जुम्ला – दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्म सामाजिक हानिकारक अध्यास बालविवाह, घरेलुहिंसा, महिनावारी विभेद जस्ता सामाजिक हानिकारण अध्यास मुक्त गर्ने नेपाल सरकारको योजना रहेको छ । सोही अनुरुपमा सरकारी तथा गैरसरकारी संघसंस्थाले सामाजिक कुरिति विरुद्धमा अभियान सञ्चालन गर्दै आएका छन् ।
तिला गाउँपालिका – ४ साँपुल्ली गाउँकी गीता शाही ३२ वर्षकी भइन् । उनको १६ वर्षको कलिलै उमेरमा विवाह भएको थियो । जतिबेला उनी एक÷दुई पटक मात्र रजस्वला भएकी थिइन् । उनकी जेठी छोरी दिलमाया शाही अहिले १६ वर्षकी भइन् । उनका जेठी छोरी पछि छोरा छन् । गीताकी जेठी छोरी दिलमाया हालै एसईइ परीक्षा दिएर नतिजाको प्रतिक्षामा छन् ।
सानै उमेरमा विवाह गरेका कारण उनी अहिले पश्चतापमा परेकी छन् । त्यतिबेला पढ्न लेख्न पाईएन । अहिले कालो अक्षर भैसी बराबर छ । माइतीको गरिबी, आर्थिक अवस्था कमजोर भएका कारण बालविवाह गरेर शिक्षा, रोजगारको अबसरबाट बन्चित भएपछि उनी अहिले निकै पछुतोमा परेकी छन् ।
उनले भनिन्, ‘पहिला देखासिकि, अशिक्षा, अभिभावक आमा बाबुको करकापले सानैमा विवाह गरियो । अहिले सबै क्षेत्रबाट बन्चित भईयो ।’ अन्जानमा बालविवाह गरेर पश्चतापमा रहेकी गीता भुलेरपनि अरुलाई बालविवाह नगर्न सुझाउदै आएकी छन् । आफ्ना बालबच्चाको पनि सानै उमेरमा विवाह नगर्ने सर्शमा छन् ।
सानै उमेरमा विवाह हुँदा विवाह दर्ता नबन्ने, बालविवाह गरेकै कारण बच्चाको जन्मदर्ता कार्डलगायतका सेवा सुविधाबाट समेत बञ्चित हुनु पर्ने अवस्था छ । अर्काे तर्फ बालबालिकाले पनि राम्रो शिक्षा आर्जन नगर्न सक्दा स्वरोजगार पनि बन्न नसक्ने अवस्था बालविवाह गर्नू नहुने रहेछ, उनले भनिन् । कतिपय किशोरी गाउँमा बालविवाह गर्दा बच्चाको जन्मदर्ता कार्ड नभएकै कारण बालपोषण भत्ताबाट बञ्चित भएका गाउँमा घटना छन् ।
तातोपानी गाउँपालिका – ३ लिताकोट गाउँका हस्त दमाई अहिले ४७ वर्षका भए । उनको पहिलो विवाह १३ वर्षको सानै उमेरमा भएको थियो । सानै उमेरमा भएको विवाह दिर्घकालिन सम्म टिक्न सकेन । सानै उमेरमा भएको विवाह डेढ वर्षमै टुट्यो । पुन उनको दोस्रो विवाह २३ वर्षको उमेरमा भयो । उनका तीन छोरी एक छोरा छन् । दुई छोरीले विवाह गरी सकेकी छन् । उनको साथमा १२ वर्षकी एक छोरी र १६ वर्षका छोरा छन् । विवाह गरेर जाने दुई छोरीले बालविवाह नगरेको उनी बताउन्छन् ।
आफुले सानै उमेरमा विवाह गर्दा पढ्न लेख्न राम्रोसँग पाईन । त्यसैले छोरीहरुलाई बालविवाह गर्न नदिएको उनी बताउन्छन् । २० वर्ष पुगीसकेपछि एसइई परीक्षा पास गरी सकेपछि मात्रै विवाह गरेका हुन् । उनले भने, अब साथमा रहेका दुई सन्तानलाई पनि सानै उमेरमा विवाह गर्न नदिने अठोट लिएको छु । घरमा सोही अनुसारको वातावरण बनाएको छु । बाल बच्चालाई पनि सम्झाउदै आएको छु । आफूले बालविवाह गरेको भएपनि अरूलाई बालविवाह नगर्न आग्रह गर्दै आएको छु । उनी पनि अहिले गरेको बालविवाहका कारण पश्चतापमा परेको उनले बताए ।
कनकासुन्दरी गाउँपालिका – ६ लाहर्ज गाउँकी निरमाया हमालको भोगाई भने बेग्लै छ । उनको २० वर्ष पुगिसकेपछि प्रेम विवाह भएको थियो । उनले पढ्दा पढ्दै विहे गरिन् । तर अहिले बीचमै पढाइ छोडेर बिहे गरेकोमा निकै दुखित छन् । उनले भनिन्, ‘संगैका साथी पढीरहेका छन् । कोही पढेर जागिरे पनि भए । म भने दुई बच्चाको आमा बने । अहिले ठुलो पश्चाताप छ । अशिक्षा गरिबीले गर्दा बढ्दो बालविवाह रोक्न अब सबै जुट्नु पर्छ ।’
गाउँघरमा चेतनाको विकास भएपनि गरिबी अन्त्य नहुँदा विपन्नलाई उत्पादनसँग नजोड्दा बालविवाह ज्यूँका त्यूँ रहेको उनको भनाई छ । बालविवाह न्यूनीकरणका लागि नीतिगत क्षेत्रमा जोड दिनुपर्ने उनले बताइन् ।
गीता, हस्त र निरमाया त प्रतिनिधि पात्र मात्र हुन् । उनीहरु जस्ता पहिला बालविवाह गरेर अहिले पछुताउने गाउँ समाज धेरै छन् । सर्बाेदय विकासका लागि अभियान नेपाल (सर्बाेदय नेपाल) जुम्लाकी अध्यक्ष नारायणी चौलागाई भन्छन् अहिले हामी सामाजिक कुरिति विरुद्धको अभियानमा छाँैँ । उनले भनिन् मेरो पनि सानै उमेरमा विवाह भएको हो । त्यतिबेला बुझिएन । अहिले बुझ्ने अवस्थामा छौँ । अब पछुताउनुको विकल्प छैन । अहिले सवै भोगाईको संगालो बनाएर बालविवाह, घरेलुहिंसा, महिनावारी विभेद जस्ता सामाजिक कुरिति विरुद्धको अभियानमा छौँ । सरकारी निकायसँग समन्वय गर्दै स्थानीय तहमा महिला सशक्तिकरण गरेर सक्षम बनाएर सामाजिक कुरिति न्यूनिकरण गर्दै आएको उनले बताइन् ।
गुठीचौर, तातोपानी र तिला गाउँपालिकाका दुर्गम गाउँ बस्तीमा महिला शसक्तिकरण लागि दिगो विकास कार्यक्रम सञ्चालन गर्दै आएको सर्बाेदय नेपाल जुम्लाका कार्यकारी निर्देशक कमलराज खत्रीले बताए । उनले भने, कुरितिको सिकारमा सवै भन्दा किशोरी महिला परेका छन् । महिला किशोरीलाई नै सशक्तिकरण गर्ने उद्देश्यले गाउँ बस्तीमा किशोरी क्लव नै गठन गरी कार्यक्रम सञ्चालन गरेका छौँ । किशोर किशोरी, अभिभावक र नागरिक अगुवालाई सामाजिक कुरिति विरुद्ध सचेतीकरण गर्दै आएका छौँ । बालविवाह र महिनावारी (छुईप्रथा) विभेद मुक्त गाउँ बस्ती, वडा र पालिका घोषणा हुदै आएका छन् ।
हिमा गाउँपालिकाका सबै वडा बालविवाहमुक्त भएका छन् । १–७ वडा बालविवाहमुक्त गरिएको हो । सदियौँदेखि सामाजिक विकृतिका रूपमा रहेको बालविवाहमुक्त गरिएको हो । बालविवाह न्यूनीकरणका क्षेत्रमा हिमाले थुप्रै उपलब्धि हासिल गरिसकेको छ । फलस्वरूप हिमाका सातवटै वडा बालविवाहमुक्त घोषणा भइसकेका छन् । सातै वडा र वडाभित्र पर्ने सबै बस्ती बालविवाहमुक्त भइसकेकाले समग्र गाउँपालिकालाई संघीय सरकारका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर साह साडुको उपस्थितिमा हालै बालविवाहमुक्त घोषणा गरिएको पालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताए ।
यहाँका आठ स्थानीय तहका ६० वटा वडामध्ये १५ वडा बालविवाहमुक्त घोषणा भएका छन् । हिमाका सात वडा १, २, ३, ५, ६ र ७ नम्बर वडा बालविवाहमुक्त भएका छन् । बालविवाहमुक्त वडा घोषणा हुनेमा कनकासुन्दरी गाउँपालिका– २, ४ र ५, पातारासी गाउँपालिका–५, तिला गाउँपालिका–६, गुठीचौर गाउँपालिका– ४, सिँजा गाउँपालिका– २, ४ र ६, रहेको छ ।
यहाँका स्थानीय तहसँग समन्वय र सहकार्यमा प्लान नेपाल, पेस नेपाल, क्याड नेपाल, सर्वाेदय नेपाल, वल्र्डभिजन, किर्डाक, आइएनएफ, बालविवाह विरुद्धको साँझा अभियान, सुस्वालगायतका संघसंस्था बालविवाह जस्ता सामाजिक न्यायका विषयमा काम गर्दै आएका छन् । उमेरले २० वर्ष नपुगी बालविवाह गर्ने–गराउनेलाई तीनदेखि पाँच वर्षसम्म कैद सजाय र ३० हजार रुपैयाँसम्म जरिवाना भराउने कानुनी प्रावधान रहेको छ ।



