जुम्ला । कर्णाली प्रदेशको जुम्ला जिल्ला नेपाली भाषा, साँस्कृति र सभ्यताको जननी हो । जुम्लामा भाषा संस्कृति र सभ्यतासंगै पर्यटन क्षेत्रमा पनि प्रचुर सम्भावना छन् । आठ स्थानीयतहमा विभाजित जुम्ला ६० वटा वडामा फैलिएको छ । यहाँका आठै पालिकामा प्राकृतिक तथा धार्मिक सांस्कृतिक पर्यटकीय गन्तव्य दर्जनौको संख्यामा रहेका छन् । आठै पालिकामा दर्जनौ पर्यटन गन्तव्य रहेपनि आबश्यक पूर्वाधार निर्माण, प्रचार प्रशारको अभावले ओझेलमा परेका छन् । भने अपेक्षाकृत रुपमा पर्यटकको आगमन बढ्न सकेको छैन् ।
सहज बसाई व्यवस्थापन, भौगोलिक कठिनाई, सडक पूर्वाधार, खानेपानी,संचार लगायतका अत्याआबश्यक पूर्वाधारको अभावका बीच पनि जुम्लाका आठै पालिकामा रहेका पर्यटन गन्तव्यमा पर्यटक पुग्ने गरेका छन् । तर पूर्वाधार निर्माणमा स्थानीय सरकारले ध्यान दिन सकेका छैनन् ।
स्थानीयतहले पर्यटन प्रर्बद्धनका लागि पूर्वाधार निर्माणको प्रयास गरेपनि अप्रयाप्त बजेटका कारण पर्यटन क्षेत्रमा हुनुपर्ने लगानी भएको छैन् । देखिएका पर्यटन गन्तव्य मात्रै डेढ दर्जन बढी भएपनि सोधीखोजी नभएका, गुमनाम रहेका गन्तव्यहरु थुप्रै छन् । यदपी चर्चामा रहेका तर पूर्वाधार तथा प्रचारको अभावले ओझेलमा रहेका पर्यटन गन्तव्यका विषयमा चर्चा गरेका छौ ।
साविक कर्णालीको पहिलो चन्दननाथ नगरपालिका चन्दननाथ मन्दिरका कारण प्रचित छ । जुम्ला सदरमुकाम खलंगामा रहेको प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिरमा पुग्ने आन्तरिक र बाह्य पयर्टक र तीर्थयात्री पछिल्लो बढ्दै गएका छन् । निकै पुरानो इतिहास बोकेको यो मन्दिरमा अहिले दैनिक सयौं जना दर्शन गर्न पुग्छन् । यसले मन्दिरको प्रचारप्रसारसँगै धार्मिक पर्यटकीय गन्तव्यका रूपमा जुम्लालाई स्थापित गर्न मद्दत पुगेको छ । गत वैशाखदेखि हालसम्म ७ हजार भन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटकले मन्दिरको दर्शन गरेका छन ।

यसैबीच चन्दनाथ नगरपालिकामा नेपालकै दोस्रो ठुलो बौद्ध स्तुपा निर्माण भएको छ । झण्डै २९ करोड लगानीमा निर्माण भएको स्तुपा आन्तरिक बाह्य पर्यटकको रोजाईमा छन् । भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा कर्णाली प्राविधिक शिक्षालय समेत आन्तरिक पर्यटकका लागि आर्कषण केन्द्र बनेका छन् । कर्णाली राजमार्ग हुँदै रारा तालको अवलोकन गर्न जानेहरू पर्यटक जुम्ला पुगेको खण्डमा प्रतिष्ठान, शिक्षालय, स्तुपा र चन्दननाथ मन्दिरको अवलोकन गरेर मात्रै फर्किन्छन् ।
त्यसैगरी तातोपानी गाउँपालिकामा गिदिह ताल, तातोपानी धारा, मष्टो देवता, जुम्लामा पहिलो पटक मार्सी फल्ने लाछु ज्युलो,नदै डाब लगायतका क्षेत्रका पर्यटक पर्खिरहेका छन् । समुद्री सहतदेखी ३४ सय मिटर उचाईमा अस्थित गिडिदह वर्षौसम्म गुमनाम रहेपनि पालिकाले प्रर्बद्धनका लागि पूर्वाधार निर्माण अघि बढेको तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईले बताए । तातोपानी पर्यटन गन्तव्यमा आबश्यक पूर्वाधार नबन्दा अपेक्षित पर्यटक आउन सकेका छैनन् ।

तिला गाउँपालिकाको नदैगुफा नयाँ पर्यटन गन्तव्यका रुपमा विकसित हुदैँ छ । धार्मिक पर्यटन क्षेत्रका रुपमा रहेको नदैगुफा सम्म पुग्न भौगोलिक हिसाबले कठिनाई छ । त्यहाँ सम्म पुग्न पदमार्ग अत्याआश्यक रहेको छ । भने जुम्ला आउने पर्यटकलाई त्यहँ सम्म पुग्न आबश्यक प्रचारमा पनि जोड जरुरी रहेको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए ।
जुम्लाको गुठिचौर गाउँपालिका पर्यटनबाटै समृद्ध बन्ने सम्भावना छन् । गुठिचौर–१ मा रहेको आकाशे तालमा अहिले पर्यटकको घुईचो छ । बस्ने होटल, हिड्ने बाटो सम्म निर्माण नभएको उक्त क्षेत्रमा गुगल म्यापकै भरमा सयौ पर्यटक पुगेका छन् । त्यस्तै गुठिचौर उपत्यकामा साउन भदौको सिजनमा थेगिनसक्ने पर्यटक हुन्छन् ।

तथापी आकासेताल,गुठिचौर उपत्यका ठाकुर ज्यूसम्म जाने पूर्वाधार बनेका छैनन् । चालु आर्थिक वर्षमा ठाकुर ज्यूसम्म पुग्ने सडक निर्माण तथा आकासे तालसम्म जाने पदमार्ग बनाईने गुठिचौरका अध्यक्ष दान बहादुर बुढाको दाबी छ ।
पातारासी गाउँपालिकामा रहेको शंकर झर्ना आन्तरिक पर्यटकको रोजाईको केन्द्र हो । २÷३ वर्षदेखी चर्चामा रहेको उक्त झरनामा पर्यटक बढ्दै गएपनि स्थानीयतहले झरनाको विकासमा कुनै चासो देखिएको छैन् । नापजाँच गर्ने, पूर्वाधार बनाउने जस्ता कुरामा पालिकाले ध्यान नदिएको स्थानीयको गुनासो छ । यदपी शंकर झरना पालिको सम्पत्ति भएकाले प्रर्बद्धनका लागि पालिकाले लगानी गर्ने पातारासीकी उपाध्यक्ष जनमाया रोकायाले बताईन् ।

नेपाली भाषा र सभ्यताको उद्गम स्थल सिंजा क्षेत्रको कनकासुन्दरी गाउँपालिकामा थुप्रै धार्मिक तथा एतिहासिक पर्यटन स्थल छन् । जहाँ धेरै पर्यटक पुग्न सकेका छैनन् । कनकासुन्दरी मन्दिर, पाण्डव गुफा, एतिहासिक साहुवाडा, लामाथाडाँ र सिंजा उपत्यका लगायतका क्षेत्र पर्यटक पर्खि बसेका छन् । नेपाल एकिकरण नहुनु पहिलाको शक्तिशाली राज्यका रुपमा रहेको सिंजाको एैतिहासिक महोत्वका कारण पनि त्यस क्षेत्रमा अध्ययन अवलोकन गर्ने, किताब लेख्ने बौद्धिक पर्यटकहरु समेत पुग्ने गरेका छन् । तर पर्यटकहरुले खोजेजस्तो अभिलेख पाउन भने मुस्किल छ ।
यता सिंजा गाउँपालिकामा रहेको खष संग्रहालय, केदारनाथ मन्दिर पर्यटन गन्तव्य हुने । संग्रहालय पहिलो चरणमा निर्माण भईसकेको छ । केदार मन्दिरमा हरेक साउन पुर्णिमका भव्य पूजा लाग्ने गरेको छ । जहाँ कर्णालीभरीका नागरिक पुग्छन् । संग्रहालय व्यवस्थापन, केदारनाथमा सहज पर्यटकको आगमनमा भने पालिका चुकिरहेको छ ।

साथै हिमा गाउँपालिकामा रहेको रुपिछडा झरना प्रर्बद्धन हुन सकेको छैन् । पालिकाको एकमात्र पर्यटन गन्तव्यका रुपमा रहेको रुपिछडा झरना पर्यटक पर्खेपनि पूर्वाधार निर्माण नहुँदा ओझेलमा छ । केहीसमय हिमाका प्राविधिक जनशक्ति पुगेर प्रारम्भीक नापजाँच समेत गरीसकेका छन् ।
पर्यटन प्रर्बद्धनका लागि रुपिछडा सम्मेलन गर्ने, प्रतिवेदन प्रस्तुत गर्ने, पूर्वाधार निर्माण सुरु गर्ने लगायतका कामको तयारीमा रहेको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले जानकारी दिए । जुम्लाका दर्जनौ पर्यटन गन्तव्यबाट जिल्लाको आर्थिक विकास, रोजगारी सृजनाका प्रचुर सम्भावना भएपनि स्थानीयतहले नत पर्यटन मैत्री नीति बनाएका छन् । नत लगानी जुटाउन सकेका छन् । जसका कारण सबै पर्यटन गन्तव्य ओझेलमा परेका छन् ।



