
पञ्चायती व्यवस्था ढलेपछि एमालेले १४-२० माघ, २०४९ मा दशरथ रंगशालामा खुला महाधिवेशन गरेको थियो, जुन पाँचौँ महाधिवेशन थियो । जहाँबाट भण्डारी दोहोरिएर नेतृत्वमा पुगेका थिए । भण्डारीको देहान्तपछि १२-१८ माघ, २०५४ मा बाँकेको नेपालगञ्जमा छैटौँ महाधिवेशन भयो । छैटौँ महाधिवेशनबाट माधवकुमार नेपालले नेतृत्व सम्हालेका थिए, भने उनै नेपाल सातौँ महाधिवेशनबाट पनि महासचिव पदमार्फत नेतृत्व तहमा दोहोरिएका थिए ।
एकल नेतृत्वबाट सञ्चालन हुँदै आएको एमाले आठौँ महाधिवेशनमा पुग्दा भने बहुपद प्रणालीमा प्रवेश गरेको थियो । ५-१४ फागुन, २०६५ मा बुटवलमा सम्पन्न आठौँ महाधिवेशनबाट झलनाथ खनाल अध्यक्षको रूपमा नेतृत्व तहमा पुगेका थिए । उनले केपी शर्मा ओलीलाई पराजित गर्दै नेतृत्व सम्हालेका थिए ।
१९ असारदेखि १ साउन, २०७१ मा काठमाडौँको भृकुटीमण्डपमा भएकोे नवौँ महाधिवेशनबाट ओली अध्यक्ष चुनिएका थिए । उनले दुई पटक पार्टीको नेतृत्व सम्हालेका प्रतिस्पर्धी नेपाललाई पराजित गरे । एमालेको १०औँ महाधिवेशन झण्डै ८ वर्ष पछि चितवनको भरतपुरमा आयोजना हुँदैछ । सम्भवतः १०औँ महाधिवेशनबाट ओली नै एमालेको नेतृत्व सम्हाल्नेछन् । नवौँ महाधिवेशनबाट अध्यक्ष बनेका ओली दुई पटक नेतृत्वमा पुग्ने तेस्रो नेता बन्न सक्छन् ।



