जुम्ला – तिला गाउँपालिका जुम्लाको हिउँदे गाउँ सभा तथा १५ औँ अधिवेशन सम्पन्न मंगलबार भएको छ । विधान अधिवेशनका रुपमा लिइने हिउँदे गाउँ सभाले ६ वटा ऐन पारित गरेको हो । तिला गाउँपालिका अवकाश कोष कार्यविधि २०८० र तिला गाउँपालिका स्थानीय रोजगार रणनीति पारित गरिएको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यस्तै स्वास्थ्य तथा सरसफाई नीति ०८१, स्थानीय पूर्वाधार आयोजना सञ्चालन तथा व्यवस्थापन निर्देशिका ०८१, तिला गाउँपालिकाको तालिम, बैठक तथा गोष्ठी सञ्चालन कार्यविधि २०८१ पारित भएको छ । तिला गाउँपालिका लैंगिक तथा यौनिक अल्पसंख्यकको सेवा सुविधा सम्वन्धी कार्यविधि ०८१ प्रमुख प्रशासकीय अधिकृत जानकी हितानले बताइन् ।
गाउँपालिकाको कार्यसम्पादनका लागि ऐन २० वटा, नियमावली वटा, कार्यविधि १६ वटा, निर्देशिका २ वटा, नीति १ वटा, प्रवन्ध पत्र १ वटा रहेको सामाजिक विकास शाखा प्रमुख जग्गबहादुर रावतले बताए ।
तिला गाउँपालिकाको हिउँदे गाउँ सभाले १ नम्बर वडामा ५ वटा, ३ नम्बर वडामा १० वटा, ४ नम्बर वडामा १३ वटा, ५ नम्बर वडामा १४ वटा, ७ नम्बर वडामा ४ वटा, ८ नम्बर वडामा १० वटा, ९ नम्बर वडामा २२ वटा योजना संघ, प्रदेश र अन्य निकायमा माग गर्ने निर्णय गरेको छ ।
गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले आम सञ्चार ऐन र गिट्टी बालुवा सम्वन्धी ऐन ल्याएर कार्यन्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । उनले भने, सवैको राय सल्लाह सुझाब र समन्वय सहकार्यकै माध्यमबाट गाउँपालिका अगाडी बढ्ने छ ।



