कार्यालय खारेजसंगै १ अर्ब २६ करोडको धौलिगाड खानेपानी आयोजना अलपत्र

जुम्ला । हिमाली जिल्लाको सबैभन्दा बढी उचाईमा निर्माण भईरहेको बृहत्त धौलिगाड खानेपानी आयोजना कार्यालय खारेजसंगै अलपत्र अबस्थामा पुगेको छ । जुम्लामा रहेकोमा संघिय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय खारेजसंगै धौलिगाड खानेपानी आयोजना अलपत्र परेको हो ।

पटक पटक बजेट अभाव झेल्दै आएको उक्त आयोजना कार्यालय खारेज भएपछि आयोजना अनिश्चितता तर्फ धकेलिएको छ । २०८१ चैत ११ गतेको निर्णय अनुसार ०८२ असार २३ मा खानेपानी मन्त्रालयको मन्त्रीस्तरीय निर्णयनुसार ५ संघीय खानेपानी आयोजना तथा ढल व्यवस्थापन कार्यालय खारेज गरिएका हुन् । जुम्लाको कार्यालय पनि खारेज भयो ।

कार्यालय खारेजको विरोध गर्दै जुम्लाका जनप्रतिनिधिले कार्यालयमा तालाबन्दी गरेका छन् । तर कार्यालयका सबै कर्मचारी सुर्खेत गईसकेका छन् । भने कार्यालयको ‘एलएमबीएस’ पनि सुर्खेत गईसकेको छ । बृहत्त खानेपानी आयोजना कार्यालय खारेजसंगै अहिले निर्माण कार्य रोकिएको छ ।

कर्णालीका दुर्गम गाउँबस्ती अब पनि खानेपानी अभावमा बाँच्नुपर्ने बाध्यता सिर्जना भएको छ । अहिलेसम्म जुम्लाका ९ हजार घरधुरीमा स्वच्छ पानीको धारा पुगेको छ । अझै ११ हजारमा खानेपानी पहुँच पुग्न सकेको छैन । जुम्लामै कार्यालय हुँदासमेत अपेक्षित गति लिन नसकेको एक अर्ब २६ करोड लागतको बृहत् धौलिगाड खानेपानी आयोजना कार्यालय नै खारेज भएपछि अलपत्र परेको हो ।

हिमाली जिल्लामा बनिरहेको यो देशकै सबैभन्दा ठूलो आयोजना हो । आयोजनाबाट जुम्लाका तीन पालिकामा ८ हजारभन्दा बढी धारा निर्माण हुनेछन् । आयोजनाको दुई प्याकेजमा गरी ६० प्रतिशत काम भएको छ । बजेट अभावले गति लिन नसकेको आयोजना कार्याल खारेजपछि थलिएको छ । कर्णालीकै ठूलो धौलिगाड आयोजनाले बजेट अभाव झेलिरहेको बेला आयोजना हेर्ने तालुक निकाय नै खारेज भएसँगै आयोजना अलपत्र पर्ने निश्चित भएको तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले बताए ।

कार्यालय खारेज भएपछि २ करोड ५० लाख लगानीमा निर्माण भएको भवन अलपत्र हुने भएको छ । अब कार्यालयको सबै काम सुर्खेतबाट हुनेछ । जुम्ला, हुम्ला, मुगु र कालिकोटबाट सुर्खेत गएर सेवा लिनुपर्ने भएको छ । चारै जिल्लाका आयोजनाको अनुगमन सुर्खेतबाट नै हुनेछ ।

कार्यालय खारेज र बजेट अभावको दोहोरो समस्याले आयोजना अलपत्र अबस्थामा परेको छ । भौगोलिक कठिनाई, बजेट अभाव तथा पानी नजम्ने पाइप नेपालमा उपलब्ध नहुने जस्ता कारण देखाउँदै निर्माण व्यवसायीले बाहनाबाजी गरिरहेको छ । पानी नजम्ने प्रिईन्सोलेट पाईप चीन,सिंहापूरमा मात्रै पाईने र त्यसको स्वीकृति खानेपानी विभागबाट लिनु पर्नेमा स्वीकृति नपाएर हालसम्म मुहान क्षेत्रमा काम भएको छैन् ।

निर्माण सुरु भएको करिब ६ वर्षको प्रतिवेदन अनुसार कूल १ अर्ब २६ करोड लागतको धौलिगाड खानेपानी आयोजना दुई प्याकेजमा निर्माण भएको छ । जसमा पहिलो प्याकेजको बजेट ५४ करोड ४१ लाखमध्ये हालसम्म ३४ करोड ७९ लाख खर्च भएको छ । उक्त प्याकेजको काम कालिका सिएबी कन्काई जेभीले लिएको थियो । उक्त प्याकेजमा अहिले १० करोड ५९ लाख १७ हजार रुपैयाँ अभाव रहेको र बजेट माग गरिएको कार्यालय प्रमुख ज्योतिषकुमार मिश्रले बताए ।

उनका अनुसार पहिलो प्याकेजअन्तरर्गत ७० किमी पाइप लाइनमध्ये ६० किमी निर्माण, १३ वटा ट्यांकीमध्ये ७ वटा निर्माण भइसकेका छन् भने २ वटा बन्दैछन् । ९ वटा डिसीमध्ये ३ वटा निर्माण भइरहेका छन् । त्यस्तै दोस्रो प्याकेजको बजेट ३७ करोड ७ लाखमध्ये हालसम्म २२ करोड ३७ लाख रुपैयाँ खर्च भएको छ । उक्त प्याकेजको काम सिएबी कन्स्ट्रक्सन प्रा.लिले गरिरहेको छ । सो प्याकेजका लागि पनि ६ करोड ५८ लाख अभाव रहेकोले माग गरिएको छ ।

दोस्रो प्याकेजअन्तरर्गत २ सय किमी पाइप लाइनमध्ये १६५ किमी निर्माण गरिएको छ भने कूल ८ हजार ६०५ धारामध्ये ३ हजार धारा जडान गरिएको छ । दवै प्याकेज आयोजनामा करिब १७ करोड भन्दा बढी बजेट अभाव रहेको देखिन्छ ।

बजेटको सुनिश्चिता नभएसम्म काम अघि बढाउन नसकिने निर्माण व्यवसायीको भनाइ छ । काम गरेको ३ करोड भुक्तानी पाउनसमेत बाँकी रहेको ईन्जिनियर दिपेश शाहले बताए । बजेट अभावका कारण आयोजना निर्माणको काम रोकिएको उनको भनाइ छ ।

यता जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले अब जुम्लामा संघिय खानेपानी तथा ढल व्यवस्थापनको अस्थायी कार्यालय स्थापना हुने भनिएपनि हाल सम्म नभएको बताए । अस्थायी कार्यालय स्थापना गरेपनि धौलिगाड खानेपानी आयोजना अनिश्चिता तर्फ धकेलिएको उनको भनाई छ ।

उनले भने,’अब अस्थायी कार्यालय स्थापना हुने भनिएको छ । कहिले हुने टुंगो छैन् । बृहत्त धौलिगाड खानेपानी आयोजना अलपत्र पर्ने देखियो ।संघियतापछि जुम्लाले क्रमश नोक्सान व्यहोर्दै आएको यो एक उदाहरण पनि हो ।’

यो पनि पढ्नुहोला…

प्रकाशित मिति : २०८२ साउन २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस