महिनावारी बार्दैनन् पातारासीका किशोरी

पातारासी–४ का तिर्खु,लाम्री र डिल्लीचौर छुईगोठ मुक्त घोषणा


जुम्ला । पातारासी गाउँपालिका वडा नं ४ लाम्रीकी १४ वर्षिया निर्मला बुढा महिनाबारी हुँदा घरमै बस्छिन् । निर्मलकी आमानै महिनावारी हुँदा घरको कोठामा बस्ने भएको सहज भएको बताउँछन् । म महिनावारी भएदेखिनै घरकै कोठामा बस्छु ।

उनले भनिन,‘पहिला पहिला आमा महिनाबारी हुँदा गोठमा बस्नुहुन्थ्यो । म महिनावारी हुने बेला सम्म घरमा बस्ने हुनु भयो । त्यसै कारण पनि मलाई अहिले सहज भयो । महिनावारी हुँदा ढुक्कले घरमै बस्दै आएका छौ ।’

अन्य भन्दा धामी झाक्रिको घरमा देवता रिसाउँछन्,पढाइ विग्रन्छ,विरामी परिन्छ भन्ने मान्यतले अझै छुईप्रथा कायमै रहेको देखिन्छ । छुईगोठ भत्काउने अभियानले गलत सोच मानसिकता तोड्न सकेको छैन् । यदपी विगतको भन्दा छुईप्रथाका क्षेत्रमा भएको सुधार र सामाजिक शसक्तिकरणलाई भने नर्कान सकिँदैन ।

त्यस्तै पातारासी ४ तिर्खु गाउँकी ४२ वर्षिय बिष्नकली बोहोरा पनि ६÷७ वर्षदेखि महिनावारि भएको बेला घरमै बस्दै आएकी छन् । महिनावारी एक नियमित प्रक्रिया भएको र छुट्टै गोठमा बस्नु पर्ने,घरमा जान नपाईने गलत सोच र सामाजिक कुसंस्कार भएको उनको बुझाई छ । जसका कारण पनि बिष्नकलीलाई महिनावारी हुँदा घरको कोठामा बस्न कुनै हिचकिचाहट छैन् ।

विष्नकली र उनका श्रीमान हंश बहादुर बोहोरा गाउँका अन्य महिला,किशोरीलाई महिनावारी हुँदा गोठमा बस्नु हुदैन् । यो नियमित प्रक्रिया हो । सामाजिक कुसस्कार विरुद्द लड्नु पर्छ भन्दै सिकाउने गरेको ५० वर्षिय हंश बहादुर बोहोराले बताए । उनका अनुसार तिर्खुगाउँका कुनै महिला किशोरीहरु महिनवारी हुँदा गोठमा बस्दैनन् । धामि झाँक्रिका घरमा भने केही समस्या देखिन्छ ।


साथै पातारासी–४ लाम्रीकी १४ वर्षिय उस्मिता बुढा घरकै सुरक्षित कोठामा बस्ने गरेको बताउँछन् । उनले भनिन,’पुँजा कोठा र भान्सामा जादैनौ । तर पहिला आमाहरु बसेजस्तो गोठमा बस्दैनौ । धामी झाँक्रि भएको घरमा समस्या होला तर हामी खाना प्राय संगै खान्छौ । कुनै समस्या छैन् ।’

तर गाउँगाउँमा पालिकाको महिला तथा बालबालिका शाखा,सर्वाेदय नेपाल,किर्डाक नेपाल, लगायतका निकायले गाउँका विभिन्न क्लब,महिला समुह,विद्यालय र किशोरीहरुसंग सचेतनाका कार्यक्रम गरिरहेका छन् । जसका कारणम पातारासीका गाउँमा छुईप्रथा बालविवाह लगायतका कुरिति न्युनिकरण हुँदै गएका छन् । फलस्वरुप वडा नंम्बर ४ लाई छुईगोठ मुक्त घोषण गरिएको हो ।

तीन गाउँ छुईगोठ मुक्त घोषणा
पातारासी गाउँपालिका वडा नं ४ लाई छुईगोठ मुक्त घोषणा गरिएको छ । बुधबार उक्त वडाका लाम्री,तिर्खु र डिल्लीचौर गाउँ छुईगोठ मुक्त घोषणा गरिएको हो ।

माथि उल्लेखीत निर्मला,विष्नकली र उस्मिता जस्ता उक्त वडाका सयौ मिहला तथा किशोरी छुई हुँदा घरमै बस्न थालेपछि अनुगमन निरिक्षण गरी सबै सूचक पुरा भएसंगै वडालाई छुईगोठ मुक्त घोषणा गरिएको छ ।

वडा नं ४ तीनवटै गाउँका सबै महिनावारी हुने उमेर समुहका किशोरी महिला सबै महिनावरी हुँदा घरमै बस्ने गरेको सुनिश्चित भएपछि वडालाई छुईगोठ मुक्त घोषणा गरिएको वडाध्यक्ष काली बहादुर बुढाले बताए ।

उनले भने,‘गाउँमा अहिले छुईप्रथा मान्ने कुनै घर छैन् । सबै महिला किशोरी घरमै बस्दै आएका छन् । धामि झाँक्रिहरुलाई पटक पटक अभिमुखिकरण गर्दै आएका पनि छौ । यदपी आगामी दिनमा घोषणा कार्यान्वयनमा समस्या ल्याएमा कारबाहि गरिने छ ।’
४ नम्बर वडाका तिर्खु,लाम्री र डिल्लीचौ गरि तीन गाउँमा कुल पाँच सय घरधुरी रहेको छ । भने दुई हजार एक सय ९५ जनसंख्यामा रहेको छ । जसमा महिला एक हजार ७० जना र पुरुष एक हजास एक सय २५ जना रहेका छन् ।


कुल महिला १ हजार २० जना मध्य महिनावारी हुने उमेरका सबै किशोरी तथा महिला हाल महिनावारी हुँदा घरमै बस्दै आएपछि ४ नम्बर वडालाई छुइगोठ मुक्त घोषणा गर्न सफल भएको पातारासी गाउँपालिकन अध्यक्ष पुर्णसिंह बोहोराले बताए ।

उनले भने,‘पातारासीका नागरिक शिक्षाकै अभावले पछि परेको छ । सामाजिक सशक्तिकरण हाम्रो प्रथामिकतमा छ । छुइप्रथा समाज रुपान्तरणको बाधक पनि बनेको छ । घोषणा कार्यान्वयनमा सबै निकायले ध्यान दिन जरुरी छ ।’

छुईगोठ मुक्त घोषणाले महिलालाई हरेक हिसाबले सुरक्षित बनाउने र कार्यबोझ पनि कम हुने उनको अपेक्षा छ । पातरासी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीले छुईगोठ मुक्त वडा घोषणाका लागि विभिन्न सुचक पूरा गर्न गाउँ गाउँ र विद्यालयमा सचेतनाका कार्यक्रम गरिएको बताईन् । छुईप्रथा महिला विकासको बाधक मात्र नभई सामाजिक अपराध भएको,कुरा अझै बुझाउन जरुरी रहेको उल्लेख गरिन् ।

सर्वाेदय नेपालका कार्यकारी निर्देशक कमलराज खत्रीले छुईप्रथा महिला शसक्तिकरणको मुख्य बाधक बनेको बताए । उनले भने,‘महिला सक्षम नभए सम्म समाज रुपान्तरण सम्भव छैन् । वडा सरकारको लगानी पनि महिला शसक्तिकरण केन्द्रित हुन जरुरी छ ।’

कार्यकारी निर्देशक खत्रीका अनुसार सर्वा यसअघि पातारासीका वडा नं २ र ५ छुईगोठ मुक्त घोषणा भईसकेका थिए । निकट भविष्यमा वडा नं १,३,६ र ७ लाई छुईगोठमुक्त घोषणा गर्ने योजना रहेको उल्लेख गरे ।

वल्डभिजनको सहयोगमा किर्डाक नेपालद्दारा सञ्चालित बाल संरक्षण परियोजना मार्फत छुई प्रथा विरुद्द किशोरी समूह,बालक्बल,धामी झाँक्रि,उत्पादन समुहसंग अन्तरक्रिया गरिएको किर्डाकका बाल संरक्षणअधिकृत श्रीराम थापाले बताए ।

छुईगोठ मुक्त घोषणा कार्यक्रममा वडाका विभिन्न गाउँका महिलाहरुले देउडा गित समेत प्रस्तुत गरेका थिए । गित मार्फत छुईप्रथा र छुईगोठमा बस्दा हुने असर घरमा बस्दा हुने फाईदाका विषयमा प्रस्तुत गरेका हुन् ।

कार्यक्रमका अबसरमा वडालाई छुईगोठ मुक्त वडा घोषणाका लागि सहयोग गर्ने व्यक्ति र निकायलाइ सम्मान गरिएको छ ।

प्रकाशित मिति : २०८० पुष २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस