगमनको क्रममा फर्केने बेला सामुहिक आक्रमण गरी चक्कु प्रहार गरिएको हो ।

चक्कु प्रहारबाट घाइते भएका वडाध्यक्ष शाहीको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरी निरीक्षक असिम हमालले बताए । उनले भने, पीडितले तीन जनाको नाम दिनु भएको छ । तीन जना मध्ये एक जनालाई जुम्ला बसपार्कबाट पक्राउ गरिएको हो । अन्य व्यक्तिलाई खोजी कार्य भईरहेको छ । घटनाका आरोपित २० देखि २५ वर्ष उमेर समुहका छन् । प्रहरीले घटना आरोपितको नाम भने सार्वजनिक गरेको छैन ।

त्यस्तैगरी सोही गाउँपालिका – ३ का वडाअध्यक्ष ३८ वर्षीय धन बहादुर शाहीमाथि पनि ढुङगा प्रहार भएको प्रहरीले जनाएको छ । वडाध्यक्ष शाहीले भने, ममाथि ढुङगा मुक्का प्रहार भएको हो । तर मेरो टाउकोमा हेल्मेट भएकोले त्यति चोटपटक लागेन । ५ नम्बर वडाध्यक्षलाई हतियार (चक्कु) नै प्रहार भएकोले बढी चोट लागेको छ । अहिले हामी अस्पतालमै उपचारमा छौँ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २० गते सोमवार
प्रतिक्रिया दिनुहोस