
जुम्ला ः कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लामा सबैभन्दा ठूलो गौरवको आयोजना धौलीगाड खानेपानी आयोजना निर्माण हुने सुनिश्चित भएको छ । आयोजना निर्माणका लागि शनिबार शिलान्यास हुने भएको छ । आयोजना शिलान्यासका लागि खानेपानी मन्त्री उमाकान्त चौधरी, मन्त्रालयका सचिव र खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक जुम्ला आउने तयारी रहेको संघीय खानेपानी आयोजना प्रमुख महेश न्यौपाने बताए । उनले भने लामो प्रयास र सवैको सहयोग समर्थनले आयोजना निर्माण हुने सुनिश्चित भएको हो ।
आयोजना निर्माण लागत १ अर्ब २६ करोड ८ लाख ४ सय ९० रुपैयाँ रहेको छ । आयोजनाबाट चन्दननाथ नगरपालिका १–१० वडा, गुठीचौर गाउँपालिका ३–५ वडा, तातोपानी गाउँपालिका १–६ वडा गरी ९ हजार १०८ घरधुरीका ४४ हजार १६३ जनसंख्या लाभान्वित हुने आयोजना प्रमुख न्यौपाने बताए ।
जुम्लाको सदरमुकाम खलंगादेखि १५ किलोमिटर दुरीमा रहेको पानीको मुहानबाट प्रति सेकेण्ड ५५ लिटर पानी ल्याउने डिजाइन स्टेमेटमा उल्लेख गरिएको छ । प्रति व्यक्ति प्रति दिन ६५ लिटर पानीको खपत अनुमान गरिएको छ भने ३८ लाख ४५ हजार ६९९ लिटर पानी प्रति दिन घरायसी खपत हुने छ । यस्तै संस्थागत ३ लाख ८४ हजार ५६९ लिटर प्रति दिन पानी खपत हुने आयोजना प्रमुख न्यौपानेले बताए । उनले भने प्रति दिन जम्मा ४७ हजार ३२० लिटर पानी खपत हुने छ । मुख्य पाइपलाईनको अध्कतम् क्षमता प्रति सेकेण्ड ६६ लिटर रहेको छ ।
आरसीसी पानी भण्डारन गर्ने ट्यांकी ३ सय घन मिटर १ वटा, १५० घन मिटरको १ वटा, १२५ घन मिटरको २ वटा, १ सय घन मिटरको २ वटा, ७५ घन मिटरको ३ वटा र ५० घनमिटरको ४ वटा बन्ने डिजाइन स्टेमेटमा उल्लेख गरिएको छ । यस्तै पानी वितरण गर्ने ट्यांकी ९ वटा, क्लोरिनेशन प्रणाली १३ वटा, प्रेसर घटाउने ट्यांकी १७ वटा बन्ने छन् ।
भल्व राख्ने संरचना (पानी वितरण गर्ने ट्यांकी, भण्डारण गर्ने ट्यांकी र पाइप भित्रको फोहोर फाल्ने, बढी भएको पानी फाल्ने) ६२ वटा वन्ने जनाएको छ । हावा फाल्ने र पाइपभित्रको लेदो फोहोर फाल्ने संरचना ३० वटा वन्ने छन् । जालीको घरबार १३ वटा गेटसहित ८ सय मिटर बन्ने छ । खोलाको क्रसिङ ४ वटा, नदीको क्रसिङ ७ वटा, स्टिल पाईपको लागि प्रेसर थाम्ने व्लक १६५ वटा, टेका राख्ने व्लक ६० वटा, गार्ड बस्ने घर शौचालयसहित १ वटा र पानी परिक्षण प्रयोगशाला १ वटा बन्ने डिजाइन स्टेमेटमा उल्लेख गरिएको छ ।
प्रेसर घटाउने संरचना ११ वटा, आगलागी निभाउनेका लागि पानी निकाल्ने ठाउँ १५ वटा, निजि धारा ८ हजार २९२ वटा, सस्थागत धारा ३१६ वटा, बाटोमा धारा जोड्ने संरचना १५० वटा, खोल्सा क्रसिङ २० वटा, सार्वजनिक शौचालय ५ वटा बन्ने छन् ।
मुख्य पाइपलाइनको लम्बार ६९ दशमलव २८ किलोमिटर रहेको छ भने वितरण शाखा पाईपलाइन लम्बार २ सय दशमलव ४ किलोमिटर रहेको छ । पानी महशुल प्रति घरधुरी न्यूनतम् मासिक ५५ रुपियाँ लाग्ने छ ।
बोर्ड पनि गठन हुने
धौलीगाड बृहत खानेपानी आयोजनाको खानेपानी व्यवस्थापन बोर्ड पनि गठन हुने भएको छ । बोर्ड गठन गर्नका लागि चन्दननाथ नगरपालिका मेयर कान्तिका सेजुवालले प्रस्ताव राख्ने कार्यक्रम रहेको आयोजना प्रमुख न्यौपाने बताए ।
विशेषतः आयोजनाबाट लाभान्वित हुने क्षेत्र चन्दननाथ नगरपालिका, गुठीचौर गाउँपालिका र तातोपानी गाउँपालिका भित्र रहेका समस्त विद्यमान खानेपानी प्रणालीहरु गाभिने भएका छन् ।
सबै उपभोक्ता समिति वा सञ्चालन समिति गाभेर केन्द्रिय उपभोक्ता समिति, बन्दै खानेपानी व्यवस्थापन बोर्डको गठन हुने भएको छ । यो क्षेत्रमा रहेका खानेपानी समितिका अध्यक्ष तथा अन्य समस्त सदस्यहरु अनिवार्य रुपमा उपस्थित भई कुरा बुझने र नबुझेका आफ्ना कुरा राख्नुपर्ने पनि कार्यक्रम रहेको छ ।



