जुम्ला । जुम्लामा घर पाेत्ने माटाेकाे ढिस्काेमा पुरिएर एक महिलाले ज्यान गुमाएकी छन् भने एक जना घाइते भएर बाँच्न सफल भएकी छन् । चन्दननाथ नगरपालिका–९ को उठिले क्षेत्रमा बिहीबार बिहान करिब ११ बजे माटोको ढिस्को खस्दा उक्त घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी शालिकराम खनालका अनुसार घर लिप्ने माटो खन्ने बेला अचानक माथि बाट ठूलो ढिस्को खसेर दुई महिलालाई पुरेको थियो ।
घटनामा ४७ वर्षीया कृष्णमाया तिमिल्सेना र अन्दाजी ४० वर्षीया तारा धर्ती घाइते भएका थिए ।
घटनालगत्तै स्थानीय र नेपाल प्रहरीको सक्रियतामा दुवै जनालाई तत्काल उद्धार गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मा पुर्याइएको थियो ।
तर उपचारकै क्रममा कृष्णमाया तिमिल्सेनाको ज्यान गएको प्रहरीले जनाएको छ । अर्की घाइते तारा धर्ती भने उपचार पछि डिस्चार्ज भएर घर फर्किएकी छन् ।
माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले दुवैलाई पुरे पछि केहीबेर त्रासपूर्ण अवस्था सिर्जना भएको थियो । सामान्य देखिने घरेलु कामले नै ज्यान लिने यो घटनाले स्थानीयलाई स्तब्ध बनाएको छ ।
कर्णालीका ग्रामीण क्षेत्रमा यस्ता परम्परागत काम गर्दा सुरक्षा सतर्कता नअपनाउँदा दुर्घटना दोहोरिँदै गएको भन्दै सरोकारवालाले सचेत रहन आग्रह गरेका छन् ।



