तातोपानीका विद्यालयमा अर्गानिक दिवा खाजाः कोदोको परिकारलाई प्रथामिकता

जुम्ला । स्थानीय उत्पादित रैथाने बालीमा आधारित अर्गानिक दिवा खाजा खुवाउनेमा जुम्लाको तातोपानी कर्णालीकै पहिलो स्थानीयतह हो । कर्णालीका ७९ वटा स्थानीय तह मध्य तातोपानीले अर्गानिक दिवा खाजा प्रर्बद्वनका लागि गरेका अभ्यास अन्य पालिकाका लागि अनुसरण योग्य पनि छन् ।

प्रायः कार्यक्रमहरुमा पनि सामुदायिक विद्यालयको दिवा खाजाको सवाल उठ्दा तातोपानीको व्यवस्थापन र निरन्तरताले राम्रो चर्चा पाउने गरेको छ । विगतका दिनमा चाउचाउ गेडा,चिया विस्कुट दिवा खाजा खुवाउने तातोपानीका विद्यालयहरु अहिले गाउँमा उत्पादन हुने रैथाने बालीको परिकार मात्रै खुवाउँछन् ।

तातोपानीका २९ वटा सामुदायिक विद्यालयमा खुवाईने रैथानेबालीको दिवा खाजा मध्य विशेष परिकार हो ‘कोदो’ । हप्ताको दिन सम्म खाने दिवा खाजाको मेन्यूमा कोदोबाट बन्ने विभिन्न परिकारलाई प्रथामिकता दिइएको छ । जसले गर्दा कोदोको उत्पादन बृद्धि र खेती विस्तारमा टेवा पुराउने आशा गरिएको छ ।

तातोपानीका सामुदायिक विद्यालयमा अर्गानिक दिवा खाजा खुवाउने नीति अघिल्लो सरकारले ल्यायो । तर कार्यान्यवन गर्न सकेनन् । तर २०७९ को चुनावबाट निर्वाचित भएका अध्यक्ष नन्द प्रसाद चौलागाई नेतृत्वको टिमले दिवा खाजालाई निकै व्यवस्थित बनाएर अघि बढाएका छन् ।

पालिकाका २९ वटै सामुदायिक विद्यालयमा दिवा खाजाका लागि रैथाने अन्नबाली आपुर्ति गर्न ६ वटा कृषि सहकारी संग सम्झौता गरिएको तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले बताए । उनले भने,‘कृषि सहकारीलाई अन्नबाली संकलन तथा प्रशोधन गरी विद्यालयमा पुराउने जिम्मा दिँदा गाउँ गाउँबाट किसानको अन्न पनि विक्री भएको छ । धमाधम अन्न विक्री हुन थालेपछि किसान उत्पादनमा समेत जुटेका छन् । अन्य बाली भन्दा कोदो लोपउन्मुख अबस्थामा रहेकाले कोदोको उपभोगलाई बढाउन विद्यालयमा विशेष अनुरोध पनि गरेका छौ ।’

कोदोको पिठोबाट रोटी,सेल,केक,ढिडो,मःम लगायतका परिकार बनाएर खुवाउन सकिने र त्यसले बालबालिकाको शारिरिक,मानसिक विकास तथा पोषण बृद्धिमा समेत सुधार ल्याउने भएकोले अर्गानिक दिवा खाजामा कोदो परिकालाई विशेष ब्राण्डका रुपमा खुवाउन थालेको अध्यक्ष चौलागाईले उल्लेख गरे ।

यता कृषि सहकारी संस्थाका संचालक मुन बहादुर डाँगीले पालिकाले विद्यालयमा अर्गानिक दिवा खाजा अनिवार्य गरेपछि किसानको उत्पादनले पनि बजार पाउन थालेको बताए । अहिले गाउँ गाउँमा पुगेर कोदो ल्याउने मिल पिस्ने र अनि विद्यालयहरुमा पठाउने गरेका छौँ । उनले भने,‘प्रायः गाउँमा पुग्दा कोदो थोरै मात्रामा मात्रै पाईने गरेको छ । अब उत्पादन बढाउनुहोस् । हामीले खरिद गर्छौै भनेर भनेका छौ । पछिल्लो एक वर्षमा कोदो खेतीमा भेरीक्षेत्र किसान हौसिएका छन् ।’

स्थानीय डाँगीका अनुसार गाउँगाउँमा व्यवसायीक कोदो खेती विस्तारका लागि स्थानीय सरकारले आबश्यक नीति बनाएर लगानी बढाउनु पर्नेमा जोड दिए । तातोपानी गाउँपालिकाका ३३ सय घरधुरीले आशिंक रुपमा कोदो खेती गरिरहेका छन् ।
तातोपानी गाउँपालिकामा संचालित विश्व खाद्य कार्यक्रमले कोदोको पिठाबाट बनाउन सकिने विभिन्न परिकारबारे विद्यालयका कर्मचारीलाई समेत तालिम दिदै आएको छ । भने विश्व खाद्य कार्यक्रमले तातोपानीका २९ मध्य १५ विद्यालयमा अर्गानिक दिवा खाजाका लागि नमुना भान्सा घर पनि निर्माण गरेको छ ।

विगतमा साँघुरा अध्याँरा,जीर्ण देखिने विद्यालयमा अहिले नमुना पक्की भान्साघर बनेका छन् । चिटिक्क परेका पक्की भान्साघर बनेपछि दिवा खाजा कार्यक्रम थप प्रभावकारी बन्दै गएको छ । कर्णालीमै पहिलो अर्गानिक दिवा खाजा खुवाउने पालिकाको रुपमा तातोपानी आफ्नो नाम दर्ज गर्न सफल भएको छ ।

थुप्रै ठाउँमा तातोपानीले संचालन गरेको अर्गानिक दिवा खाजा कार्यक्रमको चर्चा समेत हुने गरेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको अभिलेखमा समेत तातोपानी अर्गानिक दिवा खाजा खुवाउने कर्णाली पहिलो पालिकाको रुपमा उल्लेख छ । यस हिसाबले अर्गानिक दिवा खाजा अहिले तातोपानीको विशेष ब्राण्डका रुपमा स्थापित हुँदै गएको छ ।

तातोपानीले सुरुवात गरेको अर्गानिक दिवा खाजा प्रर्बद्धनका लागि विश्व खाद्य कार्यक्रमले दुई करोड ३४ लाख बढी लगानी गरेको छ । तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईको पहलमा र विश्व खाद्य कार्यक्रमले अर्गानिक दिवा खाजा प्रर्बद्धनका लागि पूर्वाधार निर्माण,उर्जाको समस्या समधान,शिक्षकको क्षमता विकास लगायतका क्षेत्रमा २ करोड ३४ लाख बढी लगानी गरेको हो ।

सरकारले सामुदायिक विद्यालयको आधारभूत तहमा दिवा खाजा अनिवार्य गरेपनि,व्यवस्थित भान्साघर,सरसफाई,रैथाने उत्पादन बृद्धिमा जोड नदिँदा अधिकांश ठाउँमा व्यवस्थित छैन् । तर तातोपानीले कर्णालीकै पहिलो पालिकाका रुपमा दिवा खाजा कार्यक्रमलाई अर्गानिक उत्पादन मात्रै खुवाउने नीति लिएको छ । उक्त दिवा खाजाको निरन्तरता र दिगो व्यवस्थापनले तातोपानीको रैथाने बाली उत्पादन बृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

अर्गानिक दिवा खाजा कार्यक्रमबाट २९ वटा सामुदायिकका २ हजार ८ सय बढी लाभान्वित भएका छन् । रैथानेबालीको विभिन्न परिकार खान पाईने भएपछि विगतमा विद्यालय जान आनेकाने गर्ने बालबालिका अहिले सहजै विद्यालयमा जाने गरेको स्थानीय हर्केश दमाईले बताए ।

तातोपानीले कालिका मा वि टोप्ला,जनजागृति मावि तम्ती, जनजागृति मा वि बारागाउ, जनप्रिय आ वि दुङ्ग्री, जनतासेबाक आबि माछली लगायतका १५ विद्यालयमा भान्साघर बनाइएको हो । अर्गानिक दिवा खाजा कार्यक्रमबाट तातोपानीका २८ सय बालबालिका प्रत्यक्ष लाभान्वित भएका छन् ।

तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाँईले दुर्गमका विद्यालयमा सुविधायुकक्त भान्साघर बन्दा खुसी लागेको बताए । उनले भने,‘हामी चुनाव जिते लगत्तै विद्यालय अनुगमनमा गयौ । त्यतिबेला कापीका पानामा हलुवा खानु पर्ने स्थिति देख्यौ । दिवा खाजाका नाममा चाउचाउ खाएको भेट्यौ । अध्याँरो,सफा सुघर नभएको भान्साघर थिए । त्यसपछि हामीले अर्गानिक दिवा खाजा खुवाउने योजना बनायौ । तर अहिले अर्गानिक दिवा खाजा कर्णालीमै नमुना भयो । रैथानेबाली मध्य कोदोको प्रयोग बढी हुने र उत्पादन न्यून भएकोले कोदोको खेती विस्तारमा हाम्रो ध्यान गएको छ ।’
.

प्रकाशित मिति : २०८२ जेष्ठ ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस