महिला सशक्तीकरण : चुनौती र समाधान

प्रसंग- १ : पहिलो पटक म एउटा योजनाको कार्य संचालानका लागी  पालिकाकै एउटा वडामा जाँदा समाजमा राम्रै मान सम्मान भएको जानमान, बुद्धिजीवी, महिला अधिकार बारे जानकार  र महिला सशक्तीकरण बारे विभिन्न फोरममा भाषण दिइ रहने एक जना शिक्षण पेशामा आबद्ध शिक्षकले सबै समाजकै अगाडि मलाई भन्नु भयो ” तो हाकिम्नि भैकन आइछस, लोग्ने मान्छेले हो हाकिम हुने, महिलाले हाम्मा ठाउँ जागीर गरिकन काँ सक्छुन  सक्तैनन्, तो काउदो यति ठुलो कार्यलय चलाइकन सकलिस भाउअ,  लटारो गद्दि, खुरुखुरु आफ्ना घरै बसि मल पर्सो गरि खाया हुन्छ, ठूला कार्यालयमा महिला हाकिम भएर  जागिर खान सक्तैनन् “।

प्रसंग – २ : एकजना लैङ्गिक  हिंसा न्यूनीकरण तालिममा सहभागी महिलाले गुनासो पोख्नु भयो “आज घर श्रीमान संग झगडा हुने भैगो” मैले सोधेँ किन ? उहाँको जवाफ थियो – घर जाने बित्तिकै श्रीमानले घरमा गाइबाछा (गाइ गोरु चराउने) गर्न छोडेर दुनियाँका भए नभएको कुरा सुन्न जान्छे भनेर झगडा गर्नु हुन्छ ।

प्रसंग- ३ : एका बिहानै  मार्यादित महिनावारी ब्यबस्थापन तालिम सन्चालनका लागी समुदायमा जाँदै थिएँ, माघ महिनाको जाडोमा बिहानै एक डोको  कपडा लिएर खोलामा कपडा धुँदै गरेकि एकजना दिदिलाइ सोधेँ, दिदि किन यस्तो चिसोमा बिहानै खोलामा लुगा धुन लाग्नु भयो ? दिदिको जवाफ थियो “मु छुइ (महिनावारी) छु बहिनी,  छुइ भया बेला धारामा कपडा धोया पछि गालि गद्द्दा त्यै भएर बिहानै खोला आएको, पछि दिउसो दाउरा जानु छ, जत्ति चिसो भए पनि सहनु पर्यो” ।  
 
यी कर्णालीमा महिलालाई समाजमा हेर्ने दृष्टिकोण र महिलाले सहनु परेको बिभेदको  प्रतिनिधि ३ वटा घटना मात्र हुन । हाम्रो समाजमा  यस्तै प्रकृतिका कैयौं सोचाइ र प्रवृत्ति अझै  पनि जरा गाडेर बसेको छ ।

अब कुरा गरौं कर्णाली जस्तो दुर्गम क्षेत्रमा रहेका महिला सशक्तीकरणमा रहेका चुनौती र त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा चर्चा ।

महिला सशक्तिकरण  भन्नले महिलाबिरुद्धका सबै प्रकारका बिभेद र हिंसाको अन्त्यगरी माहिलाहरूको  अधिकारको  सुरक्षा  र प्रवर्दनका लागि नीतिगत, कानुनी र संस्थागत सुधारका साथै हरेक छेत्रमा महिलाहरूलाई सहभागिता गराई महिलाहरूमा भएको अन्तर्निहित् क्षमतालाई बृधि गर्नु नै महिला सशक्तिकरण हो भन्ने बुझिन्छ । 

तर कर्णालीका ग्रामीण बस्तीहरुमा  माथि उल्लेख गरिए जस्तो न त  महिला बिरुद्ध हुने परम्परागत बिभेद अन्त्य भएको छ, न त माहिलाहरूको  अधिकारको  सुरक्षा  र प्रवर्दनका लागि नीतिगत, कानुनी र संस्थागत सुधारका प्रयास हरुले पुर्ण रुपमा सार्थकता पाएका छन् । यसको ज्वलन्त उदाहरण  हुन माथि उल्लेखित प्रसङ्ग हरु ।

महिला अधिकार, महिला सशक्तीकरण र लैङ्िगक हिंसा अन्त्य बिश्वब्यापी चासो र मुद्दाको विषय हो । महिला हिंसा अन्त्य र महिला अधिकारका पक्षमा काम गर्नका लागि विभिन्न निकायहरु बाट कैयौं  नीति तथा कार्यक्रम हरु निर्माण भएका छन तर  त्यसको प्रभावकारी कार्यान्वयनका लागि समाजमा रहेको परम्परागत सोचाइ र रुढीबादी प्रचलन तगारो बनेको छ ।

त्यस्ता परम्परागत सोचाइ र रुढीबादी प्रचलन लाई  अन्त्य गर्दै  महिलालाई सचेत बनाउनु नै प्रमुख  आवश्यकता बन्न पुगेको छ । विभिन्न  सरकारी तथा गैर सरकारी निकायहरु बाट  महिला हिंसा अन्त्यका लागि महिलालाई सशक्तिकरण गर्ने र यस विषयमा नीति तथा  कार्यक्रम ल्याउन जोड दिइए पनि अझै पुर्ण कार्यान्वयन को चरण सम्म पुगिसकेको छैन  ।

बिशेषत कर्णालीमा अझै गिजोलिएर बसेको अन्धबिश्वासका कारण  महिला र पुरुष बिच ठुलो बिभेदको अवस्था छ । यँहाको सामाजिक,आर्थिक, शैक्षिक,राजनितिक,प्रसाशनिक लगायतका सबै क्षेत्रमा पुरूषको तुलनामा महिलाको पँहुच ज्यादै न्यून छ । जनसङ्ख्याको आधा भन्दा बढी हिस्सा ओगटेका महिलाहरू शिक्षा, स्वास्थ्य, आर्थिक, सामाजिक लगायत  हरेक पक्षमा पिछडिएका छन् ।

परम्परागत रूपमा जातपातको भेदभाव, चाँडो विबाह, छोराको महत्त्व, महिनावरी विभेद जस्ता  मान्यताका कारणले कर्णालीका महिलाहरुको स्तर  विकास हुन सकेको छैन । लैगिक भिन्नताका कारण लैंगिक असमानता, साधन र स्रोतको अवसर आदिमा कमिका कारण महिलाहरूको स्तर निकै पछाडी छ । महिलाको हक, अधिकार र शसक्तिकरणका लागि विभिन्न गैर सरकारी सङ्घ संस्था तथा सरकारी निकाय सम्मले  ससक्त रूपबाट काम गरिरहेकै छन् ।

नेपालको संविधानमा समेत महिला सम्बन्धि हक समेत सुनिश्चित गरिएको छ। त्यस्तै अन्तर्राष्ट्रिय स्तरमा पनि नारीलाई पुरूष सरह हरेक क्षेत्रमा समानता हुनु पर्छ भन्ने उदेश्यका साथ विभिन्न नारी सम्मेलन गरी सोहि घोसणा पत्रको बुदा लाई आधार बनाइ कामहरू भइरहेको अवस्था पनि छ ।

तसर्थ, कर्णालीमा महिला सशक्तीकरणको लागी सर्बप्रथम समाजमा गहिरो रुपमा जरा गाडेर बसेको अन्ध बिश्वास, रुढीबादी परम्परा र महिला चुलो चौकोमा मात्रै सिमित हुनुपर्छ भन्ने सोच परिबर्तन हुन जरुरी छ ।

जब सम्म महिला प्रति समाजमा रहेको गलत सोचाइ जरैदेखि निमिट्यान्न पार्न सकिन्न तब सम्म महिला सशक्तीकरणको पुर्ण कार्यान्वयन हुन सक्दैन ।  हरेक वर्ष मार्च ८ मा मनाईने अन्तराष्टि्य नारी दिवसले वास्तविक पिडित महिला,आवाज विहिन महिलालाई छुन सकेकाे छैन् । दिवस दिवसमै सिमित छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस