साहुँवाडामा एक बृद्ध महिलाको हत्या आशंका

जुम्ला – जुम्लामा एक बृद्ध महिलाको हत्या आशंका गरिएको छ । कनकासुन्दरी गाउँपालिका – ४ साहुँवाडा गाउँकी ७० वर्षीया महेश्वरा सुनारको हत्या आशंका गरिएको हो । चैत ७ गते टाउकोमा धारिलो हतियारले प्रहार गरी हत्या गरिएको आशंका गरिएको छ ।
सुनार गम्भीर घाइते अवस्थामा भेटिइन् र उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल चैत ७ गते साँझ ल्याएको थियो । सोही दिनको राति करिव १० बजेतिर अस्पतालले मृत घोषणा गरिएको हो । बृद्ध महिलाको टाउको र आँखामा गहिरो चोट लागेको छ ।
मृतक सुनारका छोरा कृष्ण विकका अनुसार बृद्ध आमालाई हत्या नै गरिएको आशंक छ । उनले भने, यस घटनाको सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारवाहीको माग गर्दछौँ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार मृतकका आफन्तले जाहेरी ल्याउने तयारी गरेका छन् । जाहेरी दर्ता पश्चात शवको पोष्टमार्टमपछि मात्रै घटना तथ्य खुल्ने छ । मृतक सुनारको शव अस्पतालको शव गृहमा राखिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी मीनबहादुर रावलका अनुसार, घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीको नेतृत्वमा टिम घटनास्थलमा पुगेको छ । उहाँले भन्नुभयो, प्रहरीले अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : २०८२ चैत्र ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस